६ महानगरमा एकातिर एमाले अर्कोतिर गठबन्धन दल हुँदा चुनावी परिणाम कस्तो होला ?
शुक्रबारदेखि मंगलबारसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दल एमाले एकातिर र गठबन्धन दल अर्कोतिर हुने सम्भावना बढेको छ । यदि गठबन्धन दल एकातिर र एमाले एक्लै चुनावमा जाने हो भने पनि ५ वर्षअघिको मतपरिणाम हेर्र्दा देशका ६ महानगरमा एमाले कमजोर भने देखिँदैन । केही महानगरमा गठबन्धन दलभन्दा एमाले नै बलियो देखिन्छ । यद्यपि पार्टी विभाजनको समेत मार खेप्नुपरेको र २ पटक प्रतिनिधिसभा विघटन गरेर आलोचना खेपेका कारण अघिल्लो निर्वाचनकै हाराहारीमा एमालेले मत ल्याउँछ भनेर किटान गर्न सक्ने अवस्था भने छैन ।
सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । यी दलबीच तालमेल भएमा आगामी निर्वाचनमा एमाले राजनीतिक रुपमा घेराबन्दीमा पर्नेछ । देशका केही भागमा राम्रो उपस्थिति रहेका राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी कुनै गठबन्धनमा लाग्छन् वा लाग्दैनन् भन्ने विषयले पनि आगामी चुनावको नतिजालाई केही फरक पार्न सक्छ ।
अघिल्लो चुनावको तुलनामा हाल मतदाता थपिएको अवस्था र नयाँ मतदाताको रुझानले पनि चुनावी परिणाममा धेरै फेरबदल ल्याउन सक्छ । २०७४ सालको स्थानीय तहको चुनाव यता काँग्रेस र फोरम लोकतान्त्रिकबीच एकता भएको छ भने एमाले विभाजित भएको छ । यस्तै नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्र्टीबीच एकता भइ बनेको जसपा नेपाल पुनः विभाजित भई जसपा नेपाल र लोसपा नेपालका रुपमा छन् ।
हामीले यहाँ पाँच वर्षअघि दलहरुले पाएको मतको आँकडाका आधारमा अनुमानित विश्लेषणको प्रयासमात्र गरेका छौँ । फुटपछि एमालेमा त्यसको असर कस्तो पर्न सक्छ भनेर अहिले नै आकलन गर्न कठिन छ ।
१) काठमाडौं महानगरपालिका : गठबन्धनलाई चुनौती कायमै
२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ६४ हजार ९ सय १३ मत ल्याई निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका राजुराम जोशीले ४५ हजार २ सय ६९ मत पाएका थिए । तेश्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन् भने साझा पार्टीका किशोर थापाले १८ हजार ४ सय ९६ मत पाएका थिए ।
यता माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९ सय ६ मत र नयाँ शक्ति पार्टी नेपालका पवित्र बज्राचार्यले ६ हजार ५० मत पाएकी थिइन् ।
यो मत आँकडामा तत्कालीन विकेकशील साझा र साझा पार्टीले पाएको मतलाई छोडेर काँग्रेस, माओवादी र नयाँ शक्तिको मत मिसाउँदा ५९ हजार २ सय २५ मत हुन्छ । यो आधारमा पनि एमाले ५ हजार ६ सय ८८ मतले अगाडि देखिन्छ । तर एमालेको सो मतमा राप्रपाको मत समेत जोडिएको छ । सो निर्वाचनमा काठमाडौं महानगरमा एमाले र राप्रपाले चुनावी गठबन्धन गरेका थिए ।
रञ्जु र किशोरले पाएको ४१ हजार ९ सय ३५ मत यसमा समावेश गरिएको छैन । आगामी स्थानीय तहको चुनावमा पनि पुराना राजनीतिक दलहरुको पोल्टामा जाने भोट काट्नेगरी स्वतन्त्र ढङ्गले युवा पुस्ताले चुनावी तयारी गरिरहेका छन् । जसमा हालसम्म काठमाडौं महानगरपालिकामा र्‍यापर बालेन साह र मिस नेवाः सुनिता डंगोल अगाडि देखा परेका छन् । उनीहरु सहित विवेकशील तथा अन्य स्वतन्त्र उम्मेदवारले महानगरका युवा पुस्ताको मत तान्न सक्छन् ।
उपप्रमुख तर्फ काँग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९ सय ५२ मत ल्याएर निर्वाचित भएकी थिइन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । श्रेष्ठले पाएको मतमा एमालेको समेत मत मिसिएको थियो । साझा पार्टीबाट स्वतन्त्र उम्मेदवार दिएकी निरुपमा यादवले ११ हजार ५ सय ३३ मत ल्याएकी थिइन् । माओवादी केन्द्रकी सुशिला कुमारी पौडेलले १० हजार ४ सय ४८ र नयाँ शक्ति पार्टी नेपालकी सविना अर्याल दवाडीले ३ हजार ४ सय ९३ मत ल्याएकी थिइन् ।
उपप्रमुख तर्फ काँग्रेस, माओवादी र नयाँ शक्तिले त्यतिबेला पाएको मत जोड्दा ७२ हजार ८ सय ९३ हुन्छ । जुन एमाले–राप्रपा गठबन्धनले पाएको मतभन्दा ३८ हजार ३९ मत बढी हो । यसमा स्वतन्त्र उम्मेदवार निरुपमा यादवले पाएको मतलाई समावेश गरिएको छैन । यो आधारमा एमालेले गठबन्धन बनाउँदा पनि उपमेयरमा चुनाव जित्न कठिन हुने देखिन्छ । पार्टी विभाजनपछि काठमाडौं महानगरपालिकामा एमालेलाई केही मात्रामा अवश्य क्षति पुगेको छ । यसले पनि एमालेको मत अघिल्लो निर्वाचनको तुलनामा केही कटौती हुने देखिन्छ ।
२) ललितपुर महानगरपालिका : गठबन्धन दल अगाडि
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसका तर्फबाट महानगर प्रमुखममा चिरीबाबु महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका थिए । उनका निकटम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३ सय मत ल्याएका थिए । साझा पार्टीका उम्मेदवार स्व.रमेश महर्जनले १३ हजार ४ सय ५८ मत, माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत ल्याएका थिए ।
यहाँ एमाले र काँग्रेसबिच झन्डै ३ सय हाराहारी मतान्तर छ । तर सत्तारुढ गठबन्धनबीच तालमेल भएको अवस्थामा ललितपुर महानगरमा एमालेलाई कठिन हुने देखिन्छ । यहाँ काँग्रेस र माओवादी केन्द्रको मत मिसाउँदा ३५ हजार ३ सय ३ हुन्छ जुन एमाले उम्मेदवारले पाएको मत भन्दा १० हजार ८ सय ४५ मत धेरै हो । यस अतिरिक्त एमाले विभाजनको असरले यहाँ पनि अघिल्लो निर्वाचनको तुलनामा एमालेको मत कम रहेमा आश्चर्य मानिरहन पर्दैन ।
यस्तै उपप्रमुख तर्फ काँग्रेसकी उम्मेदवार गीता सत्यालले १९ हजार ८ सय १९ मत ल्याएकी थिइन् । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार शोभा शाक्यले १४ हजार २ सय २० मत पाएकी थिइन् । माओवादी केन्द्रकी हसिना शाक्यले १२ हजार ९ सय ७९ मत र राप्रपाका बाबुकाजी प्रधानले १० हजार ५ सय ४० मत ल्याएका थिए ।
उपप्रमुख तर्फ काँग्रेस र माओवादी केन्द्रको मत मिसाउँदा ३२ हजार ७ सय ९८ हुन्छ, जुन एमाले उम्मेदवारले पाएको मतभन्दा १८ हजार ५ सय ७८ बढी हो । यो महानगरमा एमाले र राप्रपाबीच तालमेल भएको अवस्थामा पनि उपमेयर पदमा एमालेलाई जित निकाल्न कठिन देखिन्छ ।
३) पोखरा महानगरपालिका : गठबन्धनभन्दा एमाले बलियो !
एमाले फुटको असर नपर्ने हो भने अघिल्लो निर्वाचनका आधारमा यो महानगरपालिकामा एमाले तुलनात्मक रुपमा बलियो देखिन्छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा यो महानगरपालिका प्रमुखमा एमालेका मानबहादुर जिसी निर्वाचित भएका थिए । जिसीले ६० हजार ११८ मत पाएका थिए ।
उनले आफ्ना निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामजी कुँवरलाई १३ हजार ७०२ मत अन्तरले पराजित गरेका थिए । कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरेका थिए । उनले पाएको यो मतमा माओवादी केन्द्रको पनि मत मिसिएको थियो । काँग्रेस–माओवादी गठबन्धन हुँदा पनि यो महानगरमा एमालेले भारी मतान्तरमा चुनाव जितेको थियो ।
संघीय समाजवादी फोरम नेपालका हुमबहादुर गुरुङले ३ हजार १७० मत प्राप्त गरेका थिए भने राप्रपाका रिता गुरुङले २२ सय ७२ मत प्राप्त गरेकी थिइन् ।
यहाँ काँग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमले पाएको मत मिसाउँदा पनि एमाले १० हजार ५ सय ३२ मतले अगाडि देखिन्छ । यद्यपि यो महानगरपालिकामा एमाले फुटको असर कस्तो परेको छ भन्ने प्रस्ट छैन । यदि एमाले विभाजनको असर खासै देखिएन भने यहाँ एमालेलाई हराउन गठबन्धन दललाई कठिन पर्ने देखिन्छ ।
उपप्रमुखले पाएको मत विश्लेषण गर्दा पोखरा महानगरपालिका उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी थिइन् । उनले ५६ हजार ४४८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत पाएकी थिइन् । माओवादी केन्द्रका उम्मेदवार गोमा ढकालले ८ हजार ७ सय ९६ मत, राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८ सय ४० मत पाएका थिए । त्यस्तै उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले २ हजार १ सय ९९ मत प्राप्त गरेका थिए ।
यहाँ माओवादी केन्द्र र काँग्रेसले पाएको मत जोड्दा ५३ हजार १ सय ३४ हुन्छ जुन एमाले उम्मेदवारले पाएको मत भन्दा ३ हजार ३ सय १४ मत थोरै हो । यहाँ गठबन्धन दलको तुलनामा एमाले बलियो देखिन्छ ।
४) भरतपुर महानगरपालिका : गठबन्धन बने पनि सशक्त एमाले
२०७४ सालको स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्रकी रेणु दहाल निर्वाचित भएकी थिइन । यहाँ काँग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । रेणु र उनका निकटम प्रतिस्पर्धी देवी ज्ञवालीबिच झिनो २०३ मतान्तर रहेको थियो । उक्त निर्वाचनमा रेणुले ४३ हजार १ सय २७ मत प्राप्त गरेकी थिइन् भने निकटम देवीले ४२ हजार ९ सय २४ मत पाएका थिए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्रिनाथ तिमिल्सिनाले ६ हजार ८ सय ४२ मत प्राप्त गरेका थिए भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीवन राम महतोले ४ सय १५ मत प्राप्त गरेका थिए ।
भरतपुर महानगरपालिकामा निर्वाचनपछि मत गणनाको अन्तिम चरणमा मतपत्र च्यातिएपछि यहाँको चुनाव निकै विवादित बनेको थियो । मतपत्र च्यातिएपछि अदालतमा मुद्दा पुगेको थियो । अदालतको फैसलासँगै भरतपुर वडा नम्बर १९ मा पुनः मतदान भएको थियो । पुनः मतदानपछि पनि माओवादी र काँग्रेस गठबन्धन २ सय ३ मतले अगाडि हुनुले यहाँ पनि गठबन्धन दललाई खतरा देखिन्छ । यद्यपि एमाले फुटको यहाँ कस्तो प्रभाव छ भन्ने विषयले पनि एमालेको मत निर्धारण हुनेछ ।
यस्तै महानगरको उपप्रमुखमा काँग्रेसकी पार्वती शाह ४७ हजार १ सय ९७ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनका निकटमत प्रतिद्वन्द्वी एमालेकी दिव्य आचार्यले ३९ हजार ५ सय २५ मत प्राप्त गरेकी थिइन् । सोही पदका लागि राप्रपाकी रिना गुरुङले ७ हजार २ सय ५२ मत प्राप्त गरेकी थिइन् भने नयाँ शक्ति नेपालकी शारदा घिमिरेले ३ सय ७१ मत पाएकी थिइन् ।
भरतपुर महानगरमा उप्रमुख पदमा भने काँग्रेस–माओवादी गठबन्धन बलियो देखिएको छ । ७ हजार ६ सय ७२ मतले उपप्रमुख पदमा गठबन्धन दल अगाडि देखिन्छ ।
५) वीरगञ्ज महानगरपालिकाको मत तितरबितर तर एमाले बलियो हुने संकेत
अघिल्लो स्थानीय तह निर्वाचनमा वीरगञ्जमा जुन जुन पार्टी तथा उम्मेदवारहरु चुनावी मैदानमा थिए, पार्टी फुट तथा नेताहरुको पार्टी प्रवेशका कारण राजनीतिक समीकरण तितरबितरको अवस्थामा छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालका विजय कुमार सरावगी निर्वाचित भएका थिए । हाल उनी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी १९ हजार ३ सय ९३ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका अजय कुमार द्विवेदीले १७ हजार १ सय ९७ मत पाएका थिए ।
महन्थ ठाकुर, राजेन्द्र महतो लगायतको नेतृत्व रहेको राष्ट्रिय जनता पार्टी नेपालका राजेशमान सिंहले १२ हजार १ सय ६५ मत ल्याएका थिए । नेपाल लोकतान्त्रिक फोरमका बिमल प्रसाद श्रीवास्तवले ८ हजार ७ सय १ मत ल्याएका थिए । हाल उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा छन् । तर नेपाल लोकतान्त्रिक फोरम पार्टी भने हाल काँग्रेसमा विलिन भएको छ । विमलले सो बेला पाएको मतको आधा ४ हजार ३ सय ५० उनको भागमा र आधा काँग्रेसको भागमा हालेर यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ ।
यस्तै सो महानगरमा एमालेका बसरुद्दिन अन्सारीले ८ हजार ६ सय ८८ मत पाएका थिए । माओवादी केन्द्रका रहवर अन्सारीले ८ हजार ३ सय ५ मत पाएका थिए ।
आगामी स्थानीय तहको चुनावमा विजय कुमार सरावगीलाई नै नगरप्रमुखमा एमालेले उठाउने निश्चित छ किनकि उनले चुनावको मुखमा एमाले प्रवेश गर्नु त्यसैको संकेत हो । तत्कालीन संघीय समाजवादी फोरम र हाल जनता समाजवादी पार्टीले पाएको १९ हजार ३ सय ९३ मतमध्ये उनले आधा मत आफ्नो व्यक्तित्वको प्रभावमा तान्न सके ९ हजार ९ सय ९६ हाराहारी उनको पक्षमा जान सक्छ । आधा मत हालको जनता समाजवादीको पक्षमा छोड्दा काँग्रेस, माओवादी सहित गठबन्धन दलको पक्षमा ३९ हजार ५ सय ४८ हाराहारी मत हुने अनुमान गर्न सकिन्छ ।
यदि एमाले–लोसपा गठबन्धन भएमा विजयकुमार सरावगीको व्यक्तित्वका कारण आउने (अघिल्लो निर्वाचनमा उनले पाएको मतको आधा) मतसहित ३५ हजार १ सय ९९ मत हुने अनुमान गर्न सकिन्छ ।
अघिल्लो निर्वाचनमा खसेको मतका आधारमा यो अनुमानित हिसाव अनुसार एमालेको सम्भावित गठबन्धन र काँग्रेसको सम्भावित गठबन्धनबिच ४ हजार ३ सय ४९ हाराहारी मतान्तर हुने देखिन्छ । यद्यपि मतदाताको संख्यामा फेरबदल र दलहरुको चुनावी रणनीतिले नै उनीहरुले पाउने मत निर्धारण हुनेछ । यो महानगरमा पनि गठबन्धन दललाई सजिलै जित निकाल्न भने कठिन हुने संकेत अघिल्लो चुनावमा पाएको मतका आधारमा देखिन्छ ।
६) विराटनगर महानगरपालिका : गठबन्धन र एमाले दुवै सशक्त
विराटनगर नेपाली काँग्रेसको स्थापनाकालदेखिको विरासत बोकेको महानगर हो । वीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालादेखि हालका काँग्रेस नेता शेखर कोइरालासम्मको लिगेशी विराटनगरमा छ । यस्तै कम्युनिस्टहरूले आफ्ना नेताहरू मनमोहन अधिकारी, मदन भण्डारी, भरतमोहन अधिकारी सम्मको राजनीतिक थलोको रुपमा विराटनगरलाई चिन्दछन् ।
हालसम्म विराटनगरमा भएको स्थानीय तहको निर्वाचनमा दुई पटक कम्युनिस्टले र दुई पटक काँग्रेसले जित निकालेको छ । ०४३ सालमा जनपक्षीय उम्मेदवार भनेर वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठले चुनाव जितेका थिए । ०४८ सालको निर्वाचनमा काँग्रेसका उम्मेदवार अशोक कोइराला विजयी भएका थिए । यस्तै ०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल विजयी हुँदा ०७४ सालको स्थानीय तह निर्वाचनमा भने पुनः काँग्रेसका उम्मेदवार भीम पराजुली विजयी बनेका थिए । यो तथ्यलाई हेर्दा विराटनगरमा गठबन्धन नगरे काँग्रेसलाई चुनाव जित्न कठिन छ । किनकि हालका प्रमुख पराजुलीको ५ वर्ष कामको गति चित्त बुझ्दो छैन ।
विराटनगर महानगरको चुनावी हिसाव
यसअघि २०७४ सालको निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई हेर्दा विजय गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा समाहित भइसकेको छ । यस्तै काँग्रेसबाट बागी उम्मेदवारी दिएका विराटनगर–१९ का वडाध्यक्ष बद्रीनारायण सरदार पनि काँग्रेसमै समाहित भइसकेका छन् भने विराटनगर–१० का वडाध्यक्ष माधव वाग्ले अहिलेसम्म स्वतन्त्र छन् ।
मत परिणामअनुसार सबै वडाध्यक्षको मत जोड्दा काँग्रेसको १६ हजार ७ सय ६६ हुन्छ । यस आधारमा एमालेको १६ हजार २ सय १८, संघीय समाजवादी फोरमको मत १० हजार ९ सय ३२, माओवादी केन्द्रको ८ हजार १, राप्रपाको ४ हजार २ सय ९१ र फोरम लोकतान्त्रिकको मत ४ हजार ४ सय ५२ मत छ । लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएसँगै काँग्रेसको मत अब २१ हजार ८ सय ६० पुग्छ ।
विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको छ भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवार १ जनाले निर्वाचन जितेका थिए । अघिल्लो पटक काँग्रेस र राप्रपा एक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो ।
त्यसबेला काँग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने । एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । अन्य उम्मेदवारको जम्मा मत ३ सय ६४ थियो ।
विराटनगर महानगरपालिकामा अघिल्लो वर्षको तुलनामा १९ हजार ३ सय ८१ जना मतदाता नयाँ थपिएका छन् । निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना मतदाता छन् । २०७४ सालको निर्वाचनमा विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६१ मात्र थियो ।
मतको रुझान हेर्दा विराटनगरका मतदाता वामपन्थी र काँग्रेस निकट बराबरजसो छन् । ०७४ सालको निर्वाचनमा वामपन्थी मत अर्थात् एमाले र माओवादीको २४ हजार २ सय १९ देखिन्छ भने काँग्रेस र राप्रपाको मत २६ हजार १ सय ५१ छ । यस्तै जनता समाजवादी पार्टीको मत १० हजार ९३२ छ ।
वामपन्थीबीचको बेमेलले काँग्रेसलाई केही सहज अवस्था सिर्जना गरेको छ । यसपटक गणनामा आउने वामपन्थी दल विराटनगरमा मात्रै तीनवटा एमाले, माओवादी र एकीकृत समाजवादी छन् । सबै वडामा संगठन निर्माण गरिसकेका कारण एकीकृत समाजवादीले एमालेको लगभग ३ हजार देखि ३५ सयसम्म मत काट्न सक्ने अनुमान स्वयं एमालेकै नेताहरुले गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीका नेताहरु भने आफूहरुले ५ हजारभन्दा बढी मत ल्याउने दाबी गर्छन् । यसकारण पनि एमालेको उम्मेदवारले चुनाव जित्ने आधार कमजोर हुने काँग्रेसको बुझाइ छ ।
यता, नेपाली काँग्रेसमा गत निर्वाचनको भन्दा झण्डै साढे ४ हजार मत फोरम लोकतान्त्रिकबाट थप भएको अवस्था छ । तर, काँग्रेसमा अहिले वडा तहदेखि नै झाङ्गिएको देउवा र कोइराला प्यानलले एकअर्कामा भोट क्रस हुने सम्भावना रहेको धेरैको भनाइ छ । राप्रपासँग तालमेल गरेर एमालेले सशक्त उम्मेदवार दिने हो र काँग्रेसले गठबन्धन नगरे यो महानगरमा एमालेले जित्न सक्ने कतिपयको विश्लेषण छ । राप्रपा मोरङका अध्यक्ष माधव आचार्यले आफूहरुलाई उपमेयर दिए एमालेसँग तालमेल हुन सक्ने बताए । यद्यपि हालसम्म पार्टीले एक्लै लड्ने तयारी गरिरहेको उनको भनाइ छ ।
एमाले विराटनगरका अध्यक्ष सागर थापा पनि एमाले एक्लै चुनाव लड्ने तयारी गरिरहेको बताउँछन् । काँग्रेस पनि चुनावी गठबन्धनको विषयमा छलफल नभएको बताउँछ । काँग्रेस विराटनगरका सभापति दीपक चापागाईंले अहिलेसम्म आफूहरु एक्लै लड्ने गरी तयारीका साथ लागिरहेको बताए । माओवादी केन्द्र, जनता समाजवादी तथा नेकपा एकीकृत समाजवादी भने गठबन्धन गरेरै चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । उनीहरूले केन्द्रबाटै ठोस निर्णय आउने भन्दै कुरिरहेका छन् ।
अर्जुन आचार्यको सहयोगमा