बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ प्रचण्ड र विक्रम पाण्डेका मतदाताको मुड

शनिबार, ०९ मङ्सिर २०७४, १३ : १३
शनिबार, ०९ मङ्सिर २०७४

यस्तो छ प्रचण्ड र विक्रम पाण्डेका मतदाताको मुडचितवन– भरतपुर नगरपालिका–६ स्थित चोकबजारतिर अगाडि बढेपछि त्यहाँ काङ्ग्रेस र राप्रपा (प्रजातान्त्रिक) का झण्डा उल्लेख्य सङ्ख्यामा देखिन्छन् । चितवनका सार्वजनिक स्थल र पोलहरूमा रङ्गीचङ्गी झण्डा अझै फर्फराएका छैनन् तर चोकबजारका घरघरमा झण्डा फहराउनुको कारण ? किनकि, चोकबजार नेपाली काङ्ग्रेसको गढ हो ।

चोकबजारस्थित ‘लोकतान्त्रिक चिया पसलम’मा एक हुल पाका मान्छेहरू चुनावी गफ गर्दै थिए, तीमध्ये ९१ वर्षका वृद्ध नारायणदत्त मिश्रले भने, ‘नेताहरूले बाटाघाटो, पानी सबै बनाएर खाइसके अब केही होला भन्ने आशा छैन ।’

‘नेताले केही गर्दैनन्’ भन्ने मानसिकता बनाएका मिश्रले यस पटक गोप्य मत खसाल्ने योजना बनाएका छन् । ‘अहिले यो पार्टीलाई हाल्छु भन्दिनँ’ उनले भने– ‘गोप्य मत हो, त्यही दिन थाहा हुन्छ ।’

चोकबजार हुँदै अगाडि बढेपछि बरौंजी पुगिन्छ, त्यहाँ राजपरिवारलाई समर्थन गर्नेहरूको सानो बस्ती छ । ‘हामी राजावादीलाई भोट हाल्छौँ’ ३५ वर्षीय सीता महतो भन्छिन्– ‘हामी सुकुम्बासी हौँ, नेताहरूले जनताले जिताए भनेर फर्केर हेर्न जानेका छैनन् ।’

बरौंजीबाट अगाडि बढेपछि शिवनगर पुगिन्छ, त्यो चाहिँ वामपन्थीको गढ हो । त्यहाँका स्थानीयवासी प्रचण्डले चुनाव जितेमा चितवनको मुहार फेरिने आशा सम्हालेर बसेका छन् ।

भरतपुर महानगरपालिका चितवनको ३ नम्बर क्षेत्रमा पर्छ । जहाँ नेपाली काङ्ग्रेसको समर्थनमा राप्रपा (प्रजातान्त्रिक)का विक्रम पाण्डे र वाम गठबन्धनको तर्फबाट माओवादी अध्यक्ष प्रचण्ड चुनावी मैदानमा छन् । वामपन्थीको गढ मानिने शिवनगरका कत्तिपय काङ्ग्रेस समर्थकहरू पनि यस पटक प्रचण्डलाई चान्स दिने बताउँछन् । शिवनगरमा भेटिएका विद्या घिमिरे जन्मजात काङ्ग्रेस हुन् । उनले अहिलेसम्म अरू पार्टीलाई भोट दिएका छैनन् । ‘म जन्मजात काङ्ग्रेस हुँ’ घिमिरेले भने– ‘यसपाला रूख चिन्हको उम्मेदवार पनि नभएको हुनाले प्रचण्डलाई भोट दिने विचार गरेको छु । उनले यो ठाउँको लागि केही गर्छन् भन्ने आशा छ ।”

हामीले चितवको चोकनगर, बरौंजी, शिवनगर, गितानगर र भीमनगरलगायका मतदातासँग यस पटक कसलाई रोज्नुहुन्छ भनेर कुराकानी गरेका छौँ । काङ्ग्रेस समर्थक कतिपयले आफ्नो उम्मेदवार प्रत्यक्षतर्फ नहुँदा दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई रोज्ने बताएका छन् । पुराना पुस्ताका मतदाताहरू भने ‘कसैले केही नगर्ने’ भन्दै आफ्नै गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई मत दिने बताउँछन् ।

(प्रस्तुत छ, प्रचण्ड र विक्रम पाण्डेका मतदातासँग रातोपाटीका लागि राजेश भण्डारीले गरेको कुराकानी :

प्रचण्डले जिते राष्ट्रपति–प्रधानमन्त्री हुन्छन् 
कमल बराल (५८ वर्ष), भरतपुर महानगरपालिका–६ चोकबजार

यस पटक प्रचण्डले शतप्रतिशत जित्छन् । आफ्नो उम्मेदवार नहुँदा काङ्ग्रेसहरू अलमलमा परेका छन् । स्थानीय चुनावमा आफ्नै खर्चले रेणु दाहाल जिताउन हिँडेका थियौँ, यस पटक आफ्नै खर्चले चाहिँ हिँडिन्न ।

भरतपुरका कतिपय काङ्ग्रेस समर्थकले हलो चिन्हमा भोट हाल्दैनन्, किनकि काङ्ग्रेसको उम्मेदवार नै छैनन् । २०७० सालमा सुशील कोइरालाले चुनाव जिते तर पछि छाडेर बाँके जिल्ला रोज्न पुगे । प्रचण्डले यहाँ केही गर्छन् भन्ने लागेको छ, राष्ट्रिय स्तरको नेता उनै हुन् । उनले जितेमा राष्ट्रपति वा प्रधानमन्त्री हुन सक्छन् ।

गोप्य मत हो, अहिले भन्दिनँ
नारायण दत्त मिश्र (९१ वर्ष), भरतपुर महानगरपालिका–६, गितानगर
मैले जीवनमा धेरैपटक भोट हालेँ । यसपाला तीन नम्बर क्षेत्रबाट विक्रम पाण्डे र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धामा रहेको सुनेको छु । मतदान कसलाई दिने भन्नेबारे अहिले भन्दिनँ, मतदान स्थलमा पुगेपछि कसलाई मन लाग्छ, उसैलाई हाल्छु ।

नेताहरूले बाटाघाटो, पानी सबै बनाएर खाइसके अब केही होला भन्ने लागेको छैन । भोट हाल्ने तरिका सिकिसकेको छैन, समय छ अब छोरा–नातिहरूले सिकाउलान नि ।

नेताको बानी : चुनावपछि जनता बिर्सने, नातागोता च्याप्ने 
जगदीश दुवाडी, देवनगर   
चितवन–३ मा पुष्पकमल दाहाल र विक्रम पाण्डे उठेका छन् । प्रदेशतर्फ नेपाली काङ्ग्रेसका दिनेश कोइराला छन् । नेताहरूले प्रचारको क्रममा सबै बाचा पूरा गर्छु भन्छन्, जितेपछि आफ्ना भाइ–भतिजा र नाति–नातिनीतिर तृष्णा बढिहाल्छ ।

चुनाव जित्नेले प्राकृत्तिक वातावरण अनुसार काम गरिदिए राम्रो हुन्थ्यो । यहाँ बाटोको समस्या छ, दोस्रो कुरा यहाँ सुकुम्बासीको समस्या वर्षौंदेखि जस्ताको तस्तै छ । सरकारमा गएपछि सुकुम्बासीलाई जग्गा दिन्छु भन्छ्न्, त्यहाँ पुगेपछि बिर्सन्छन् । आम्दानीको स्रोत छैन्, महँगीले डाँडो काटेको छ । मैले ३७ वर्ष शिक्षण पेसा गरेँ, त्यतिबेला शिक्षक सङ्घको राजनीतिमा थिएँ । गोप्य मतदान भएकाले अहिले यसै भन्दिनँ तर यस पटक मेरो विचार परिवर्तन हुन पनि सक्छ ।

समानुपातिक रूख, प्रत्यक्षमा निधो छैन 
बसुन्धरा आचार्य, भरतपुर–६ केसरबाग
अहिलेसम्म रूखलाई नै भोट दिइरहेकी छु । यस पटक पनि समानुपातिकमा रूखलाई त पक्कै जान्छ तर प्रत्यक्षमा कसलाई जान्छ निधो छैन । अहिले हाम्रो भरतपुर महानगर भएको छ, बजेट आफैं आउँछ तर महिलाका लागि आएको बजेट आआफ्ना मान्छेलाई दिने चलन छ ।

टाठाबाठा महिलाहरू त्यसै अगाडि छन्, यहाँ हामीलाई जनजाति र अशिक्षित उत्थान गर्ने, रोजगारीको अवसर दिने खालको उम्मेदवार चाहिएको छ । महिलाहरूका लागि सीपमूलक तालिमको आवश्यकता छ ।

हामी त राजावादी 
सीता महतो थारु (३५ वर्ष), भरतपुर–१४ बरौंजी
कुन–कुन पार्टी आउँछन् गाडीबाट माइक बजाउँदै हिँड्छन् । विकास त ठाउँमा पुगेपछि कसले गर्ने रहेछ र ? यस पटक हामी राजावादी पार्टीलाई भोट हाल्छौँ ।

हामी सुकुम्बासी बस्तीका हौँ, हाम्रो घर छैन । पक्कै नेताहरूले हामीलाई घर दिँदैनन् । रोजगारी छैन, जनताको भोटले माथि पुग्यौँ भन्ने कुनै पनि नेताले सोच्दैनन् । जनताले माथि पठाएपछि  जनतालाई पनि एक पटक फर्केर हेरून्, नेतालाई मेरो भन्नु यति छ ।
          
भर्खर कार्ड बन्यो, सोच्दै छु
सुशीला विक, भरतपुर, बरौंजी
माइती गोरखाको च्याङ्ली हो । २०६४ सालको चुनावमा माओवादीलाई भोट हालेको थिएँ । मतदाता कार्ड नहुँदा स्थानीय चुनावमा भोट हाल्न पाइनँ । यस पटक बल्ल कार्ड बनेको छ । देश बनाउने कसैले हैन, चुनावमा भोट कसलाई हाल्ने भन्नेबारे सोच्नै बाँकी छ ।

अस्ति विक्रम पाण्डे आउँदा बाटो पिच गरिदिन्छु भनेका थिए, उनी खै कुन पार्टीका हुन् ?

पाण्डेलाई प्रचण्डको प्रतिस्पर्धी भन्न सुहाउँदैन 
नन्दलाल दाहाल, भरतपुर–१४ भीमसेन नगर
चितवन–३ मा वाम गठबन्धनका तर्फबाट माओवादी अध्यक्ष प्रचण्ड र लोकतान्त्रिकको तर्फबाट विक्रम पाण्डे प्रतिस्पर्धामा छन् । पाण्डेलाई प्रचण्डको प्रतिस्पर्धी भन्न पनि सुहाउँदैन । यही वडामा जन्मिनुभएको प्रचण्ड राष्ट्रिय नेता पनि हो । उहाँले यस ठाउँको विकासका लागि खाका तयार गर्नुभएको छ ।

यो क्षेत्रमा सुकुम्बासी समस्या छ । प्रचण्डले जितेपछि त्यो समस्या हल हुने सोचेका छौँ । शिवनगरको स्वास्थ्य चौकीलाई ५० शय्याको बनाउने र उहाँले अध्ययन गरेको शिवनगर उमाविलाई क्याम्पस बनाउने र खानेपानीको समस्या समाधान हुने अपेक्षा गरेका छौँ । उहाँले यो क्षेत्रमा उम्मेदवारी दिँदा हामी धेरै उत्साहित छौँ ।

प्रचण्डलाई जिताए यही माटोमा ‘सुन’ 
खेम भट्ट (५८ वर्ष), भरतपुर–१४ सुन्दरबस्ती

राष्ट्र निर्माण गर्ने राजनीतिले हो । त्यसैले राज्यलाई दिशा दिन सक्ने मान्छे प्रचण्ड नै हो । म धेरै देश घुमेको छु, राजनेताबिना विसका सम्भव नहुने कुरा बुझेको छु । त्यसैले प्रचण्डलाई यही माटोमा सुन फलाउन सकिन्छ, हामी उहाँलाई नै जिताउँछौँ ।

विक्रम पाण्डेले पनि काम गर्न नसक्ने हैनन् । म पनि पहिले चितवन जिल्ला विकास समितिको सदस्य थिएँ । साना–साना काम मैले पनि गरेँ । साना विकास गर्ने र नीति बनाउने कुरा फरक हो । प्रचण्डले राष्ट्रिय नीति बनाउने हैसियत राख्छन् । विक्रमले त्यही फ्रेमभित्र रहेर काम गर्छन् । प्रचण्डले राष्ट्रनिर्माण गर्न सक्छन्, त्यसैले हाम्रो रोजाइ प्रचण्ड हुन् ।

राष्ट्रिय नेतालाई यहाँ पाउनु ठूलो कुरा
अविनाश रम्तेल, गोरखा हाल : चितवन

गोरखाको फिनाम स्थायी घर भए पनि यहाँ बसेको धेरै भइसक्यो । चितवन–३ का प्रतिस्पर्धी माओवादी अध्यक्ष्य प्रचण्ड र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेमध्ये जताततै प्रचण्डको पक्षमा चुनावी माहोल बनेको देखेको छु । यस क्षेत्रमा प्रचण्डको भूमिका पनि आवश्यक छ ।

समग्र देश बनाउने सपनासहित अगाडि बढेको एउटा राष्ट्रिय नेतालाई यहाँका जनताले पाउनु नै ठूलो कुरा हो जस्तो मलाई लागेको छ ।  

जन्मजात काङ्ग्रेस हुँ, यस पटक व्यक्ति हेर्छु 
विद्या घिमिरे (४१ वर्ष), भरतपुर–२१, भीमनगर
 

म नेपाली काङ्ग्रेस हुँ, हाम्रो पार्टीले राप्रपासँग गठबन्धन गर्दै विक्रम पाण्डेलाई समर्थन गरेको छ । प्रत्यक्षतर्फ रूख चिन्हका उम्मेदवार मैदानमा छैनन् । माओवादी अध्यक्ष प्रचण्ड मूलधारको नेता भएकाले यस पटक प्रचण्डलाई भोट हाल्ने विचार गरेको छु । मैले मात्रै नभएर मेरो टोल छिमेकका सबैले यस पटक नयाँ उम्मेदवार रोजेका छन् । प्रचण्ड देशकै शक्तिशाली र केही गर्न सक्ने मान्छे भएकाले उहाँले जित्दा देशकै लागि राम्रो हुन्छ । उनको तुलनामा विक्रम पाण्डे साना नेता हुन् ।

मैले थाहा पाएदेखि नै काङ्ग्रेस थिएँ, अहिले पनि काङ्ग्रेस हुँ । प्रचण्डले बोलेको कुरा पूरा गर्न सक्ने हैसियत राख्छन्, फेरि चितवनको विकासको लागि प्रचण्डले आफ्नो छुट्टै मोडल पनि तयार गरेको हुनाले यो क्षेत्रको मुहार फेरिन्छ भन्ने अपेक्षा गरेका छौँ । हामीले पार्टी हैन, व्यक्तित्वका कारण प्रचण्डलाई रोजेका हौँ ।

विक्रम पाण्डेभन्दा प्रचण्ड धेरै माथि छन् 
प्रकाश तामाङ, भरतपुर महानगर, पार्वतीपुर
चितवन–३ को मतदाता हुँ । यहाँबाट प्रचण्डलाई भोट दिँदा चितवनको विकास होला जस्तो लाग्छ । प्रचण्ड राष्ट्रिय नेता हो, तुलनात्मक रूपमा विक्रम पाण्डेभन्दा प्रचण्ड धेरैमाथि छन् ।

यहाँको बाटोघाटो, शिक्षा क्षेत्रको विकासमा प्रचण्डले भूमिका खेल्न सक्ने मैले देखेको छु । यो क्षेत्रमा विकासै नभएको भन्ने चाहिँ हैन, सानातिना विकासको काम भइरहे पनि देखिने गरी ठूलो परिमाणको विकास हुन सकेको छैन ।


यहाँ सुकुम्बासी समस्या छ
पुष्पराज घिमिरे, भरतपुर–२० भीमनगर
पेसागत रूपमा सामान्य किसान हुँ । पहिले काङ्ग्रेस थिएँ, अहिले माओवादी केन्द्रमा प्रवेश गरेको छु । माओवादीले केही गर्छ, प्रचण्डले केही गर्छन् भनेर वाम गठबन्धनलाई समर्थन गरेको हुँ ।

यस क्षेत्रका प्रतिस्पर्धी प्रचण्ड र विक्रम पाण्डेको बीचमा तुलना पनि हुन सक्दैन । किनभने प्रचण्ड राष्ट्रिय  नेता हुन्, पाण्डे ‘क’ वर्गको ठेकेदार मात्र ।

अर्को कुरा, यहाँबाट धेरैले जितेर गए, आस्वासन बाँडे तर केही गरेनन् । २०७० सालमा यहाँबाट सुशील कोइरालाले जितेका थिए । पछि उनले यो क्षेत्र नै छाडेर बाँकेतिर पुगे, हामीलाई केही भएन ।

यहाँ सडक, ढल तथा सुकुम्बासी बस्ती व्यवस्थापनको ठूलो समस्या  छ । सुकुम्बासीले बस्ने जग्गा मात्र पाए तर लालपूर्जा पाएका छैनन् । चुनाव अर्कोपटक फेरि आउँछ, हामी एक पटक प्रचण्डलाई हेर्छौं ।

 (फोटो : सुरेन कुँवर)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप