बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरमा प्रज्ञा प्रतिष्ठान गठन

बुधबार, १६ चैत २०७८, ०७ : ३४
बुधबार, १६ चैत २०७८

भरतपुर महानगरमा प्रज्ञा प्रतिष्ठान गठन भएको छ । महानगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूलाई शपथ खुवाएकी हुन् । प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नगर प्रमुख र प्रज्ञा सभा सदस्यहरूमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, एकजना वडा अध्यक्ष सहित तीनजना कार्यपालिका सदस्य र नगर शिक्षा अधिकारीसमेत गरी ३१ सदस्यीय प्रज्ञा सभा गठन भएको हो ।  

गत पुस ८ गते सम्पन्न महानगरको दसौँ नगरसभाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेसँगै प्रतिष्ठान गठन गर्ने कानुनी आधार खुलेको थियो । ऐनबमोजिम प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको र समितिले सिफारिस गरेका व्यक्तिहरूमध्येबाट नगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू मनोनयन गरेकी हुन् ।

महानगरपालिकाले यहाँको भाषा, साहित्य, कला, संस्कृतिको उत्थान र श्रीवृद्धिको लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको महानगर प्रमुख रेनु दाहालले बताइन् । प्रज्ञा प्रतिष्ठानको कार्यालय महानगरमै रहने र आगामी दिनमा यसका लागि आवश्यक बजेट समेत विनियोजन हुने दाहालले बताइन् ।

साहित्यकार इन्द्रप्रसाद रेग्मीलाई प्रतिष्ठानको उपकुलपति मनोनीत भएका हुन् । त्यस्तै साहित्यकारहरू केदारनाथ खनाल, प्रकाश चापागाईं र विष्णुदेवी तिवारी उषालाई प्रज्ञा परिषद्को सदस्यमा मनोनीत गरेकी छन् ।  

यसैगरी महानगरले प्रज्ञा सभा सदस्यहरूमा अमृता रामदाम, डा एकनारायण पौडेल, एल बी क्षेत्री, प्रा डा कर्ण बाँनिया, डा केशवराज चालिसे, किसान प्रेमी, गायत्री श्रेष्ठ, डा धनेश्वर भट्टराई, प्रा डा नारायणप्रसाद खनाल, पूर्णबहादुर अधिकारी, पोषराज पौडेल, भूपेन्द्र खड्का भूपिन, रमाकान्त सापकोटा, रामहरि श्रेष्ठ, शशीकिरण रेग्मी रह शर्मा, श्रीराम महतो, सुरेन्द्र अस्तफल, हरि योञ्जन र होमनाथ भण्डारीलाई मनोनयन गरेको छ ।

महानगरपालिकाले कार्यपालिका सदस्यहरू मध्येबाट वडा नम्बर २५ का वडाध्यक्ष विजय भुजेल र कार्यपालिका सदस्यहरू चक्र रूचाल र पवित्रा केसीलाई प्रज्ञा सभा सदस्यमा मनोनयन गरेको छ ।

यसैगरी प्रज्ञा परिषद र प्रज्ञा सभाको सदस्य सचिवमा महानगरका अधिकृत छैटौँ बालकृष्ण थपलियालाई मनोनयन गरिएको हो ।कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले महानगरले पूर्वाधार विकास मात्रै नभई साहित्य भाषा संस्कृति र कलाको समेत प्रवर्द्धन र विकास गरेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप