शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापको लिखु गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध अख्तियारको मुद्दा

बिहीबार, १७ चैत २०७८, १८ : ०७
बिहीबार, १७ चैत २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  अध्यक्ष खड्कासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु राजु प्रसाद न्यौपाने र टंकप्रसाद चौलागाई, लेखापालहरू तथा विभिन्न उपभोक्ता समितिका अध्यक्ष समेत २७ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भष्टाचार गरेकोमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

उनीहरुमाथि चार करोड २१ लाख बढी बिगो दाबी गरिएको छ । अख्तियारले उपभोक्ता समितिका नाममा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  गाउँपालिका अध्यक्ष खड्काले ४ करोड २१ लाख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेले १ करोड १२ लाख ८२ हजार, तत्कालीन लेखा अधिकृत दुर्गाबहादुर डिङदोङ तामाङ विरुद्ध १ करोड २६ लाख ७५ हजार भ्रष्टाचार गरेको अभियोग सहित बिगो दावी गरिएको छ । 

साथै अख्तियारले विभिन्न उपभोक्ता समितिका अध्यक्षसहितका पदाधिकारी विरुद्ध पनि एक करोड रुपैयाँ बढीको भ्रष्टाचार कसुर गरेको आरोपमा मुद्धा दायर गरेको छ । 

गाँउपालिका अध्यक्ष समेतको मिलेमतोमा उक्त गाउँपालिका वडा नं.४ बिजुलीकोट वडा नं. ५ नागदह र वडा नं. १ दुरागाउँमा विद्युतीकरण गर्न विद्युतीय सामानहरु खरिद गर्दा खरिद समिति नबनाई टेन्डर तथा सूचना जारी नगरी आफू अनुकूलको उपभोक्ता समिति गठन गरी उक्त कार्यको अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिई भष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप