चुनावी चुइगम
आगामी वैशाख ३० को निर्वाचनको मिति नजिकिएसँगै पछिल्लो समयमा हरेक सार्वजनिक कार्यक्रममा शीर्ष नेताहरू आआफ्नो पार्टी अबको निर्वाचनमा पहिलो हुने दाबी गर्दै आएका छन् । उनीहरू आफ्नो प्रतिबद्धता भन्दा पनि एकले अर्कोलाई कसरी नराम्रो देखाउने, कसरी पछार्ने भन्ने कुरामा व्यस्त छन् ।
नेताहरू एक अर्कालाई गर्ने गाली गलौचले चरम सीमा नाघिसकेको छ । राजनीतिज्ञमा हुनु पर्ने गुण, सम्मान, शिष्टता र भाषाको धज्जी उडेको छ । देशको समस्याको बारेमा, जनताको समस्याको बारेमा कुरा गर्ने भन्दा पनि कसले कसलाई धेरै गाली गर्ने, कसको गालीमा बढी ताली बज्ने भन्नेमै अधिकांश समय खर्च भइरहेको छ ।
अर्कोतिर अबको चुनाव जितेपछि हामी यसो गर्छौँ र उसो गर्छौँ भन्दै फेरि पनि जनतालाई नेताहरूले चुइगम बाँड्दै हिँडिरहेका छन् । कुरा त मीठा मीठा छन् तर सधैँको जस्तै त्यो मिठास धेरै समय टिक्ने छैन, तीतो भएर फेरि एक पटक जनताले त्यो चुइगम फाल्ने अवस्था आउनेछ ।
‘मैँ पो नराम्रो रैछु त, हामी नेता पो खत्तम रहेछम् त, कार्यकर्ता ठीक छन्, जनता ठीक छन्, अब हामी सुध्रिने छौँ,’ कोही यसरी जनता झुक्याइरहेका छन् त कोही ‘हामी पुनः नम्बर एक पार्टी बनेर सुखी नेपाली, समृद्ध नेपाल अभियानलाई सफल पार्नेछौँ, विकासको गतिलाई अगाडि बढाउने छौँ,’ भन्दै जनतालाई पुनः उल्लू बनाइरहेका छन् । यस्ता कुरा गरेर जनता झुक्याउने कहिलेसम्म ? यसरी कहिले आफ्नो विरोध आफै गरेर अनि कहिले चिप्ला कुरा गरेर फेरि पनि जनता मक्ख पार्ने होड नेताहरूमा चलिरहेको छ ।
चुनाव मुखैमा हुँदा जनतालाई आश देखाउने प्रवृत्ति यो पटक पनि देखिएको छ । यो पटक त अझै नेताहरूले दिमागी खेल खेलिरहेका छन् । उनीहरूलाई थाहा छ, अघिल्लो पटक जनताले दिएको बहुमतको कदर गर्न नसक्दा आज देश अलपत्र परेको छ । त्यसैले पुनः जनतालाई विश्वासमा लिन कठिन छ । यसैकारण यो पाली चुनाव आउनु धेरै अगाडिबाटै चुनावी प्रचार प्रसार कार्यक्रम सुरु भइसकेको छ ।
जनताले अत्यधिक मत दिएर ५ वर्ष स्थिर सरकार चलाऊ भन्दै गर्दा न त अहिले जनताको मतको सम्मान भइरहेको छ, न त जनताका समस्याको समाधान नै भएका छन् । बरु सत्तामा आएपछि को भन्दा को कम भन्ने होडबाजी नै चल्यो । कुर्सीका लागि हारालुछ चल्यो । एकजना आफ्नो शक्ति बढाउनतिर लाग्ने, अर्को भने कसरी शक्ति बढाउन नदिऊँ भन्नेतिर लाग्ने । साँच्चै नै जनताले दिएको बहुमत त बाँदरका हातमा नरिवल सरह बनेको छ । यति मात्र कहाँ हो र, जनताले दिएको मतको वेवास्ता गर्दै जनताले ५ वर्ष प्रतिपक्षमा बस्न भनी फैसला गरी पठाएको पार्टीलाई सत्तामा आउन बाध्य बनाइएको छ ।
इतिहासकै स्वर्णिम अवसर पाएको अवस्थामा पनि कम्युनिस्ट सरकारले जनताको इच्छा र चाहनाअनुरुप काम गर्न सकेन । अधिकांश समय गालीगलौज र खिचातानीमै बित्यो । हिरो बनेर सिंहदरबार छिरेको पार्टी, निस्कँदा जिरो भन्न समेत लायक रहेन । पार्टीकै नामोनिशान मेटियो । पार्टी टुक्रा टुक्रा भयो । कोई कता, कोई कता छिन्नभिन्न अवस्थामा छन् । जनताको मतको कदर नगरी पार्टी र देश यो अलपत्र अवस्थामा आइ पुग्न नेकपाका सम्पूर्ण शीर्ष नेताहरू दोषी छन् ।
अहिले सत्तामा रहेको काँग्रेसको हाल पनि उस्तै छ । सत्तामा गएको १ हप्ता त केही राम्रा कामहरूको सुरुवात गरेर सबैलाई अचम्मित तुल्याएको थियो । तर ५ जना दाजुभाइ सँगै सधैँ मिलेर कहाँ बस्न सक्छन् र । एउटाले यसो गरौँ भन्छन्, अर्कोले उसो गरौँ भन्छन् । एमसीसी परियोजना संसद्बाट पारित गर्ने चक्करमा त झण्डै यी दाजुभाइ टुक्रिसकेका नै थिए ।
आउँदै गरेको चुनावमा नेकपाको हर्कत देखेर भए पनि जनता यसपटक काँग्रेसलाई जिताउन चाहन्थे होलान् तर ५ गठबन्धनबाट बनेको काँग्रेस नेतृत्वलाई सरकार न त निल्नु न त ओकल्नु भएको छ । गठबन्धन बचाउनकै लागि यस सरकारले अघिल्लो सरकारको नराम्रा कार्यलाई नै निरन्तरता दिँदै बरु अझ त्यसमा केही थपथाप गरेको छ, जसले गर्दा २ महिनामै यो सरकारले असक्षम सरकारको ट्याग पाइसकेको थियो । हालसम्म आइपुग्दा पनि यस सरकारले अघिको सरकार भन्दा राम्रो खास केही गर्न सकेको छैन । बरु अब संसद् चल्न नसकेको भन्दै जति सक्दो चाँडो चुनाव गराउन चाहन्छ । अघिल्लो सरकारको जुन कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनिएको थियो, त्यही कदम यो सरकारले चाल्न खोजिरहेको देखिन्छ ।
यी तथ्यलाई हेर्दा अबको चुनावमा ३ ठूला पार्टीलाई नै जनतालाई आफ्नो विश्वासमा ल्याउन हम्मे हम्मे पर्ने देखिन्छ । यसैकारण चुनावी मैदानमा खेल सुरु नहुँदै नेताहरू जलझेल खेलका लागि कडा प्रशिक्षण गरिरहेका छन् । तर स्थानीय निकायको चुनावमा त अझ जनताले धेरै गहिरिएर, बुझेर भोट हाल्न जरुरी छ । किनभने स्थानीय तहको विकास त्यहाँका जनताले जिताएका प्रतिनिधिको क्षमता र इमान्दारिता अनुसार हुनेछ । पछिल्लो पटक लगभग सबै प्रतिनिधिहरूले स्थानीय जनताले अपेक्षा गरेअनुरुप विकासका कार्यक्रम अगाडि बढाउन सकेनन् । उदाहरणीय काम गर्ने प्रतिनिधिहरू एकदमै न्यून थिए, जसले असल प्रतिनिधि चिन्न र जिताउन सके स्थानीय तहमा विकासको लहर ल्याउन सकिन्छ भन्ने उदाहरण दिए ।
जनता अब नेताहरूको चलखेलको सिकार बन्नु हुँदैन । यो पटक धेरै बुझेर, नेताहरूको मीठो गफमा मक्ख नपरी, जालझेलमा नपरी क्षमतावान्, कुशल र इमानदारलाई भोट हाल्नुपर्छ । वर्षौँदेखि लगभग सबै किसिमका पार्टी र नेतालाई नेपाली जनताले जिताइसकेका छन् तर विडम्बना नतिजा उस्तै छ । जनताको मुद्दाभन्दा व्यक्तिगत स्वार्थमा उनीहरू निहित हुन्छन् । यसकारण धेरै नराम्रा मध्येबाट छानेर कम नराम्रालाई जिताउनु नै नेपाली जनताको अहिलेको विकल्प छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरूसँग छलफल
-
पहिलो दिनको अक्सनबाट कुन खेलाडी कति रकममा कुन क्लबमा आबद्ध भए ?
-
बिहेको अफवाहबिच मनिष मल्होत्राको घरमा किन पुगे तमन्ना–विजय ?
-
धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भएकाहरू को कस्तो ?
-
आइतबार शुल्क तिरेर ६६३ जनाले चढे धरहरा
-
एनिमल र सञ्जूमाथि पाएको आलोचनाबारे रणबीर कपूरले के भने ?