शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

अभिनेता स्मिथले कार्यक्रम प्रस्तोता क्रिश रकसँग मागे माफी

मङ्गलबार, १५ चैत २०७८, २० : ०७
मङ्गलबार, १५ चैत २०७८

अभिनेता विल स्मिथले ओस्कर्स पुरस्कार वितरण समारोहमा आफूले प्रस्तोता क्रिश रकलाई थप्पड हान्नु गलत भएको भन्दै माफी मागेका छन् ।  उनले एक विज्ञप्ति जारी गर्दै भने, “क्रिश, म तिमीसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु । मैले सीमा नाघेर व्यवहार गरेँ र म गलत थिएँ ।”

ओस्कर्स फिल्म एकेडेमीले स्मिथको व्यवहारको भत्र्सना र घटनाबारे औपचारिक समीक्षाको घोषणा गरेपछि उनले माफी मागेका हुन् । हास्य कलाकार क्रिशले आफ्नी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेपछि चर्चित अभिनेता स्मिथले क्रिसको गालामा थप्पड हानेका थिए ।

क्रिशले पिङ्केट स्मिथको कपाल झर्ने समस्या, एलोपेसियाको कारण मुडुलो बनाएको टाउकोप्रति लक्षित ठट्टा गरेका थिए । उनले भनेका थिए, “आई लभ यु जाडा । म जीआई जेन–२ को प्रतीक्षामा छु ।” जीआई जेन सन् १९९७ को हलिवुड फिल्म हो जसमा फिल्मकी प्रमुख नायिकाले शिर मुण्डन गरेकी थिइन् । घटनाको केही क्षणपछि अभिनेता स्मिथले किङ रिचर्ड नामक चलचित्रमा ख्यातिप्राप्त टेनिस खेलाडीहरू भिनस र सेरेना विलियम्सको बुबाको भूमिका निर्वाह गरेकोमा ओस्कर पुरस्कार जितेका थिए ।

“हिंसाको हरेक स्वरूप विषाक्त र विनाशकारी हुन्छ,” स्मिथले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ । “गत राति एकेडेमी अवार्डमा मैले गरेको व्यवहार अस्वीकार्य र अक्षम्य छ ।
ममाथि हुने ठट्टाहरू मेरो कामको एउटा अंश हो तर जाडाको स्वास्थ्य अवस्थाप्रति गरिएको ठट्टा असह्य थियो र मैले भावनात्मक रूपमा प्रतिक्रिया जनाएँ ।” स्मिथले आफ्नो व्यवहारले ‘सीमा नाघेको’ भन्दै रक, एकेडेमी र विलियम्सको परिवारसँग पनि माफी मागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप