आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय सरकारले आलटाल गरे हामी आफैं प्रदेश प्रहरी भर्ना गर्छौं : प्रदेश मन्त्री साह

बुधबार, १६ चैत २०७८, १६ : २८
बुधबार, १६ चैत २०७८

मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेश प्रहरी हस्तान्तरणमा संघीय सरकारले आलटाल गरिरहेको भन्दै यही अवस्था रहे प्रदेशबाट संघीय प्रहरीलाई फिर्ता पठाउने चेतावनी दिएका छन् ।

बुधबार जनकपुरमा प्रदेश सरकार तथा जनप्रतिनिधिसँग सूचनाको हक सम्बन्धी कार्यशालामा बोल्दै सञ्चारमन्त्री साहले संघीय सरकारको बदनियतका कारण प्रदेश सरकारलाई अहिलेसम्म प्रदेश प्रहरी हस्तान्तरण हुन नसकेको आरोप लगाए ।

उनले संघीय सरकारले प्रहरी हस्तान्तरण नगरेमा प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रहरी भर्ना गर्ने सैद्धान्तिक निर्णय गर्ने बताए । उनले भने, ‘संघीय सरकारले प्रदेश प्रहरी हस्तान्तरण तथा भर्नाका लागि आनाकानी गरिरहेको छ, हामीले यसलाई गम्भीररुपमा लिएका छौँ ।’

कर्मचारीहरु पनि संघ सरकारबाट खटनपटन हुने भएकाले कर्मचारीले समेत प्रदेश प्रहरी भर्ना सम्बन्धी विज्ञापन प्रकाशन गर्न आनाकानी गरिरहेको उनको भनाइ छ । उनले भने, ‘तर अब हामी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट ठाडो प्रस्ताव लगेर प्रदेश प्रहरी भर्नाका लागि छिटै विज्ञापन निकाल्ने छौँ ।’

उनले प्रदेश सरकारले स्थापना गरेको विभिन्न प्रहरी चौकीमा प्रदेश प्रहरी भर्ना गर्ने बताए । उनले नगरपालिकाले नगर प्रहरी राख्न पाउने तर प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको शान्तिसुरक्षाको सवालमा प्रदेश सरकार टुलुटुलु हेरेर बस्ने अवस्था लज्जास्पद र असंवैधानिक समेत रहेको बताए ।

‘संघीय सरकार र संघीय प्रहरीका उच्च अधिकारीलाई प्रदेशमा प्रहरी गयो भने आफ्नो भाग खोसिने र आफूले जथाभावी चलाउन नपाउँदा सेरेमोनियल हुने भय रहेकाले पनि प्रदेशलाई प्रहरी हस्तान्तरण गर्न तथा अधिकार प्रत्यायोजन गर्न आनाकानी भइरहेको छ,’ सञ्चारमन्त्री साहले भने ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचनाको हकलाई आत्मसात् गरेको भन्दै उनले सूचनाको हक सबैको साझा सरोकार र आवश्यकता रहेकोले सूचनाबाट कसैलाई पनि वञ्चित गर्न नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप