सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने
स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । ‘बिहीबार साढे १० बजे बैठक बस्दैछ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुन्छ’, नेता पौडेलले भने, ‘चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुन्छ ।’
वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् ।
सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् । महानगर र उपमहानगरको हकमा केन्द्रबाटै तालमेलको निर्णय हुने देखिएको छ ।
बिहीबारको बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार चितवन पुगेर बिहीबार बस्ने गठबन्धनको बैठकले महानगरपालिकास्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय प्रक्रियामा पुगिने बताए ।
प्रचण्डले आजको बैठकले सम्भवत महानगरको बारेमा तालमेलको निर्णय हुने र भरतपुरको मेयरमा माओवादीको दावी रहने बताएका थिए । ‘विहीबार हाम्रो गठबन्धनको बैठक बस्दैछ । सम्भवतः महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं’, प्रचण्डले भनेका छन्, ‘तालमेलकै निर्णय हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ ।’ तर, काँग्रेस नेता पौडेलले भने महानगरमा हुने तालमेलबारे आज नै निर्णयमा पुग्न सकिने सम्भावना कम रहेको बताए ।
‘पहिला सबै दलको रिपोर्टिङ के कस्तो छ ? त्यो थाहा हुनुपर्यो । त्यसपछि मात्रै कहाँ कुन दलले उम्मेदवारी दिने भन्ने निर्णयमा पुग्न सकिन्छ’, पौडेलले रातोपाटीसँग भने । प्रदेश, जिल्ला र स्थानीय तहको कुरा नबुझि काँग्रेसले माथिमाथिबाट निर्णय नगर्ने पौडेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल