काश्मिर, ‘काश्मिर फाइल्स’ सिनेमा अनि काश्मिरी पण्डितको त्यो दुःखान्त
विवेक रञ्जन अग्निहोत्री निर्देशित फिल्म ‘द काश्मिर फाइल्स’ भर्खरै रिलिज भएको छ । नब्बेको दशकको सुरूवाततिरै भएको काश्मिरी हिन्दू पण्डितहरूको नरसंहार र नरसंहारपछि काश्मिरबाटै पलायन हुनुपर्ने त्यो दुर्दान्तलाई फिल्मले मुद्दा बनाएको छ । फिल्मको रिलिज सँगसँगै भारत लगायत सिंगो दक्षिण एसियाभर यसको पक्ष र विपक्षमा बहस सुरू भएको छ । विगत तीस वर्षदेखि पुत्पुताइरहेको भुसको आगो डढेलो बनेर सतहमा आइपुगेको छ ।
फिल्मको कुरा पछि गरौँला । पहिला अलिकति काश्मिरको इतिहास बुझौँ । भारतको उत्तर पश्चिम पाटोमा थुपुक्क सिरान लागेर बसेको सुन्दर हिमाली राज्य हो काश्मिर । प्राकृतिक रूपमा सुन्दर । तर भूगोल र प्रकृति जति सुन्दर र मोहक छ, त्यो भन्दा कुरूप र जर्जर छ, यसको इतिहास र वर्तमान । कहिले मुगल, कहिले पठान, कहिले सिख त कहिले हिन्दू, विभिन्न समयमा विभिन्न थरिका शासक र सिंहासनद्वारा शासित भइरह्यो काश्मिर । जसरी अनेकौँ राज्यहरू बन्छन् र भत्किन्छन्, ठिक त्यस्तै नै नियति काश्मिरले पनि भोगिरह्यो । निर्माण र विनिर्माण भइरह्यो । अनेकौँ युद्ध र कठिनाइहरूबाट गुज्रिरह्यो ।
सन् १८४६ को अंग्रेज–शिख युद्ध, शिख साम्राज्यको हार अनि लाहौर सन्धिपछि बल्ल काश्मिर एक स्वतन्त्र राज्यका रूपमा उभिन सक्यो । तर, अंग्रेजसँग बफादारी निभाउने शर्तमा । महाराजा भनिए पनि रजौटाका हैसियतमा गद्दीमा बसेका थिए राजा गुलाब सिंह । तत्कालीन अवस्थामा अंग्रेजको यो निर्णय उसको स्वार्थप्रेरित थियो । तर बहुसंख्यक जनता मुसलमान हुनु र हिन्दू राजालाई गद्दीमा बसाउनुले सय वर्ष पछि गएर त्यही काश्मिर रणमैदान हुने आँकलन सायदै कसैले गरेको थियो होला । यसरी गुलाब सिंहबाट सुरू भएको हिन्दू राज्य काश्मिर महाराजा रणवीर सिंह, प्रताप सिंह हुँदै हरि सिंहसम्म आएर टुंगियो, सन् १९४७ को भारत विभाजनसम्म ।
भारत विभाजन र काश्मिरको अंशबण्डा
भारतबाट ब्रिटिश राजको अन्त्यसँगै भारत स्वतन्त्र भयो । भारतसँगै पाकिस्तानको पनि जन्म भयो । तर खण्डित भारतलाई आजको विशाल भारत बन्न अझै केही समय पर्खनै थियो । तत्कालीन समयका पाँच सय भन्दा बढी भुरे–टाकुरे राज्यहरूलाई मिलाउनु कठिन थियो । हुन त भारतीय स्वतन्त्रता अधिनियम अनुसार ती राज्यलाई भारत–पाक मध्ये एकमा विलय हुने अथवा स्वतन्त्रै रहने भन्ने अधिकार तत् तत् राज्यका रजौटाहरूलाई दिइएको थियो । तर व्यवहारिक रूपमा हेर्दा दुइ ठुला राज्यको चेपमा बसेर स्वतन्त्र रहनु मुस्किल थियो । भारतका लागि अन्तिम भाइसरोय लर्ड माउन्टबेटनले समेत राज्यहरूलाई स्वतन्त्र रहन कठिन हुने धारणा राखिसकेका थिए ।
यता काश्मिरको अवस्था फरक थियो । एक त बहुसंख्यक जनता मुसलमान, राजा हिन्दू । भारत या पाकिस्तान कतापट्टि जाने अन्यौल त छँदै थियो, त्यो भन्दा चर्को अन्यौल स्वतन्त्रताका लागि थियो । राजा हरि सिंह पनि सायद यही चाहन्थे कि काश्मिर स्वतन्त्र रहोस् । तर तत्कालीन भूराजनीतिका कारण स्वतन्त्रता संभव थिएन । भारत या पाकिस्तानले जुनसुकै बेला पनि सेना पठाएर काश्मिरलाई कब्जा गर्ने संभावना प्रबल थियो ।
आखिरमा काश्मिर भारतमा विलय भएरै छाड्यो । विलयको सन्धि (इन्स्ट्रमेन्ट अफ एक्सेसन) मा दस्तखत गर्दै राजा हरि सिंहले भारतको राष्ट्रियता स्वीकारी दिए । तर विलयपछि काश्मिरले अरू दुःख झेल्यो । जुन अझ बढी भयानक, विखण्डित र सम्हाल्नै नसकिने थियो । काश्मिरमा भारतको प्रवेशसँगै पाकिस्तान र चीनको समेत स्वार्थ जोडिएको थियो । सुरक्षा र संवेदनशीलता जोडिएको थियो । त्रिदेशीय तनाव र स्वतन्त्र काश्मिरको मुद्दाले काश्मिर रणमैदान बन्दै थियो । पटक पटकका तनाव, युद्ध र संघर्षले काश्मिर टुक्रिँदै गयो ।
अन्ततः जम्मु काश्मिर उपत्यका र लद्दाख सहितको ६०५ भूभाग भारतमा, गिल्गिट बल्तिस्तान र स्वतन्त्र काश्मिर समेतको ३०५ भूभाग पाकिस्तान र अक्साइ चीनका रूपमा १०५ भूभाग चीनमा पर्ने गरी सिंगो काश्मिर तीन टुक्रामा अंशबण्डा भयो । विशाल अनि स्वतन्त्र काश्मिरको अस्तित्व यसरी कहिल्यै नफर्किने गरी बिलायो ।
काश्मिरी पण्डितको त्यो दुर्दान्त
काश्मिरको इतिहास यति जटिल र जेलिएको छ कि त्यसलाई कुनै किताब, फिल्मले वर्णन गर्न सक्दैन । अझ काश्मिरी पण्डितको त्यो दुःखान्त र त्रासदी अरू सघन छ, जसलाई जो कोहीले जसरी व्याख्या गरे पनि निकास भेट्न सकिन्न ।
भारत विभाजन र त्यसपछि उत्पन्न तनाव । तनावपछि टुक्रिएको काश्मिर र त्रिदेशीय स्वार्थ । स्वतन्त्र काश्मिरको आन्दोलन र काश्मिरमा सुरू भएको ध्रुबिकरण लगायत विषयमा माथि चर्चा गरियो । भारतीय स्वतन्त्रता पछिको काश्मिर विभाजनले सिंगो भारतीय राजनीतिलाई नै प्रभाव पारिरहेथ्यो, जुन काश्मिरी पण्डितमाथिको बर्बरताले अरू गिजोलियो ।
काश्मिर एक टाइम बम बनेको थियो । जो सन् १९९० को दशकमा आइपुग्दा पड्किन ठिक्क थियो ।
काश्मिरका प्रभावशाली नेता शेख अब्दुल्लाहको सन् १९८२ मा निधनपछि अर्को वर्ष १९८३ मा निर्वाचन गराइयो । अब्दुल्लाहकै छोरा फारूक अब्दुल्लाह चुनाव जितेर काश्मिरको बागडोर सम्हाल्न आइपुगे । तर सत्तामा राम्ररी बस्न नपाउँदै उनको पार्टी नेशनल कन्फरेन्स विभाजित भयो । फारूक सत्ताबाट हट्न बाध्य भए र गुलाम मोहम्मद शाहको उदय भयो । राजनीतिक अस्थिरता बढ्दै जाँदा र दिल्लीबाट केन्द्र सरकारको हस्तक्षेप भइरहँदा काश्मिरमा अरू निराशा, कुण्ठा र उत्तेजना थपिन्छ । स्वतन्त्र काश्मिरको मुद्दा फेरि सतहमा आउँछ ।
स्वतन्त्र काश्मिरका लागि संघर्षरत संगठन जम्मु एण्ड काश्मिर लेबरेसन फ्रन्ट (जेकेएलएफ) ले यो मुद्दालाई आतंकतर्फ लिएर जान्छ । जनताको समर्थन जुटाउन थाल्छ । जुन मुद्दा धेरै वर्षदेखि दबेर रहेको थियो, त्यो फेरि एकाएक बन्दुक भिरेर मैदानमा उत्रिन्छ । आतंकको अर्को रुप त त्यो बेला देखिन्छ, जब अयोध्यामा बाबरी मस्जिदको ताला तोडिन्छ र रामनामको पूजापाठ सुरू हुन्छ । यसले काश्मिरलाई अरू विभाजित बनाउँछ । काश्मिरमा रहेका हिन्दू मन्दिरहरूमा आक्रमण हुन थाल्छ । अन्ततः त्यहाँ वर्षौदेखि बसेका काश्मिरी पण्डितहरूलाई निशाना बनाउन थालिन्छ । पण्डितका पसल, घर अनि सम्पत्तिमाथि आक्रमण सुरू हुन्छ । सत्ता सम्हालेका गुलाम मोहम्मद शाह दंगा रोक्न असफल हुँदै जान्छन् । यसै बीचमा केन्द्र सरकारको लगातारको हस्तक्षेप र शाहको असक्षमताका कारण उनलाई सत्ताबाट हटाइन्छ । र, पुनः फारूक अब्दुल्लाहलाई मुख्यमन्त्री बनाइन्छ । लगत्तै चुनावी नाटक सुरू हुन्छ । दंगाकै बीचमा गराइएको चुनावमा फारूक अब्दुल्लाहको पार्टीले नै जित्छ । तर अवस्था भने उस्तै रहन्छ । विद्रोह खनि दंगा जारी रहन्छ । काश्मिर यसरी विभाजित हुन्छ कि बहुसंख्यक युवाहरू स्वतन्त्र काश्मिरका लागि लड्न बन्दुक उठाउन थाल्छन् ।
इतिहास हेर्ने हो भने ध्रुविकरणका लागि एउटै अस्त्र धेरै पटक प्रयोग भएको पाइन्छ, त्यो हो डर । धर्मको डर, सम्प्रदायको डर, अल्पमत–बहुमतको डर, उनीहरू रहेसम्म हामी रहँदैनौँ भन्ने डर । चाहे जुनसुकै राष्ट्र हुन् या मसिना कबिला समाज । चाहे भारत होस् या भुटान । डरको प्रकृति फरक होला तर आत्मा उही । यही डरको राजनीति काश्मिरमा पनि जोडतोडका साथ प्रयोग गरिन्छ । डरसँगै भ्रम जोडिन्छ । अनि भ्रमको खेतीले उब्जाउँछ, प्रोपोगान्डाको राजनीति । पण्डित रहेसम्म काश्मिर स्वतन्त्र हुँदैन भन्ने भ्रम फैलाइन्छ । डर र भ्रमकै बीच जनमत एकाएक यसरी विभाजित हुन पुग्छ कि त्यसले अन्ततः बदलाको रूप लिन्छ । र, बिस्तारै पण्डित सफायामा ढल्किन थाल्छ । बीजेपीका काश्मिरी नेता टीकालाल टप्लु, रिटायर्ड जज निलकान्त गन्जु अनि पत्रकार वकिल प्रेमनाथ भट्ट लगायतका हाइ प्रोफाइलहरूको छानी छानी हत्या हुन्छ । यो हत्या आतंकले काश्मिरलाई ठिक दुई चिरामा विभाजित बनाइदिन्छ । डरको माहौल यस्तरी विकसित हुन्छ कि चाहे मुसलमान हुन् या हिन्दू दुवैमा लड्नु, भाग्नु या मर्नुबाहेक अर्को विकल्प रहन्न ।
१९ जनवरी १९९० राती फारूक अब्दुल्लाहको सत्ता ढल्छ । राष्ट्रपतिको आदेशमा गभर्नर रूल लागु हुन्छ । यता पाकिस्तानी खुफियाको ठाडो समर्थन र सहयोगमा स्वतन्त्र काश्मिरका लडाकुहरू सक्रिय हुन थाल्छन् । बन्दुक बोकेका लडाकुहरूले सडक ढाकिन्छ । काश्मिरका मस्जिदहरूमा लाउड स्पिकरका साथ अखण्ड आजान बज्न थाल्छ । सडकमा पाकिस्तान समर्थित नारा लाग्न थाल्छ । चोक चोकमा स्वतन्त्र काश्मिरको भाषण रन्किन्छ । अनि वर्षिन थाल्छ, हिन्दूलक्षित भड्किला अनि उत्तेजक गाली । र, यो सबैको बीच सरकार भने लाचार भइ मुकदर्शक बनेर हेरिरहन्छ । काश्मिरी पण्डितहरूका लागि झिनो आशा समेत बाँकी रहन्न । निरन्तरको आक्रमण, बलात्कार र हत्याको शृङ्खला चलिरहँदा सरकार लाचार हुन्छ, हार गुहार लाउने ठाउँ समेत बाँकी रहन्न ।
२० जनवरीका दिन पहिलो समूह बाहिरिन्छ, काश्मिरी पण्डितहरूको । सिंगो काश्मिरी पण्डित समुदायको आधाभन्दा बढी जनसंख्या दुइ दिनमा निस्किन्छ । हत्या, बलात्कार र लुटपाटको शृङ्खला चलिरहन्छ । गोली चलिरहन्छ, नारा लागिरहन्छ । पण्डितको पलायन रोक्न अगाडि बढ्ने आँट समेत कसैले गर्दैन । न सरकार, न जनता । सबै लाचार ।
काश्मिर फाइल्स–२०२२
काश्मिरको यो त्रासदीबारे हजारौँ लेख, सयौँ किताब लेखिए । फिल्ममा, गीतमा, कवितामा वर्णन गरिए । राजनीति घुस्यो, नेताहरूको भाषणमा बारम्बार उच्चारण पनि भइरह्यो । तर उता सिनेमा जगत भने यो विषयमा प्रायः मौन नै देखियो । अझ भारतको ठूलो सिनेमा उद्योग भनिने बलिउडले त कहिल्यै त्यो नरसंहार र पलायनबारे ध्यान नै दिएन ।
त्यसो त काश्मिरबारे बलिउडमा धेरै सिनेमा बनेका छन् । काश्मिर कि कलीदेखि लिएर हैदर, रोजा, सिकारा लगायत जोड्ने हो भने सूची लामै हुन सक्छ । तर प्रायः सिनेमाले युद्ध देखाए, काश्मिरको आतंक देखाए । या त अल्मलिए प्राकृतिक सुन्दरतामा, जो रोमान्समा सुरू भएर रोमान्समै सकिन्थ्यो । आतंकवाद र रोमान्समै अल्झिएको बलिउडले त्यही राजनीतिक चस्माले काश्मिरलाई हेर्यो, जुन दिल्लीले सिंगो भारतलाई लगाइदिएको थियो, राष्ट्रवादको चश्मा । अझ काश्मिरीका प्रत्येक अनुहारमा आतंकवादी देख्ने बलिउडले काश्मिरको भूराजनीतिक अवस्थाका बारेमा चासो नै राखेन । बीचमा हैदर र सिकारा जस्ता केही फरक सिनेमा त बने तर तिनले देखाएका कथा र बोकेका मुद्दाले काश्मिरी पण्डितको त्यो संवेदना छुन सकेनन् ।
पछिल्लो समय रिलिज भएको फिल्म ‘द काश्मिर फाइल्स’ले यसै मुद्दालाई केन्द्रमा राखेर त्यो संवेदनालाई गोडमेल गर्ने कोशिस गरेको छ । बलिउड सिनेमामा दुर्लभ हुँदै गएको कन्टेन्ट र कथालाई काश्मिर फाइल्सको रिलिजले उर्जा भने दिएको छ ।
विवेक अग्निहोत्री निर्देशित यो फिल्ममा अनुपम खेरले मुख्य भूमिका निर्वाह गरेका छन् । आफ्नो लामो करियर अवधिमा अक्सर सहायक भूमिकामा देखिएका खेर यस फिल्ममा भने गज्जबसँग पोस्टर मेन बन्न सफल भएका छन् । साथमा छन् कलाकारहरू मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी लगायत । हरेक कलाकार उम्दा छन् । उम्दा कलाकारले उम्दै अभिनय गरेका छन् । निर्माणको हिसाबले पनि फिल्मले गतिलै रिभ्यु पाएको छ ।
काश्मिरको सुन्दरतादेखि, राजनीति, समाज, धर्म, प्रेम, युद्ध, आतंकलगायत अन्य मसिना मसिना कुरा पनि फिल्मले गजबले प्रस्तुत गरेको छ । फिल्मलाई हदैसम्म यथार्थको नजिक लैजान खोजिएको छ । निर्देशक अग्नीहोत्रीले यो विषयमा राम्रै अध्ययन गरेको देखिन्छ । र त फिल्मले कथाको धरातल छाडेको छैन, इतिहासको गलत व्याख्या छैन । जे भन्नुपर्ने, जति भन्नुपर्ने र जसरी भन्नुपर्ने हो फिल्मले कथालाई त्यो सिमाभन्दा बाहिर जान दिएको छैन । केही मसला जरूर छन् तर फिल्मका लागि सुहाउने छन् । जति चल्छ, पच्छ र बिक्छ, त्यति नै मसला राखिएको छ । मुख्य कुरा हो मुद्दा र मुद्दा बोकेको कथा । त्यो कुरामा फिल्म ठिकठाक छ, तारिफयोग्य छ ।
समस्या कहाँ त ?
सिनेमा आफैमा एक कला हो भने कला कहिल्यै सही त गलत भन्ने हुन्न । कलाको आफ्नै सुन्दरता हुन्छ, आफ्नै गुण, अवगुण हुन्छ । संवेदना फरक हुन सक्छ, भावना फरक हुन सक्छ । बरू गलत हुन सक्छ कला प्रस्तुत गर्ने व्यक्ति, सुन्ने, हेर्ने दर्शक श्रोता । सिनेमामा पनि त्यो कुरा लागु हुन्छ । को निर्देशक हो, को कलाकार हो भन्ने कुराले सिनेमाको दवाव र प्रभाव मूल्याङ्कन गर्न सकिन्छ । अझ स्पष्ट भन्नुपर्दा निर्देशकको उद्देश्य र उसको पृष्ठभूमिले सिनेमालाई धेरै प्रभाव पारिराखेको हुन्छ ।
काश्मिर फाइल्स आफैँमा कुनै समस्या हैन । वर्षौंसम्म इतिहासका पानाहरूमा मडारिँदै बसेको मुद्दालाई टपक्कै टिपेर फिल्म बनाइएको छ । फिल्मले जे देखाएको छ, सायद त्यो देखाउनै पर्ने हुन्थ्यो । सामान्य जनताले समेत बुझ्ने भाषामा भन्नै पर्ने हुन्थ्यो । तर फिल्म रिलिजपछि जुन हिसाबले सिंगो भारत तातिएको छ र जुर्मुराएको छ, त्यसलाई कसरी लिने ? जसरी सिनेमामा राजनीति घुस्रिएर गिजोलिरहेको छ, त्यसलाई कसरी लिने ?
भारतको राजनीतिमा सन् २०१४ यताको परिदृश्य फरक छ । हिन्दूत्व जागरणका नाममा घृणाको राजनीति छ । राष्ट्रवादको नशाले सिंगो भारत मस्त लठ्ठिएको छ । अनि त्यही राष्ट्रवादको मियोका रूपमा रहेको काश्मिरलाई घुमाई घुमाई सतहमा ल्याइँदै छ, त्यसलाई कसरी लिने ? भाजपा जस्ता दल विशेषहरू जसरी ज्यान दिएर फिल्मको प्रचारमा लागेका छन् । कतै कर छुटको रूपमा त कतै फ्रि टिकटका रूपमा फिल्मको प्रमोशन हुनु । त्यो नि भाजपा जस्ता राजनीतिक दलहरूबाट, त्यसलाई कसरी लिने ?
चरम पीडा र त्रासद निर्वासनबाट गुज्रिएको एउटा समुदायको आवाज बोकेको भन्ने सिनेमा किन धार्मिक ध्रुबिकरणतर्फ बढ्दै छ ? काश्मिरमा पण्डित मात्रै छैनन्, जसको इतिहास निर्मम छ । त्यहाँ अरू समुदाय पनि छन्, जो आज पर्यन्त बम बारूदका बीच डरैडरमा बाँच्न विवश छन् । सायद फिल्म र फिल्मका प्रमोशनमा हात धोएर लागेकाहरूले त्यसलाई नजरअन्दाज गरिरहेका छन् । यस्ता यावत प्रश्नहरूको कारण खोज्न अन्त कतै जानु पनि पर्दैन । निर्देशक कलाकारहरूको पृष्ठभूमि र उनीहरूको आइडियोलोजीमा थोरै नजर लगाए धेरै कुरा छर्लङ्ग हुन्छ ।
तास्कन्द फाइल्स बनाइसकेका निर्देशकको युट्युब च्यानल ‘आइ एम बुद्धु’ या अनुपम खेरका ट्विटर र उनले बोलेका शब्द युट्युबतिर छ्यापछ्याप्ती छन् । अझ उनले मुख्य भूमिकामा खेलेको सिनेमा ‘एक्सिडेन्टल प्राइम मिनिस्टर’ मा तत्कालीन प्रधामन्त्री मनमोहन सिंह र काँग्रेस पार्टीलाई जसरी खुइल्याएका छन, त्यसबाटै उनको वैचारिक धरातल बुझ्न सकिन्छ ।
फिल्म रिलिज यता गुज्गुजाएको भारतलाई कतिपयले १९८७ मा प्रदर्शनमा आएको रामानन्द सागरको टेलिसिरियल ‘रामायण’ पछिको भारतसँग समेत तुलना गर्न थालिसकेका छन् । रामायण प्रदर्शन भएपछिको भारत, त्यो क्रेज, त्यो पागलपन अनि त्यो ध्रुबिकरण, जसले भारतीय राजनीतिको दिशा र दशा दुवै बदली दिएको थियो ।
काश्मिर फाइल्स त्यो दिशातर्फ त नजाला । तर क्षणिक नै सही यसले सतहमै रहेको राष्ट्रवादको मुद्दालाई सतहभन्दा थोरै माथि भने उचाली दिएको छ । राजनीतिका लागि एउटा धारिलो अस्त्र दिएको छ । जसरी त्यो बेला रामायणले दिएको थियो, थोरै तर एकदमै शक्तीशाली अस्त्र । मान्छेका विवेकमा बिर्को लगाउन, वैचारिक बहसलाई बाहुबलमा परिणत गर्न, शक्ति प्रदर्शनमा अथवा राजनीतिका अनेक दाउपेचमा यस्ता अस्त्रहरू भारतमा प्रयोग भइरहेका हुन्छन्, सायद नेपाल जस्ता देशहरूमा पनि । धर्मको सर्वोच्चतामा प्रतिस्पर्धा गराएर, राष्ट्रवादको नारा लगाएर, जातीयता र साम्प्रदायिकताको नाममा भिडाएरै त हो भारतमा बाबरी मस्जिद ढल्ने र राम मन्दिर बन्ने, भुटान–वर्माबाट नेपाली खेदाइने । यो क्रमिक हुन्छ, बिस्तारै हुन्छ तर एकदमै निर्दयी हुन्छ ।
काश्मिर यथार्थ हो । काश्मिरी पण्डितको इतिहास यथार्थ हो । त्यो दुःखान्त पनि यथार्थ हो । र, त्यस्ता संवेदनशील विषयहरूमाथि सिनेमा बनिनु पर्छ । तर मुलभूत कुरा सिनेमा कसले बनाउँदैछ र कस्तो बेलामा बनाउँदैछ भन्ने यक्ष प्रश्न हो । ठिक टाइमिङ्गमा कुनै राजनीतिक एजेन्डा बोकेको चलचित्र कुनै अमुक राजनीतिक दलको चुनावी पोस्टर बन्छ भने जरूर नै ‘दालमे कुछ काला है ।’ अझ हाल देखिएको भारत र फिल्म रिलिजपछि बाँडिएको हामी र तिनीहरूबीचको ध्रुवीकरण हेर्दा फिल्मको टाइमिङ्गमाथि कवि नवराज पराजुलीको कविताको यो लाइन भन्न मन लाग्छ, ‘तिमी ऐले बाहेक जैल्यै आएकी भए पनि हुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन