बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देव गुरुङलाई चिनियाँको प्रश्न : १२ बुँदेले अमेरिकी हस्तक्षेप रोक्न सक्छ त ?

'नेपालका लेफ्टहरू मिलिदिए हुन्थ्यो भन्ने अहिले पनि छँदैछ'
मङ्गलबार, १५ चैत २०७८, १२ : ४२
मङ्गलबार, १५ चैत २०७८

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आएकै दिन नेकपा माओवादी केन्द्रका नेता देव गुरुङसहितका नेताहरू चीन भ्रमणमा गए । गुरुङसहितका माओवादी नेता चीनतर्फ गएको केही दिनअघि एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू पनि चीन पुगिसकेका थिए । एमाले र माओवादीका नेताहरू पालैपालो चीन गएपछि दुई पार्टीलाई मिलाउन चीनले बोलाएको त होइन भन्ने स्वाभाविक आशङ्काहरू उत्पन्न हुन पुगे । तर माओवादी नेता देव गुरुङ एमाले नेता र आफूहरूको चीन भ्रमण संयोग मात्रै भएको बताउँछन् ।

यद्यपि नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकता होस् भन्ने चिनियाँ पक्षसँगको औपचारिक अनौपचारिक संवादमा सदासयता देखिएको गुरुङको भनाइ  छ । साथै एमसीसी अनुमोदनपछि पश्चिमा शक्तिबाट हुनसक्ने चलखेलका बारेमा समेत चिनियाँले गहिरो चासो प्रकट गरेको गुरुङको भनाइ छ । प्रस्तुत छ माओवादी नेताको चीन भ्रमण, नेपालप्रति चिनियाँ चासो र एमसीसीका बारेमा चीनको दृष्टिकोणबारे नेता गुरुङसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएकै दिन तपाईंसहित माओवादीका नेताहरू चीनतर्फ जानुभयो । चीन जानुको खास कारण के थियो ?

चाइना फाउन्डेशन फर पीस एण्ड डेभलपमेन्ट नामक एउटा चिनियाँ संस्था रहेछ । त्यो संस्थाले कुन्मिङमा एउटा कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा सहभागी हुन निमन्त्रणा आएकाले म त्यसतर्फ गएको हो । उक्त संस्थाका महासचिव सु जीयानगुओ भन्ने हुनु हुँदोरहेछ । उक्त कार्यक्रममा केही चिनियाँ पार्टीका प्रतिनिधि र सरकारी अधिकारीहरू पनि रहेका थिए । जुन कार्यक्रम एउटा परिचयात्मक कार्यक्रमसहितको रहेको थियो ।

त्यस कार्यक्रमको उद्देश्य के रहेको थियो ?

पछिल्लो समय कोभिडले गर्दा विश्वभर पैदा भएको शान्ति र विकासको सन्दर्भमा चुनौती पैदा भयो । त्यो च्यालेञ्ज शान्ति र विकास दुवैको सन्दर्भमा रहेकाले फेस गर्नुको विकल्प छैन भन्ने कुरामा केन्द्रित थियो । दोस्रो कुरा एसियामा शान्ति कायम गर्न विकास र शान्तिलाई सँगसँगै लैजानुपर्छ । यी विषय आपसमा जोडिएका पनि छन् र जोडेरै लानुपर्छ । त्यसका लागि आपसमा आपसी सहयोग आवश्यक छ र गर्नुपर्छ भन्ने नै कार्यक्रमको उद्देश्य रहेको थियो । यिनै दुई विषयको सेरोफेरोमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

त्यो बाहेक अरू औपचारिक कुराकानी र संवाद पनि भए कि ?

त्यो बाहेक औपचारिक रूपमा अरू धेरै कुराकानीहरू भएनन् ।

त्यो कार्यक्रममा अरू देशका नेताहरू पनि बोलाइएका थिए कि तपाईंहरूलाई मात्रै ?

कार्यक्रममा चीन र नेपालका प्रतिनिधि मात्रै सहभागी रहेका थिए ।

कार्यक्रमको दौरानमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग पनि भेटवार्ता र कुराकानी गर्नुभयो होला नि ?

चिनियाँ नेताहरूसँग औपचारिक रूपमा त्यस्तो कुराकानी त भएन । तर पनि एउटा कार्यक्रममा सहभागी भएपछि साँझविहान भेटघाट, खानपीन र कुराकानीहरू हुने नै भए । साइड साइडमा जिज्ञासा र प्रश्नहरू हुने नै भयो ।

चिनियाँ पक्षसँग अनौपचारिक भेटवार्ता र कुराकानी गर्दा नेपालमा उनीहरूको मुख्य चासो के कुरामा रहेको पाउनुभयो ?

नेपालको सन्दर्भमा उहाँहरूको चासो शान्तिसँग नै देखिन्थ्यो । यो क्षेत्रमा कसरी शान्ति कायम राख्ने ? भन्ने नै बढी चासोका रूपमा देखियो । पछिल्लो समय पश्चिमाहरूले अशान्ति र युद्धको दिशातर्फ लैजान लागेका हुन् कि ? पश्चिमाहरू यो क्षेत्रमा आक्रामक ढङ्गले प्रस्तुत हुन लागेर अशान्ति कायम गर्न लागेका हुन् कि भन्ने आशङ्का रहेको देखिन्थ्यो । जसलाई कसरी फेस गर्न सकिन्छ, न्यूनीकरण गर्न सकिन्छ र यो क्षेत्रमा कसरी शान्ति कायम गर्न सकिन्छ भन्ने प्रशङ्ग र सन्दर्भहरूमा कुराकानी भए । त्यसरी कुराकानी हुँदा हामी एकआपसमा सहकार्य र समझदारीका साथ हरेक कम्युनिस्ट र राष्ट्रवादीहरू जानुपर्ने, मिल्नुपर्ने आवश्यकता छ भन्ने सवालहरू स्वाभाविक रूपमा उठे । मुख्य गरी पश्चिमाहरूले फैलाउन खोजेको अशान्तिलाई रोक्दै शान्तिको पक्षमा पहल गर्नुपर्छ भन्ने देखियो ।

एमसीसीका बारेमा चिनियाँहरूको बुझाई के रहेछ ?

पछिल्लो समय नेपालमा एमसीसी संसद्बाट अनुमोदन भएपछि त्यसले पश्चिमाहरूको चलखेल झन् बढ्ने हो की भन्ने चिन्ता पनि देखियो । एमसीसी अनुमोदनपछि यस क्षेत्रमा अशान्ति मच्चाउने र गडबड गर्ने समस्या हुनसक्छ जसलाई कसरी फेस गर्न सकिन्छ र दुई देशबीच सहमति सहकार्य गर्नुपर्नेमा अनौपचारिक हिसाबले कुराकानी भए । जसका लागि कम्युनिस्टहरुबीचमै विश्वास र सहकार्य बढाउनुपर्ने आशय रहेको पाइयो ।

एमसीसी अनुमोदन भएपछि नेपालमा पश्चिमाको चलखेल बढी नै हुनसक्छ र त्यसलाई रोक्न तपाईंहरुको पहल गर्न जरुरी छ भनेर तपाईंहरूलाई भन्न बोलाइएको हो ?

एमसीसी आइपीएसको पार्ट हो भन्ने कुरामा दुविधामा छैन ।  र यो स्ट्राटेजिक हो भन्ने पनि प्रस्ट नै छ । यद्यपि १२ बुँदे व्याख्यात्मक घोषणा पनि सँगसँगै जारी भएको छ । त्यो १२ बुँदे महत्त्वपूर्ण कडी त हो नै । तर पनि त्यो १२ बुँदेले अमेरिकी हस्तक्षेप रोक्न सक्छ त ? भन्ने चिनियाँ पक्षको चासो रह्यो र त्यो हस्तक्षेप कसरी रोक्न सकिन्छ भन्ने विषय चासो र केन्द्रित थियो ।

अमेरिकाको एमसीसी र चीनको बीआरआई परियोजना एकअर्काको  काउन्टरका रूपमा हेरिएको छ । तपाईंसँगको कुराकानीमा बीआरआइबारे पनि कुनै चर्चा भयो कि ?

बीआरआई उनीहरूको एउटा अभियान त हो । त्यसलाई स्वीकार गर्ने नगर्ने ? कसरी अघि बढ्ने भन्नेमा सम्बन्धित मुलुकहरूको आपसी सहमति र समझदारीका आधारमा हुने कुरा हो भन्ने उनीहरूको भनाइ थियो ।

एमसीसी अनुमोदनपछि पश्चिमाको चलखेल रोक्न नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकता गराउन एमाले र माओवादी केन्द्रका नेताहरूलाई चीनले बोलाएर वार्ता गराउने प्रयास गरेको भनेर समेत टिप्पणी भइरहेका छन् । के वास्तविकता त्यही हो ?

हामीसँग एमालेका नेताहरूलाई बोलाइएको होइन र हामीसँग उनीहरू थिएनन् पनि । सँगै बोलाएको र भेटघाट पनि भएको होइन । उहाँहरूलाई अलि अगाडि नै बोलाएको हो भने त थाहा भएन । तर हामीसँग उहाँहरूको भेट भएन । तर साधारणतया नेपालका लेफ्टहरू मिलिदिए हुन्थ्यो भन्ने कुरा उनीहरूको पहिले देखिकै हो । त्यो सदासयता त हुने नै भयो । र अहिले पनि छँदैछ । त्यस खालको आशय प्रकट गर्ने कुरा पनि छँदैछ । तर तपाईंले भनेजस्तो ठ्याक्कै एमाले नेताहरूसँग भेटेर कुराकानी गरेको कुरा भने सत्य होइन ।

चिनियाँ पक्षले पछिल्लो समय नेपालका कम्युनिस्ट मात्रै नभई काँग्रेस पनि हाम्रो साथी हो भन्न थालेको छ । तपाईंको चीन भ्रमणका क्रममा त्यो अनुभूति भयो कि भएन ?

काँग्रेसका बारेमा छुट्टै त केही भनेनन् । टीकाटिप्पणी पनि केही गरेनन् र त्यसरी गर्ने कुरा पनि होइन । मुख्य कुरा नेपालको स्वाधीनताको रक्षा गर्ने कुरा र पश्चिमाहरूको जुन प्रकारको हस्तक्षेप बढिरहेको छ, त्यसकाबिरुद्ध कोको तयार हुन्छ र हुँदैन ? भन्ने नै मुख्य प्रश्न र चासो रहेको पाइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप