बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा दुईवटा गठबन्धन बन्छः झलनाथ खनाल

बुधबार, १६ चैत २०७८, १५ : १६
बुधबार, १६ चैत २०७८

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् । बुधबार पार्टीले गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन् । उनले सत्तारुढ दलहरूको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलीय गठबन्धन बन्नसक्ने बताएका हुन् । 

नेपाली जनमत दुईवटा गठबन्धनका बिचमा विभाजित हुने उनले बताए । सम्मानित नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकतावद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताए ।

उनले भने, ‘यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलीय गठबन्धनमा छौँ । अब अर्कोपनि गठबन्धन चार दलीय गठबन्धन बन्छ कि । त्यो खालको अवस्था छ र दुईवटा गठबन्धनको बिचमा नेपाली जनमत विभाजित हुने स्थिति छ । हामीले संविधानमाथि, गणतन्त्रमाथि, संसदमाथि जुन खालका खतरा पैदा भए त्यो खतरालाई अहिले हामीले रोकेका छौँ । यो खतराबाट रोकिएको छ । मुलुक अपेक्षाकृत रुपले स्थिरतातर्फ अगाडी बढेको छ । संविधान हामीले बचाउन सकेनौँ भने देशलाई स्थिर ढंगले अगाडी लान सकिदैन । हिजो एक कालखण्डमा के थियो भने राजा रह्यो भने राज स्थिरताको फ्याक्टर हो भन्थे । अब त्यो त उन्मुलन भएर गइसक्यो । अहिले स्थिरताको फ्याक्टर भनेको हाम्रो संविधान हो । त्यो संविधानलाई हलचल गर्न नदिइकन त्यसलाई रक्षा गरेर लानु अहिलेको निम्ति, यो कार्यनीतिक कालखण्डको निम्ति एकदमै जरुरी भएको छ । त्यो कारणले संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि र गणतन्त्रको रक्षाका लागि हामीले यो पाँचदलीय गठबन्धन बनाउनुपर्ने एउटा बाध्यात्मक स्थिति खडा भयो । अब पनि यसलाई दृढतापूर्वक एकतावद्ध भएर जाने कुराहरुमा हामी सबैले निर्णय पनि गरिसकेका छौँ ।’

उनले गैर आवासीय नेपाली र नेपाली जनताको बीचमा प्राकृतिक सम्बन्ध रहेको बताए । आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मिय र घनिष्ठ बनाउनुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप