शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

दमक सपिङ कम्प्लेक्समा नगर विकास कोषले ४२ करोड ऋण लगानी गर्ने

बुधबार, १६ चैत २०७८, १२ : १५
बुधबार, १६ चैत २०७८

शहरी पूर्वाधार विकास आयोजना अन्तरगतको हालसम्मकै ठूलो आयोजना दमक सपिङ कम्प्लेक्समा नगर विकास कोषले ४२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । कुल ६१ करोड रुपैयाँ (अनुमानित) लागतको उक्त सपिङ कम्प्लेक्समा कोषले ४२ करोड रुपैयाँ ऋण प्रवाह गर्ने गरी हालैमात्र आयोजनासँग सम्झौता गरेको हो । 

‘दमक सपिङ कम्प्लेक्स’ आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको हो ।
कोषको नगरपालिकाहरूमा शहरी पूर्वाधारका आयोजनामा बढी भन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस्थित र सुविधा सम्पन्न शहरको निर्माण तथा विकासमा योगदान गर्ने उद्देश्य अनुरुप दमक नगरपालिकासँग सम्झौता गरेको जनाइएको छ । जसबाट  नगरवासीलाई  व्यवस्थित, सुरक्षित तथा आधुनिक प्रविधियुक्त सेवा सुविधा उपलब्ध गराउन लक्ष्य अनुसार दमक नगरपालिकाबाट उक्त कम्प्लेक्स निर्माण हुन लागेको जनाइएको छ ।
शहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजनाको लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बीच ४२ करोड ८० लाख रुपैयाँ रकमको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । 

‘दमक सपिङ कम्प्लेक्स’ आयोजना निर्माणको कुल अनुमानित लागत ६१ करोड १४ लाख रुपैयाँको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ । 
सम्झौता कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाको पनि उपस्थिती रहेको थियो । दमक नगरपालिकाको करिब आठ कठ्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई नगरपालिकाको महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ ।
सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखबाट यो आयोजना प्राविधिक दृष्टिकोणबाट बृहत अध्ययन पश्चात निर्माण हुन गइरहेकाले आयोजना गुणस्तरीय रुपमा आधुनिक प्रविधियुक्त आयोजनाको रुपमा सम्पन्न हुने कुरामा विश्वस्त रहेको जनाउँदै आयोजना समयमै सम्पन्न हुने प्रतिवद्धता समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप