शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुरानै लयमा फर्किदै फिल्म क्षेत्र, फर्किएनन् दर्शक

बिहीबार, १७ चैत २०७८, १६ : ५१
बिहीबार, १७ चैत २०७८

कोरोनाको कारण चीर निद्रामा रहेको चलचित्र क्षेत्र बिस्तारै पुरानो लयमा फर्किरहेको छ । फिल्म निर्माण, प्रदर्शन, छायांकन, प्रचारप्रसार लगायतका गतिविधि धमाधम हुन थालेका छन् । अहिलेको सरगर्मी हेर्दा लाग्छ, फिल्म क्षेत्र पहिलेझैं लयमा फर्किन अब समय लाग्ने छैन ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि फिल्म क्षेत्र बिस्तारै पुरानो लयमा फर्किने अवस्थामा रहेको बताउँछन् । ‘भर्खर फिल्मका गतिविधि सुरु भएका छन् । फिल्म रिलिज, निर्माण, छायांकन लगायत गतिविधि बिस्तारै बढ्दो छ । केही समयमा पुरानै अवस्थामा फर्किने विश्वास छ ।’

धमाधम छायांकन र घोषणा

यतिबेला केही फिल्म छायांकनमा, केही फ्लोरमा आउने तयारीमा छन् भने केही घोषणासहित प्रिप्रोडक्सनमा जुटिरहेको देख्न सकिन्छ । अहिले फ्लोरमा रहेको फिल्म ‘नजाउ छोडी’, ‘सरी मम’, ‘मिरा’ ‘परस्त्री’ लगायत रहेका छन् ।

अमर वलीको निर्देशन रहेको फिल्म ‘नजाउ छोडी’को गत शनिबारदेखि छायांकन सुरु भएको हो । विशुद्ध प्रेमकथामा बन्ने फिल्ममा तिलबहादुर कार्की, सिद्धान्त बोहरा, प्रवीन एनबी, रुपक बुढाथोकी, सनिया खान, प्रेम खड्का, प्रीतिमा शर्मा, बलु राना, दिनेश पाठक, लोकबहादुर रसाइली लगायतको अभिनय रहनेछ ।

त्यस्तै ‘सरी मम’ अहिले छायांकनमा रहेको अर्को फिल्म हो । एक साता अगाडि भद्रकाली मन्दिरमा शुभ–मुहूर्तसहित फिल्मको छायांकन सुरु भएको हो । सरिता लामिछाने, प्रभात पल, सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिशा बजगाईं र प्रविल कटुवालको अभिनय छ ।

परस्त्री’ सुरज पाण्डेले निर्देशन डेब्यु गर्न लागेको फिल्म हो । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण हुने बताइएको फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिशा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका  छ ।

यता केही फिल्मले छायांकन समेत सकाएका छन् । जसमा ‘ह्यारी कि प्यारी’, ‘गाउँ जाने बाटो’, ‘म’ लगायत फिल्म रहेको छ । डा. कपिल रिजालको निर्देशन रहेको फिल्म ‘ह्यारी कि प्यारी’ गत मंगलबारबाट छायांकन सकिएको हो । रोमान्टिक कमेडी विषयमा बनेको फिल्ममा जीतु नेपाल, साम्राज्ञी राज्य लक्ष्मी शाहविजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको अभिनय छ ।

फिल्म ‘गाउँ जाने बाटो’मा दयाहाङ राई, पशुपति राई, पर्सन राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ । केही दिन अगाडि छायांकन सकिएको फिल्मका निर्देशक नविन सुब्बा हुन् । कान्तिपुर फिल्म एकडेमीले निर्माण गरेको फिल्म ‘म’को छायांकन पनि भर्खर सकिएको छ ।

यस्तै ‘शमशेर’, ‘वरवधु’, ‘ठगराज’ लगायत थुपै्र फिल्म निर्माण घोषणा पनि भएका छन् । ‘वरवधु’ मिलन चाम्सले ‘ठगराज’ निर्देशक लक्ष्मण सुवेदीले घोषणा गरेका हुन् भने ‘शमशेर’को निर्देशक अहिले गोप्य राखिएको छ ।

फिल्म छायांकन, निर्माण र घोषणामा तीब्रता छाउनु फिल्म क्षेत्र पहिलेझैं लयमा फर्किएको अनुमान गर्न सकिने निर्देशक लक्ष्मण सुवेदी बताउँछन् । ‘फिल्म क्षेत्र पहिलेझैं चलायमान भैसकेको छ । त्यसैले म पनि नयाँ फिल्म गर्दैछु, सुवेदीले भने ।

रिलिजमा तँछाड मछाड

फिल्म छायांकन मात्र होइन, यतिबेला निर्माताहरु प्रदर्शनका लागि समेत तँछाड मछाड गरिरहेका छन् । निर्माण पुरा भएर बसेका र निर्माण प्रक्रियामा रहेका फिल्मले समेत धमाधम रिलिज मिति सार्वजनिक गर्दै प्रचार प्रसार थालिसकेका छन् ।

रिलिज मिति सार्वजनिक गरेर प्रचारप्रसार थालेका फिल्म ‘ए मेरो हजुर ४’, ‘लाखे’, ‘झिँगे दाउँ’, ‘सम्झना–विर्सना’, ‘चिसो मान्छे’, ‘कृष्ण लीला’, ‘मन्त्र’ लगायतका दर्जनौं छन् ।

झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ४’ बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका छ । त्यस्तै ‘लाखे’, ‘झिँगे दाउ’ र ‘बाबरी’ भदौ ३१ एउटै मितिमा प्रदर्शन हुने सार्वजनिक भएको छ । ‘बाबरी’ धिरज मगर र अदीति बुढाथोकीको मुख्य भूमिका रहेको फिल्म हो । फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

त्यस्तै ‘लाखे’ मल्टिस्टारर फिल्म हो । सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी आदि कलाकारको अभिनय रहेको फिल्म सम्राट बस्नेतले निर्देशन गरेका हुन् । ‘झिँगे दाउ’का निर्देशक ज्ञानेन्द्र देउजा हुन् । यस फिल्ममा आँचल शर्मा र केकी अधिकारीको मुख्य भूमिका छ ।

प्रेम कथामा बनेको ‘सम्झना–विर्सना’ निमेष प्रधानको निर्देशनमा बनेको फिल्म हो । जेठ ६ गते प्रदर्शन मिति तोकेको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठको मुख्य भूमिका छ । उता सफल निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’को केही दिन अगाडि टिजर रिलिज गरिएको थियो । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म असारमा रिलिज हँुदैछ ।

प्रेमकथामा निर्माण भएको फिल्म हो ‘कृष्ण लीला’ । आगामी भदौ ३ गते यसको रिलिज मिति तोकिएको छ । पुष्प खड्का, श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म दीपक वलीले निर्देशन गरेका हुन् ।

अभिनेत्री ऋचा शर्मा अभिनित फिल्म ‘कौसीद’ले जेठ २७ (जुन १०) प्रदर्शन मिति तोकेको छ । निर्माण युनिटले फिल्मको एक अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । कुमार भास्करको निर्देशन रहेको फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतको अभिनय देख्न सकिनेछ ।

फिल्म रिलिज क्यालेन्डर हेर्ने हो भने पनि बर्ष २०७९ फिल्म रिलिजका लागि घम्साघम्सी देखिन्छ । यसैले नेपाली फिल्म क्षेत्र लयमा फर्किसकेको बुझ्न सकिने निर्माता वितरक गोपाल कायस्थ बताउँछन् । ‘फिल्म क्षेत्र कोराना अगाडि झैं लयमा फर्किसकेको मैले बुझेको छु, कायस्थले भने, ‘निर्माण, छायांकन र प्रदर्शन सबै काम अहिले धमाधम भइरहेको छ ।’

फर्किएनन् दर्शक

निर्माण र प्रदर्शनका हिसाबले नेपाली फिल्म क्षेत्र कोरोना अगाडिको अवस्थामा फर्किए पनि फिल्मले हलमा दर्शक भने फर्काउन सकेका छैनन् । केही अगाडि प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु २’ अपवाद बाहेक कोरोना पछाडि जति पनि नेपाली फिल्म रिलिज भए, कुनैले पनि दर्शक पाउन सकेन । ‘म यस्तो गीत गाउँछु २’ ले प्रचार गरेजस्तो नभएर अन्य भन्दा केही बढी दर्शक पाएको हलवालाहरु बताउँछन् । तर कोरोनापछि नेपाल भित्रिएका हलिउड र बलिउड फिल्मले भने राम्रो दर्शक पाएका छन् ।

त्यसैले फिल्म क्षेत्र पुरानो लयमा फर्किए पनि दर्शक फर्काउन नसकेको, फिल्म राम्रो बन्न नसकेको गुनासो पुनः सुनिन थालेको छ । यस्तै गुनासो फिल्म निर्माता तथा वितरक गोपाल कायस्थको पनि छ । उनी विदेशी फिल्ममा दर्शक ओइरिनु तर नेपाली फिल्ममा शुन्य देखिनु गम्भीर बिषय भएको बताउँछन् ।

विदेशी फिल्म जुनै आएपनि राम्रो दर्शक पाउँछ । नेपाली फिल्म कुनैपनि दर्शक पाउन सकेको छैन, कायस्थले भने, ‘हामीलाई चुनौती त कति कति ।’ अब जस्तो पायो, त्यस्तो नेपाली फिल्मले दर्शक नपाउने उनको धारणा छ । ‘हिन्दी फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने फिल्म अब निर्माण गर्न सकिएन भने दर्शक पाइँदैन, कायस्थले थपे ।

कायस्थको बिचारसँग चलचित्र विकास बोडका अध्यक्ष दाहाल पनि सहमत छन् । नेपाली फिल्मले राम्रो दर्शक नपाएको चिन्ता उनलाई पनि छ । ‘मेरो बुझाइमा राम्रो कथा भयो भने नेपाली फिल्मले पनि दर्शक पाउँछन्, दाहालले भने, ‘यस अगाडि रिलिज भएका केही फिल्मले उदाहरण पेश गरेका छन् ।’ फिल्म राम्रो नभएपछि दर्शक भएन भनेर चिन्ताले मात्रले केही नहुने उनको जिकिर छ । ‘पहिले फिल्म राम्रो बनाऔं, दर्शक अवश्य फर्किन्छन, दाहालले सुझाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप