कतार विश्वकपको ड्र : सम्पूर्ण जानकारी
२२औं संस्करणको कतार विश्वकप २०२२ को अन्तिम ड्र अप्रिल १ मा हुँदैछ । शुक्रबार हुने ड्रका लागि विश्व फुटबल नै प्रतिक्षामा छ ।
विश्व फुटबलको सर्वाेच्च निकाय फिफाका अनुसार कतारको दोहामा हुने ड्र नेपाली समय अनुसार ११ः४५ मा सुरु हुनेछ । विश्वकपमा छनोटभएका टिमहरु ८ समूहमा बाँडिनेछन् । प्रतियोगिताको आयोजक समितिले स्वीकृत गरेको कार्यविधिले अन्तर्राष्ट्रिय खेलको समापनपछि मार्च ३१ मा जारी फिफा÷कोका–कोला पुरुषको विश्व वरीयतामा आधारित रहेर खेलकुद सिद्धान्त अनुसार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिने छ ।
जसमा आयोजकको रुपमा कतारले पोजिसन ए वान बाट पोट १ मा स्थान लिनेछ । कतार विश्व वरीयताको शीर्ष सात टोलीहरुसँग सामेल हुनेछ । जसमा ८ देखि १५ औं स्थानको वरीयतामा रहेका टोली पोट २ मा रहनेछन् । त्यस्तै १६ देखि २३ औं वरीयतामा रहेका टोलीहरु पोट ३ मा राखिनेछन् ।
त्यस्तै पोट ४ मा २४ देखि २८ औं स्थानका वरीयताको टोलीहरु राखिनेछन् । यसै पोटमा अन्तरमहादेशीय प्ले–अफका विजेताहरु र यूईएफए प्ले–अफको विजेताहरू सामेल हुनेछन् । सामान्यतया २०२२ को विश्वकप समरमा हुने तालिका थियो । कतारमा हुने गर्मिका कारण तालिका पछि सरिएको थियो । नोभेम्बर २१ बाट सुरु हुने विश्वकपको फाइनल खेल डिसेम्बर १८ मा हुनेछ ।