आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर–जयनगर रेल सञ्चालन हुने खबरले जनकपुरवासी खुशी

बुधबार, १६ चैत २०७८, २१ : २१
बुधबार, १६ चैत २०७८

-पवन यादव
जनकपुर–जयनगर रेल सञ्चालन हुने खबरले जनकपुरवासी खुशी भएका छन् । पहिलादेखि नै सञ्चालन हुँदै आएको छोटी लाइनको लिकमा चल्ने रेल बन्द भएपछि त्यस क्षेत्रका सर्वसाधारण समस्या खेप्दै आएका छन् ।

सरकारले छोटी लाइन विस्थापित गरी अत्याधुनिक रेल भित्र्याई यसअघि नै सफल परीक्षण गरिसकेको छ । रेल सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भए पनि उद्घाटन नहुँदा सञ्चालन हुन सकेको थिएन । भारतबाट दुईवटा रेल ल्याएर राखेकै करिब डेढ वर्ष भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा शनिबार भर्चुअल माध्यमबाट रेलको विधिवत उद्घाटन गर्ने कार्यक्रम छ । योसँगै जनकपुर क्षेत्रका सर्वसाधारण खुशी भएका भएका हुन् । ‘रेल बन्द भएपछि जनकपुर–जयनगर यात्रा गर्न निकै कठिनाई भएको थियो,’ धनुषा भमरपुराका जगदीश प्रसाद सिंहले भने, ‘घुमाउरो तथा लामो यात्रा गर्न बाध्य थियौं ।’ पुनः रेल चल्न थालेपछि थोरै समय र सुपथ भाडामा जनकपुरदेखि जयनगरसम्म यात्रा गर्न सकिने भएकोमा आफूलाई खुशी लागेको उनले सुनाए ।

सिंहलाई मात्र होइन, जनकपुर सहरका अधिकांश व्यक्ति बडी लाइनको लिकमा आफ्नै भूमिमा अत्याधुनिक रेल चढ्ने धोको पूरा हुन लागेकोमा खुशी छन् । रेल सञ्चालनको प्रतिक्षामा रहेका जनकपुर बस्ने अनिल साह पनि अहिले कम्ती खुशी छैनन् । उद्घाटनको मिति तय भएसँगै यस क्षेत्रमा खुसीयाली छाएको उनले बताए । ‘अहिलेसम्म नेपाल भित्रिएको रेल हेरेरमात्र बसेका थियौं,’ उनले भने, ‘अब रेल चढने भइयो ।’ रेल सञ्चालन भएपछि यो रुटमा यात्रा गर्न सर्वसाधारणले खर्च गर्दै आएको फजुल भाडाको बचत हुने उनले बताए ।

रेल सञ्चालन भएपछि व्यापार व्यवसायमा पनि सहज हुने स्थानीय व्यापारी बताउँछन् । रेल सेवा सञ्चालन नहुँदा कतिपयले मोटरसाइकलमा कुर्था–जनकपुर ओहोर दोहोर गर्दै आएका छन् । तर अब रेल सञ्चालन भएपछि तुलनात्मक रुपमा कम खर्चमै ओहोरदोहोर गर्न सकिने उनीहरुको भनाइ छ ।

विगत १७ महिनादेखि थन्किएको रेल सञ्चालन गर्न उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको नेपाल रेलवे विभागका इन्जिनियर नवराज भट्टले जानकारी दिए । रेल सञ्चालन गर्न भौतिक संरचना, कर्मचारी व्यवस्थापन लगायतका तयारी पूरा भएपछि उद्घाटनको तयारी सुरु गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेलको उद्घाटन गर्ने नेपाल रेलवे कम्पनीका सहायक प्रबन्धक विनोद ओझाले जानकारी दिए । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने रेलको भर्चुअली उद्घाटनको तयारी गरिएको र यसका लागि जनकपुर र कुर्थामा मञ्च व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीको भारत भ्रमणमा रेल उद्घाटनको विषय प्राथमिकतामा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ । ‘ड्राइ रन’का रुपमा रेल चलाइए पनि उद्घाटन हुन नसकेकै कारण सबै तयारी पूरा भएपनि सञ्चालनमा ल्याउन नसकिएको सहायक प्रबन्धक ओझाको भनाइ छ ।

रेल सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्थाका लागि गत चैत ८ गते राष्ट्रपति कार्यालयबाट रेलवे अध्यादेश जारी भएको रेल्वे कम्पनीले जनाएको छ । भारतीय रेलवे कम्पनी कोंकणले ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको दुबै रेल सेट २०७७ असोजमा नेपाल भित्र्याइएको थियो । यद्यपि १७ महिनासम्म ती रेल थन्किएर बसेका थिए । २६ जना भारतीय प्राविधिक र तालिम लिएर बसेका ६० जना नेपाली कर्मचारीबाट रेल सञ्चालनमा ल्याइने रेल्वे कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप