बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सरकारी कर्मचारीसहित दुई जनाको गोली हानी हत्या गर्ने पटेल पक्राउ

बिहीबार, १७ चैत २०७८, १७ : १९
बिहीबार, १७ चैत २०७८

उद्योगमा बम प्रहार गर्ने तथा दुई जनाको गोली हानी हत्या गर्ने एक फरार अभियुक्तलाई पर्सा प्रहरीले बिहीवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २१ पटेलनगर बस्ने ४० वर्षीय रविन्द्र पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए  ।

विशेष सूचनाको आधारमा पटेललाई बीरगंज महानगरपालिका १४ गण्डकबाट पक्राउ गरिएको उनले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतको २०७१ असार १७ गते भएको फैसला अनुसार पटेललाई १९ वर्ष ११ महिना २२ दिन कैद सजाय ठहर भएको थियो ।

फरार अपराधी पटेलले पर्सा महुवन गाविस वडा नं.३ बस्ने वर्ष ४५ को कुचन साह कानुलाई गाउँ नजिकै २०६४ भदौ ९ गते गोली हानी हत्या गरेको प्रमाण भेटिएपछि अदालतले उनलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो ।

पटेलले कानुको हत्यापछि २०६५ असोज ३ गते जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कर्मचारी मोहन मैनालीको गोली हानी हत्या गरेका थिए । त्यसको केही दिनमै पटेलले २०६६ जेठ १३ गते प्रो.बायोटेक प्रालिमा कार्यरत प्रशासकीय अधिकृत सोचनप्रसाद यादव माथि बम प्रहार समेत गरेको प्रहरीले जनाएको छ ।

यस्ता दर्जनौ अपराधिक घटनामा संलग्न रही अदालतबाट कैद सजाय समेत पाएका पटेल पछिल्लो समय लुकिछिपी बस्दै आएका थिए । प्रहरीले पटेललाई पक्राउ गर्न चासो नदेखाउँदा उनी अहिलेसम्म अदालतको फरार सूचीमा रहेका थिए ।

अदालतको फैसला कार्यान्वयन गराउन वारम्वार ताकेदा आएपछि प्रहरीले पटेललाई पक्राउ गरी अदालतमा उपस्थित गराएको हो । अदालतले कैद सजाय भुक्तानका लागि पटेललाई वीरगञ्ज चलान गरेको डिएसपी खनालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप