शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

‘हिमालयन हाइड्रो एक्स्पो’ शनिबारदेखि, अवलोकनकर्तालाई हेलिकोप्टरबाट विद्युत आयोजना देखाइने

बिहीबार, १७ चैत २०७८, १८ : २७
बिहीबार, १७ चैत २०७८

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ चैत १९ (आगामी शनिबार) देखि आयोजना गर्ने भएको छ । शुक्रबारदेखि नै आइतबारसम्म आयोजना गर्ने भनिएको एक्स्पो घोडेजात्रा परेका कारण एक दिनपछि अर्थात शनिबारदेखि आयोजना गरिने इप्पानले जानकारी दिएको हो । इप्पानले यसअघि एक्स्पोका दुई संस्करण सम्पन्न गरिसकेको छ ।

एक्स्पोको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हाइड्रो एक्स्पोको तेस्रो संस्करण गर्न लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार दिउँसो सवा १२ बजे एक्स्पो उद्घाटन गर्नेछिन्‌ ।

एक्स्पोको पहिलो दिन शनिबार बिहान ७ बजे विद्युतीय सवारी साधन र्‍याली आयोजना गरिएको छ । विद्युतको आन्तरिक बजार प्रवर्द्धन गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई अभियानका रूपमा अघि बढाउन नेपाल सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले र्‍याली आयोजना गरिने इप्पानले जनाएको छ । सो र्‍याली काठमाडौंस्थित भृकुटीमण्डपबाट शुरू भई नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ पुगेर पुनः भृकुटीमण्डपमा फर्किइ समापन हुने बताइएको छ । ​र्‍यालीका सहभागीहरूलाई फर्पिङ जलविद्युत आयोजनामा पर्यटनमन्त्री प्रेम आलेले स्वागत गर्नेछन्‌ ।

एक्स्पोको मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड रहेको र आइएफसी लगायत संघसंस्थाहरूले प्रायोजन गरेको इप्पानले जानकारी गराएक छ । एक्स्पोमा नेपालस्थित भारतीय दूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिशन कन्ट्री पार्टनर छन्‌ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल निर्माण व्यवसायी महासंघले पनि एक्स्पोलाई सहयोग गरेका छन्‌ ।

‘नेपालको जलविद्युतको बजार निर्माण गर्ने’ नारासाथ आयोजना गरिएको हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेश निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा राखिएको इप्पानले जानकारी दिएको छ । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रोपावरसम्बन्धी विषयगत ६ भन्दा बढी प्राविधिक सत्र संचालन तथा अन्तरक्रिया सन्चालन गरिने पनि आयोजकले जनाएको छ । इप्पानका अनुसार एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरू लगायत १०० भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरूको सहभागिता रहने बताइएको छ ।

एक्स्पोमा हाइड्रोपावर विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रोपावरसम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थीहरू एवम्‌ व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा समेत गराइने आयोजकले जानकारी दिएको छ । त्यस्तै, हाइड्रोपावर क्षेत्रमा ड्रोनको आवश्यकता र यसको उपयोगिता के कसरी हुन्छ र गर्न सकिन्छ भनी ड्रोन भिडियो मेकिङ कम्पिटिशन समेत आयोजना गरिने बताइएको छ ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोपावरमा रोबोटर्सको भूमिका विशेष आकर्षण बन्ने इप्पानले दाबी गरेको छ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ । 

इप्पानले एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टरमार्फत हाइड्रोपावर आयोजनाहरूको भ्रमण गराउने व्यवस्था गरिएको छ । त्यसैगरी, प्रत्येक दिन एक्स्पो अवलोकनकर्तामध्ये १० जनालाई गोलाप्रथा माध्यमबाट विद्युतीय चुलो वितरण गर्न भएको छ । एक्स्पो ५० हजार भन्दा धेरैले अवलोकन गर्ने इप्पानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप