बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राहत अनुदान रकम लिन आएनन् किसान

मङ्गलबार, १५ चैत २०७८, १६ : ४९
मङ्गलबार, १५ चैत २०७८

बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आएका छैनन् । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको राहत अनुदान रकम हालसम्म किसानले लिन आएका छैनन् । राहत अनुदान स्वरुप जिल्लामा आठ लाख प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
  
धानबालीमा पुगेको क्षतिबापत संघीय सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत किसानलाई राहत अनुदान वितरण गर्ने भनिएको थियो । तर राहत अनुदान लिनका लागि हालसम्म किसानको निवेदन नआएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, “राहत अनुदान रकमका लागि निवेदन दिन भनेका छौं । हालसम्म एकजना किसानबाहेक अरु आएका छैनन्, यसका लागि हामीले सूचनासमेत जारी गरिसकेका छौंँ ।” धान भित्र्याउने बेलामा आएको वर्षाले जिल्लाका सबै स्थानीय तहमा गरी १७६ किसानको धानबालीमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

यसैबीच धानबालीमा क्षति पुगेका किसानलाई राहतका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । संघीय सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत दिनका लागि रकम पठाइसकेकाले निवेदन दिन आग्रह गरिएको हो । ‘धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने कार्यविधि–२०७८’अनुसार पीडित किसानलाई राहत उपलब्ध गराइने भएकाले निवेदन दिन आग्रह गरिएको सूचना अधिकारी भारतीले बताए ।   

राहतका लागि निवेदन दिनेले १० को टिकट टाँसेको निवेदनका साथै वडा कार्यालयको मुचुल्का र वडा सिफारिस राख्नुपर्नेछ । यस्तै प्रहरी मुचुल्का वा प्रहरी प्रतिवेदन, कृषि ज्ञानकेन्द्र बैतडीको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि र बैंक खाता निवेदनसँगै राख्नुपर्ने बताइएको छ ।  

अविरल वर्षाका कारण यहाँ चार जनाको मृत्युसमेत भएको थियो । मृतकका परिवारलाई सङ्घीय सरकारले यसअघि नै दुई लाखका दरले राहत रकम दिइसकेको बताइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप