ad
x

‘मध्य पूर्वीय’ कोरोना भाइरस अर्थात् ‘मर्स-कोरोना भाइरस’ !

person explore access_timeचैत १७, २०७८ chat_bubble_outline0

कोरोना भाइरसको ‘सार्स-कोभ-२’ ले विश्राम लिँदै गरेको छ । ‘सार्स-कोभ-२‘ को तीन लहरले नेपालमा मानवीय क्षति तथा मानसिक रूपमा ठुलो प्रभाव पारेको थियो । तर कोरोना भाइरसका प्रजातिहरू मध्य ‘मध्य पूर्वीय’ कोरोना भाइरस अर्थात् ‘मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) कोरोना भाइरस’ लाई सबैभन्दा घातक मानिन्छ । 


विश्व स्वास्थ्य संगठनका अनुसार १० सङ्क्रमितहरू मध्य झन्डै ३ देखि ४ जनासम्मको मृत्यु हुने गर्दछ । नेपालीहरू वैदेशिक रोजगारको सिलसिलामा सबैभन्दा बढी मध्य पूर्वीय देशहरूमा पुग्ने गर्नुले पनि यस भाइरस प्रति नेपालीले चासो लिनु पर्ने आवश्यकता देखिन्छ । विश्वमा नै ‘मर्स-कोरोना भाइरस’ सङ्क्रमितको तथ्याङ्क हेर्दा ८० प्रतिशत त अरब देशमा मात्र देखिने गरेको पाइन्छ । मध्य पूर्वीय देशहरू बाहेक विश्वका अरू देशहरूमा पनि सङ्क्रमित यात्रु मार्फत भाइरस पुग्ने गरेको पाइन्छ ।



सन् २०१५ मा दक्षिण कोरियामा ‘मर्स-कोरोना भाइरस’ ले प्रकोपको रूप लिएको थियो । ६८ वर्षीय कोरियाली व्यापारी ‘मध्य पूर्वी’ का देशहरू बहराइन, युएई र साउदी अरबको भ्रमण गर्दा ‘मर्स-कोरोना भाइरस’ सङ्क्रमित भएको र दक्षिण कोरिया फर्के लगतै ज्वरो आउने, जिउ दुख्ने र सुक्खा खोकी लागेर स्वास्थ्य केन्द्रमा परीक्षणहरू गर्दा फोक्सोमा निमोनिया देखिएको थियो । पछि सरुवा रोग विशेषज्ञले थप नमुनाको परीक्षण गर्दा ‘मर्स-कोरोना भाइरस’ पुष्टि भएको थियो । ‘मर्स-कोरोना भाइरस’ को सङ्क्रमण सो व्यक्तिमा मात्र सीमित नभएर आफन्त तथा स्वास्थ्य केन्द्रबाट फैलिँदै १८६ जना सङ्क्रमित भएका र त्यस मध्ये ३८ जनाको मृत्यु भएको तथ्याङ्कमा देखिन्छ । ‘मध्य पूर्वी’ बाहेक अरू देशमा सङ्क्रमण कसरी पुग्न सक्दछ र फैलने गर्दछ भन्ने कोरियाली यो अनुभव नेपालको लागि राम्रो पाठ सिकाई हुन सक्दछ ।

‘मर्स-कोरोना भाइरस’ के हो ?

बेटा कोरोनाभाइरस अन्तर्गत ‘मर्स-कोरोना भाइरस’ पर्दछ । यसै भाइरस अन्तर्गत हाल विश्वमा तहल्का मच्चाएको सार्स-कोभ-२ (कोभिड-१९) पनि पर्दछ । ‘मर्स-कोरोना भाइरस’ चमेरोबाट उठ मार्फत मानिसमा फैलिने गरेको अनुसन्धानहरूले देखाउँदछ । यो भाइरस सन् २०१२ मा पहिलो पटक साउदी अरबमा पत्ता लागेको थियो । र हाल पनि सबैभन्दा बढी ‘मर्स-कोरोना भाइरस’ को सङ्क्रमण (८० प्रतिशत) यही देशमा पत्ता लाग्ने गर्दछ ।

‘मर्स-कोरोना भाइरस’ ले सङ्क्रमण गरेको २ देखि १४ दिन सम्ममा लक्षणहरू देखा पर्ने गर्दछ । ज्वरो, खोकी र श्वास-प्रश्वासमा समस्या यसको मुख्य लक्षणहरू मानिन्छ । सुरुवाती समयमा कोभिड-१९ को लक्षणहरू पनि यही नै मानिन्थ्यो । यद्यपि लहर र भेरिएन्टहरु थपिँदै जाँदा भने लक्षणहरूमा फरकपन वा थपिने क्रम बढ्दै गएको थियो । पेट दुख्ने, वाक-वाक लाग्ने, बान्ता हुने, कसै-कसैलाई पखाला लाग्ने गर्दछ जस्ता लक्षणहरू पनि देखिने गर्दछ । लक्षण जटिलता तिर गए निमोनिया देखिने, मिर्गौला फेल हुने जस्ता समस्याहरू देखिने गर्दछ । कोरियामा गरिएको अनुसन्धानमा सङ्क्रमितमा लक्षण देखिएको सात दिन पछि तीव्र गतिमा निमोनिया विकसित हुने देखिएको थियो । सङ्क्रमितले एक देखि एघार दिनसम्म सङ्क्रमण सार्न सक्ने कोरियाली अनुसन्धानमा देखिएको थियो । वृद्ध र दीर्घरोगीहरु सङ्क्रमित भए जटिल अवस्था आउन सक्ने सम्भावना बढेर जाने हुन्छ ।

सङ्क्रमित व्यक्तिले खोक्दा निक्लिएको छिटाबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्न सक्दछ । अर्थात् यसको मुख्य सर्ने तरिका पनि सार्स-कोभ-२ (कोभिड-१९) को जस्तै हो । सङ्क्रमितसँग नजिक हुँदा वा स्याहार गर्दा सङ्क्रमण फैलिने गरेको देखिन्छ । तर सार्स-कोभ-२ (कोभिड-१९) जस्तै समुदायमा नै तीव्र गतिमा फैलिएर विशिष्ट लहरहरू ल्याएको गरेको भने देखिँदैन । अर्थात् आजको मितिसम्म मानिसबाट मानिसमा सहजै फैलने गरेको देखिँदैन ।

यसको विशेष एन्टी भाइरल औषधी भने छैन । लक्षणको आधारमा उपचार गर्ने गरिन्छ । कोभिड-१९ विरुद्ध खोपको विकास भैसकेको छ र हाल नेपालमा खोपले निरन्तरता पनि पाइरहेको छ ।  तर ‘मर्स-कोरोना भाइरस‘ विरुद्धको खोप विकास भैसकेको छैन । तसर्थ सङ्क्रमणबाट बच्नु नै यो भाइरसबाट बच्ने मुख्य उपाय नै हो । ‘मर्स-कोरोना भाइरस’ बाट बच्ने उपाय पनि कोभिड-१९ विरुद्ध अपनाइने जनस्वास्थका मापदण्डहरु जस्तै नै हुन । हात साबुन पानीले धुने, खोक्दा नाक मुख बाहुलाले छोप्ने, घरीघरी नाक मुख र आँखामा हातले नछुने, सङ्क्रमितले जुठो गरेको पानी वा खानेकुरा नखाने र सङ्क्रमितले प्रयोग गरेका समानहरू डिस-इन्फेक्सन गरेर मात्र पुनः प्रयोग गर्ने जस्ता सावधानीहरू अपनाउनु पर्दछ ।  

अन्त्यमा,  ‘मर्स-कोरोना भाइरस’ नेपालमा पुष्टि भैसकेको त छैन तर निमोनिया देखिएका मानिसमा नियमित परीक्षण अन्तर्गत यो भाइरस सामवेश पनि गर्ने गरिँदैन । परीक्षण नगरी सङ्क्रमण छ/छैन भनेर यकिन गर्न सकिँदैन । नेपालीहरू अरब देश वा अरू ‘मध्य पूर्वीय’ देशहरूमा विशेषतः  रोजगारीको लागि दैनिक ठुलो सङ्ख्यामा जाने गर्दछन् । त्यहाँ बाट फर्कने वा बिदा मनाउन आउनेहरूको सङ्ख्या पनि उल्लेखनीय नै हुन्छन् । तसर्थ, त्यहाँबाट फर्किएकामा ‘मर्स-कोरोना भाइरस’ सँग मिल्दो जुल्दो लक्षणहरू देखिएर उपचार/परामर्शका लागि आएमा तुरुन्त आइसोलेट गरी सङ्क्रमण निदान तथा उपचार गर्नु पर्दछ । यद्यपि यसको लागि शङ्का लागे परीक्षणको लागि पठाउने स्थानको  (कुन अस्पताल जाने) जानकारी  स्वस्थ्यकर्मीहरुलाई सम्बन्धित निकायले गराउन भने आवश्यक हुनेछ ।       

लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल  क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।