बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी

बिहीबार, १७ चैत २०७८, १६ : ४५
बिहीबार, १७ चैत २०७८

निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानुन तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो बारेमा जानकारी दिइएको हो ।

यस्तै आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व घोषणा गर्नुपर्ने व्यवस्था समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले स्थानीय तह निर्वाचन २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढी भन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन दिइएको पनि बताए । प्रवक्ता पौडेलका अनुसार आयोगले आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले आयोग परिसरमा कल सेन्टरको स्थापना गरेको छ ।

प्रवक्ता पौडेलले कल सेन्टर स्थापना भएको दुई दिनमा आयोगमा पहिलो दिन ३१० र दोस्रो दिन २६१ जना मतदाताहरूको जिज्ञासा समाधान गरेको पनि बताए । आयोगले मतदान सम्बन्धी जिज्ञासाका लागि ११०२ नम्बरको टोल फ्रि नम्बर उपलब्ध गराएको छ । प्रवक्ता पौडेलले कल सेन्टरमा मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा लगायतका विषयहरुमा आम मतदाताहरूबाट जिज्ञासा आउने गरेको बताए । यस्तै आयोगले बिहीवार निर्वाचन आयोग र नेपाल ल सोसाइटीको संयुक्त आयोजनामा केन्द्रमा आचारसंहिताहरूको प्रचारप्रसार तथा सचेतनासँग सम्बन्धित कार्यक्रम सम्पन्न गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप