मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

यसरी लिन सकिन्छ मोह ऊर्जाबाट फाइदा

मङ्गलबार, १५ चैत २०७८, १० : ५२
मङ्गलबार, १५ चैत २०७८

सामान्यतया मोह भन्नाले कुनै मानिस वा विषय वस्तुप्रतिको आकर्षण भन्ने बुझिन्छ तर यसको अर्थ यतिमा मात्रै सीमित छैन । कुनै पनि विषय–वस्तुप्रति लोभिनु, मोहित हुनु, आकर्षित हुनु, त्यसलाई छुन खोज्नु, पाउन खोज्नु, पाउने प्रयास गर्नु, त्यहाँ जान खोज्नु, त्यसलाई समाउन खोज्नु, लगाउन खोज्नु, खान खोज्नु, हेर्न खोज्नु, सुन्न खोज्नु, सुँघ्न  खोज्नु सबै मोहकै विशेषता हुन् ।

हालसम्म हामीले के सुन्दै आएका छौँ भने मोह भनेको दुर्गुण हो, गर्नु हुँदैन तर मोहित नभई बस्न भने कोही पनि सक्दैनौँ । जसले त्यस्तो भनेका छन् वा भन्ने गरेका छन् उनीहरूले नै सकेका हुँदैनन् । किनकि यो आफैँमा जीवन हो, जीवन उर्जा हो, जीवन उर्जाको पाटो हो । जन्मदा सँगै आउँछ, बाँचुन्जेल सँगै रहन्छ ।

जब जो जन्मदा सँगै आएको छ, बाँचुन्जेल जीवनकै अङ्ग बनेर बसेको छ भने त्यसप्रति आकर्षित नभई बस्ने नै कसरी ? यदि कसैले आफू मोहित छैन वा मोहित हुनुहुँदैन भन्ने गरेका छन् भने ठाने हुन्छ उनीहरूले कि अभिनय गरिरहेका छन् कि झूट बोलिरहेका छन् ।

काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य भनेका यस्ता गुण हुन्, जुन मानिसको त कुरै छाडौँ प्राणी मात्रले साथमा लिएर आएका हुन्छन् । कसमा छैन र यो ? बच्चामा हुन्छ, वृद्धमा हुन्छ, युवकमा हुन्छ, युवतीमा हुन्छ । पशुमा हुन्छ, पंक्षीमा हुन्छ । कीटपतङ, रुख, बिरुवा सबैमा हुन्छ, सँधै हुन्छ । यी विना सृष्टि नै सम्भव हुँदैन, भए पनि चल्दैन । मोहको बन्धन यति कडा हुन्छ कि कसैले पनि चुडाउँन सक्दैन । कसलाई थाहा छैन जीवन, धनसम्पत्ती, सन्तान, पद र प्रतिष्ठा सबै क्षणिक हुन् भन्ने कुरा । तैपनि त्यसलाई त्याग्न कसैले पनि सक्दैनन् । यही हो यसको तागतको नतिजा ।

संसारमा हरेक क्षण मानिस मरिरहेका हुन्छन् । आफन्त मरेपछि रुने नै भए, अन्तिम संस्कार पनि गर्नैपर्यो । त्यतिबेला यही भन्ने गरिन्छ कि संसार केही पनि होइन रहेछ, धन सम्पत्ती र सन्तान भन्नु पनि बेकारै रहेछ, फलानाको यतिका धनसम्पत्ती थियो, सन्तान थिए, कसले के गर्न सक्यो त खोइ ? आखिर सबैले जानैपर्दो रहेछ, त्यो पनि रित्तै । सबैले भन्ने यही हो, यस्तै भनेका हुन्छन् तर त्यो त्यतिबेलासम्म रहन्छ, जतिबेलासम्म अन्तिम संस्कार सकिएको छैन । संस्कार सकिने बित्तिकै सबै सम्पत्ती थुपार्नमा लागिरहेका हुन्छन् ।

एकपटक एक जना व्यापारी घोडा बेच्न हिँडेका रहेछन् । बाटामा रात परेको हुनाले सेवकलाई घोडा बाँध्न लगाएर विश्राम गर्न हिँडेछन् । जब सेवकले घोडा बाँध्न थाल्यो, एउटालाई डोरी नपुगेर त्यत्तिकै छाडिदिएछ । भोलिपल्ट जाने बेलामा जो जसको बन्धन खोल्दै गइएको थियो, उनीहरू उठेर हिँड्न लागेछन् । जो बाँधिएको थिएन, ऊ चाहिँ उठेनछ । सेवकलाई उसको अवस्था बुझ्न बेर लागेन । उसले नजिकै गएर बन्धन खोलेजस्तो के गरेको थियो उ पनि उठेर हिँड्न लागेछ । यहाँ भएको के थियो भने उसलाई बन्धनको मोहले यति जकडेको थियो कि बाँधिएको छु जस्तो लागिरहेको थियो । 

कतै पढिएको यस कथामा कति सत्यता छ, थाहा छैन तर मोहको बन्धन भने जहाँ पनि यस्तै हुन्छ । सबैलाई थाहा छ, संसार केही पनि होइन भन्ने कुरा । तैपनि यही मोहका बन्धनले यसरी बाँधिएका हुन्छन् कि कसैले पनि त्यतातिर ध्यान दिनै भ्याएका हुँदैनन् । यदि त्यस्तो हुन्थ्यो भने सृष्टि नै रोकिन्थ्यो । त्यसैले प्रकृतिले नै मोहलाई सँगै पठाएको हुन्छ । होइन भने न आमाको स्तनमा दूध भरिन्थ्यो, न जन्मेका सन्तानले माया पाउँथे ।   

त्यसैले मोहित हुनुहुँदैन भन्ने होइन, बरु हुनुस् भन्ने हो । भन्दाभन्दै पनि नभई बस्न सकिन्न भने भन्ने नै किन ? हो तर रूपान्तरण भने गर्न सकिन्छ र गर्नुपर्ने पनि त्यही हो । रूपान्तरण गरी प्रयोगमा ल्याए यही मोह सद्गुण बनेर सुख दिन्छ । अन्यथा दुर्गुण बनेर दुःख दिन्छ, बस् कुरा यत्ति हो ।

प्रश्न उठ्न सक्छ, त्यो भनेको के हो र कसरी गर्ने ? त्यसका लागि भने केही सूत्र छन्, त्यसैलाई अप्नाउने, जसको लिङ्क तल दिइएको छ । इच्छा हुनेले खोलेर हेर्न र प्रयोग गर्न सक्नुहुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप