शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

निर्माण सामाग्रीको मूल्यवृद्धिका कारण निर्माण उद्योग धराशायी : महासंघ

मङ्गलबार, १५ चैत २०७८, १८ : २१
मङ्गलबार, १५ चैत २०७८

इन्धन लगायतका निर्माण सामाग्रीहरूमा अत्यधिक मात्रामा भएको मूल्यवृद्धिका कारण मुलुकको निर्माण उद्योग धराशायी भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । सोमबार राजधानीमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने बताए ।

मूल्यवृद्धि नियन्त्रण सहित राष्ट्रिय भेलाले गरेका निर्णयहरू आगामी एक हप्ता भित्र (चैत्र २४) कार्यान्वयन नभए महासंघ आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने अध्यक्ष सिंहले बताए । यही बिहीबार दिउँसो १ः०० बजे केन्द्रमा महासंघले नेपाल सरकारका मुख्य सचिवलाई, प्रदेश महासंघले प्रदेश प्रमुखको कार्यालय र जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय भेलाले पारित गरेका निर्णयहरू कार्यान्वयनका विषयमा ज्ञापन–पत्र बुझाउने महासंघले जनाएको छ । 

निर्माण सामाग्रीमा भएको शतप्रतिशत मूल्यवृद्धिसँगै बजारमा तिनको अभाव र कालोबजारी समेत सुरु भएको अध्यक्ष सिंहले बताउनुभयो । मूल्यवृद्धिको समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम सबै आयोजनाहरूमा व्यवसायीले मूल्यवृद्धि पाउने गरी २०६५ सालमा जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक मागदर्शन नं.–२ तुरुन्त जारी गर्नु पर्ने महासंघको माग छ ।  यसरी मागदर्शन जारी नभएको खण्डमा मूल्यवृद्धि नियन्त्रण नभए सम्मको अवधिलाई गणना हुने गरी नेपाल सरकारले ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने महासंघका अध्यक्ष सिंहले बताउनुभयो । सार्वजनिक खरिद  नियमावली, २०६४ को एघारौँ संशोधनको त्रुटि सच्याएर मुलुकको निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन महासंघले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप