बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘कर्णालीमा तीन दलसँग एमाले एक्लै लड्न सक्षम छ’

समाजवादी दल जनतासम्म पुग्दा २ प्रतिशत मात्रः गुलावजङ्ग शाह
मङ्गलबार, १५ चैत २०७८, १२ : ०९
मङ्गलबार, १५ चैत २०७८

कर्णाली प्रदेशमा एमालेका संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्न निकै पटक खुट्टा उचालेका थिए तर मुख्यमन्त्रीको कुर्सीमा उक्लिन सकेनन् । पहिले माओवादी, अहिले काँग्रेसका शाहीबन्धुले पालैपालो मुख्यमन्त्री बनेको टुुलुटुलु हेरिरहे, जबकि एमालेको सबैभन्दा बढी सांसद थिए ।

एमालेका पोलिटब्युरो सदस्य एवं कर्णाली प्रदेश सह–इञ्चार्ज गुलाबजङ्ग शाह कर्णालीमा तीन दल मिल्दा पनि एमाले नै पहिलो शक्ति हुने दाबी गर्छन् । साथै उनले एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालालाई सल्यानमा आफूसँग चुनाव लडेर जित्न पनि चुनौती दिन्छन् । प्रस्तुत छ, एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका शाहसँग रातोपाटीले आगामी निर्वाचनको सन्दर्भमा रहेर गरेको कुराकानीः 

सत्तारुढ गठबन्धन विरुद्ध एमाले एक्लै लड्न कति सक्षम छ ? 

जसरी यो मुलुकमा सत्ता गठबन्धन बनेको छ, यसको लिजेटमेन्ड छैन । हामीले ०७४ सालको संघ र प्रदेशको निर्वाचन लड्दै गर्दा एमाले–माओवादी मिलेर बामपन्थीलाई दुई तिहाइको मत दिनुस् भन्दा जनताले दिएकै हुन् । गठबन्धनसँग एमालेले लड्न अहिले कुनै नयाँ रणनीति नै बनाउनु पर्दैन । कुर्सीको स्वार्थका लागि बनेको गठबन्धन व्यक्ति स्वार्थ, इगो, कुण्ठामा बनेको हो । यस्तो खालको गठबन्धन र सरकारलाई जनताले स्वीकार्दैनन् । गठबन्धन जति दलीय बनेपनि एमालेसँग मुद्दा, एजेण्डा छन्, राजनीतिक ईस्यु छन् । हामी एक्लै काफी छौँ, गठबन्धनसँग लड्ने हामीसँग आत्मबल र विश्वास पनि छ । 

तालमेलको सन्दर्भमा एमालेले ढोका खुल्ला राखेको पनि देखिन्छ । बाहिर नभन्ने, पाएको खण्डमा तालमेल गरेर जाने रणनीति हो ?

एमालेसँग पाँच दलहरु मिलेर लड्दैछन् । हामी सैद्धान्तिक, व्यावहारिक रुपबाट प्रष्ट छौँ कि यो गठबन्धनको विरुद्धमा लड्न समक्ष छौँ । एमाले सम्भावना नै सम्भावना खोज गरेर हिँड्ने पार्टी हो । कोही जोडिन आउँछन् भने तिरस्कार र बहिष्कार गरेर हिँड्ने लक्ष्य चाहिँ छैन । यदि कुनै त्यस्तो परिस्थिति निर्माण भएछ भने समयसापेक्ष निर्णय गर्नेछौँ । 

अन्य राजनीतिक दलहरूले एमालेलाई प्रतिगमनको मतियार भनेर प्रचार गरिरहेका छन् । जनतामा जाँदा एमालेले यसलाई कसरी सफाइ दिन्छ ? 

त्यो त राजनीतिमा जसले कुण्ठा पालेर बस्छ,  विचारमा दूरदर्शिता राख्दैन, उनैले भन्ने कुरा न हो । एमालेलाई के मानेमा प्रतिगमनकारी भन्ने ? हो, ओलीले संसद् विघटन गरेका हुन् । के जनताका बीचमा जाने कुरा प्रतिगमन थियो ? मलाई त्यस्तो लाग्दैन । प्रतिगमन त एकाधिकार सोच, राज्यका विरुद्धमा जनताका अधिकार आफ्नो हातमा लिएर अघि बढ्ने कुरालाई भनिन्छ । जनताका बीचमा जाने कुरा प्रतिगमन हुँदैन भन्ने कुरा अहिलेको सरकारले पुष्टि गरिसकेको छ नि..!

एमाले थोरै केही चोइटिएको हो । अहिले समाजवादी नामको पार्टी दर्ता भएको छ रे । हेर्नुभयो भने मुलुकमा चुनावी लहर त एमालेले ल्याएको छ । यो गठबन्धनले त चुनाव गर्नै चाहेको थिएन, हाम्रो दबाबका कारण मात्र राजी भएको हो । जनताका बीचमा जाने कुरामा किन डराउने ? यस कारणले पनि हामीलाई कसैले प्रतिगमनकारी भन्दैमा प्रतिगमनकारी होइन । एमाले जनपक्षीय हो । हामी यो कुरा जनतालाई बुझाउँछौँ  । र, ६०–७० प्रतिशत सीट जितेर देखाउँछौँ ।

तर कर्णाली प्रदेशमा त बलियो शक्ति भएर पनि सरकार बनाउन नसक्ने, बहुमतको कदर गर्न नसक्ने, दल भित्रैको कलह मिलाउन नसक्ने तपाईंहरुलाई जनताले फेरि मत किन दिने ?

त्यो बेला त एमाले–माओवादीको बीचमा तालमेल गरेर बहुमत ल्याएका थियौँ । हामी त्यो बेला केही राजनीतिक समझदारी भएर अघि बढेको हो । समझदारीमा कर्णाली र सुदूरपश्चिम माओवादी पक्षका मुख्यमन्त्री बनाउने र अन्य चार प्रदेश एमालेका मुख्यमन्त्री बनाउने भन्ने थियो । हामी त्यस्तो सरकार बनाउने पक्षमा नहुँदा पनि केन्द्रको सर्कुलर मान्नुपर्ने अवस्था थियो । त्यसबेलामा पनि एमाले बलियो नै थियो र अहिले पनि छ । ०७४ सालको निर्वाचनमा ल्याएको परिणाममा अहिले तात्त्विक भिन्नता आउँदैन । किनभने राजनीतिक मुद्दा र इस्युलाई अगाडि सारेर जनताका बीचमा जाने भनेको एमाले नै हो ।

०७४ मा ३८ प्रतिशत जनमत एमालेसँग थियो । अहिले तपाईंहरु खण्डित भएर बनेको एकीकृत समाजवादी पनि प्रतिस्पर्धीका रूपमा जनतामा जाँदैछ । यो अवस्थामा कर्णालीमा एमालेलाई त त्यही जनमत जोगाउन हम्मे–हम्मे पर्ला नि ?

पहिलेको भन्दा हामी बढाउँछौँ । उदाहरणका लागि ०५४ सालमा एमाले विभाजन भयो । त्यो बेला झण्डै ४५ प्रतिशत नेताहरू मालेमा लाग्नुभएको थियो । ०५६ सालको आमनिर्वाचनमा माले शून्य भयो । यो क्रम काँग्रेस र माओवादीमा पनि चल्यो । यसलाई विश्लेषण गर्ने हो भने जनताले विभाजित भएको शक्तिलाई रुचाउँदैनन् । अहिले हेर्नुभयो भने समाजवादी नामको पार्टीको कुनै हैसियत नै छैन । अझ प्रकाश ज्वालालगायत केही साथीले हामी तीन दलीय मोर्चा बन्यौँ भने एमालेलाई खोज्न जानुपर्छ भन्दै हुनुहुन्छ । उहाँसँग एक्लै चुनाव लड्ने आँट छैन । हिजोको सङ्ख्या जोड्दा त्यो आउला तर परिणाम, नारा र ईस्युमा शक्ति, ताकत कहाँ छ ? ०७४ को ३८ प्रतिशतलाई मात्र होइन, त्यो भन्दा धेरै अगाडि एमाले गइसक्यो । रिजल्ट चुनावपछि नै आउँछ ।

त्यसको आधार चाहिँ के हो ? 

समाजवादी दल जनतासम्म पुग्दा २ प्रतिशत पनि छैन । त्यसैले निर्वाचनमा विभाजनको कुनै असर पर्दैन । अर्को कुरा काँग्रेसको आफ्नो कुनै राजनीतिक एजेण्डा छैन । माओवादी आफ्नो मुद्दाबाट चिप्लिएर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा अग्रसर बन्यो । अब हामी जनतामा यही कुरालाई उठाउँछौँ । कम्युनिष्टलाई दुई तिहाइ दिँदा माधव नेपाल र प्रचण्डले छक्याए । अब पुष्टि गर्नुपर्छ भनेर जनतालाई बुझाउँछौं । त्यो भएकाले कर्णालीमा ३८ प्रतिशत भन्दा कैयौँ माथि जनमत प्राप्त गर्छौँ । 

तर तपाईंकै प्रदेश अध्यक्षले एक्ला–एक्लै लडे २९ र गठबन्धनसँग एक्लै एमाले लड्दा १५ स्थानीय तह मात्र जित्ने केन्द्रीय कमिटीको बैठकमा रिपोर्टिङ गर्नु भएको छ । यो हिसाबमा त एमाले कसरी पहिलो शक्ति बन्छ ?

स्थानीय निर्वाचन भनेको संघ र प्रदेशको भन्दा भिन्न हो । अहिले समाजवादीका अगुवा नेताहरूले गठबन्धनमा जोड किन गरिरहेका छन् ? आफ्नो खुट्टाले हिँड्ने प्रयास गरौँ न । माओवादी, काँग्रेससँग ताकत, दम छैन र हिम्मत छैन । त्यो हिसाबले पहिलो शक्ति हामी हो । एमालेको भीमकाय शक्ति  छ । हिजोको अवस्था आज छैन, आजको अवस्था भोलि रहँदैन । महाधिवेशनसम्म झण्डै ८ लाख पार्टी सदस्यता रहेको एमाले अहिले झण्डै ११ लाख पुगिसक्यो । यसले नै एमाले बलियो रहेको पुष्टि गर्छ । ठ्याक्कै धामी–झाँक्रीजस्तो गफ दिएर ७९ मा ६० जित्छु भन्ने पक्षमा हामी छैनौँ । स्थानीय चुनावमा पहिलो शक्ति बन्छौँ–बन्छौँ ।

तपाईंकै जिल्लावासी प्रकाश ज्वाला अहिले कर्णालीमा एकीकृत समाजवादीको इञ्चार्जको भूमिकामा हुनुहुन्छ । उहाँले तीन मेजर पार्टी मिलेमा एमालेको कर्णालीमा नामोनिशाना रहँदैन भनेर चुनौती दिनु भएको छ । यसलाई कसरी लिनुहुन्छ ?

उहाँलाई मेरो काउण्टर जवाफ छ,भर्खर आमाको कोखबाट जन्मेको बालकले अरुको वैशाखी टेकेर सय मिटर दौडिन्छु भन्नु हाँस्यास्पद हो । उहाँलाई सल्यानमा आएर मसँग लडेर जित्न चुनौती दिन्छु । सल्यानी जनताले उहाँलाई चिनिसकेका छन् । एउटा चिन्हबाट चुनाव जितेर अर्को दलका नेतालाई मुख्यमन्त्री बनाएको जनताले बिर्सिएका छैनन् । संसदीय अभ्यासमै ‘फ्लोर क्रस’ गरेर अपराध गर्ने मान्छेलाई सल्यानी जनताले पत्याउँछन् ? सल्यानमा १० स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहमा उहाँहरूको जित हुँदैन । त्यो भन्दा तल अहिले नै नगैहालम् ! अर्को कुरा उहाँहरूको गठबन्धन नै सम्भव छैन । 

अर्को कुरा यो सरकारले २४ वटा निर्वाचन क्षेत्रमा एउटा–एउटा बहुवर्षीय बाटो बनाउनु पर्छ भनेर निर्णय गर्‍यो । पूर्व मुख्यमन्त्री शाही र अर्थमन्त्री प्रकाश ज्वाला हुँदा मेरो निर्वाचन क्षेत्रमा उक्त बाटो बहुबर्षीय बनाइदिएनन् । बरु भर्खरै मुख्यमन्त्री जीवनबहादुर शाही र आर्थिक मन्त्री विन्दमान विष्टले स्वीकृत गर्दिनुभयो । मलाई भोट हाल्ने पनि जनता नै हुन् । प्रकाश ज्वालालाई भोट हाल्ने पनि जनता नै थिए । के आधारमा ज्वालाले मेरो क्षेत्रको बहुबर्षीय बाटो रोके ? यो कुरा सल्यानी जनतालाई  बुझाउनु छ । 

उसो भने कर्णालीमा एमालेको प्रतिस्पर्धी को हो ? 

यहाँ माओवादी त हुँदैन, बरु काँग्रेस हुन सक्छ । किन भन्दा माओवादीले धेरै उतार–चढाव लिइसक्यो । कर्णालीमा माओवादी नेतृत्वको सरकारले केही गर्न सकेन । नभएका डिजिटल प्रदेश, अर्गानिक प्रदेशको गफ दियो । 

गफको हिलो त तपाईंहरुलाई पनि केही अंशसम्म छ्यापिएला नि ?

हो, ४० महिनामा सरकारलाई हाम्रो पनि समर्थन थियो । म पनि जनताबाट निर्वाचित जनप्रतिनिधि हुँ । हामी संघीय सरकारले दिएको अनुदानमा हामी बाँच्यौँ । त्यही अनुदानको पनि सदुपयोग गर्न जानेनौँ । तर नेतृत्व हाम्रो हातमा थिएन । कर्णाली सरकारले देखिने खालको काम गरेन । योजनाहरू कार्यान्वयन गर्न सकेन । सुर्खेत–जुम्ला केबुलकार बनाउने कुरा पनि सरकारले गर्‍यो । खै कहाँ छन् ती एजेण्डा ? यो कुरा हामी जनतामा जाँदा उठाउँछौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप