बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अप्ठ्यारोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान

मङ्गलबार, १५ चैत २०७८, १२ : ३५
मङ्गलबार, १५ चैत २०७८

पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन् । खान नेतृत्वको सरकार ढाल्न विपक्षीले अविश्वासको प्रस्ताव ल्याएका हुन् । खान नेतृत्वको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् । 

तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ । तल्लो सदनमा विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए ।

‘यस सदनको विश्वास गुमाएपछि प्रधानमन्त्री पद रहनुहुन्न,’ अविश्वास प्रस्तावमाथि बोल्दै शरीफले भने । विपक्षी सांसदहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टले खानको गठबन्धनका साझेदारहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ । गठबन्धनका केही सदस्यहरू खानको विपक्षमा उभिन सक्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।

३४२ सिट रहेको सदनमा खान सरकारलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले जनाएका छन् । विपक्षीले केही साताअघि खानविरुद्ध अविश्वासको मत ल्याउने घोषणा गरेपछि राजनीतिक उथलपुथल बढेको छ र सरकार जुन सुकै बेला ढल्न सक्ने खतरा बढेको छ । 

यो खानको राजनीतिक जीवनको सबैभन्दा कठिन चुनौती हो । राजनीतिक संकटबीच खानले राजीनामा दिन सक्ने चर्चा बढेको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने भए त्यसअघि नै खानले पदबाट राजनीनमा दिन सक्ने अनुमान गरिएको छ ।

यद्यपी, खानले आफ्नो पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी र अन्य राजनीतिक दलहरुको सहयोगमा अविश्वासको प्रस्ताव बिफल पार्ने बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप