तराईका महानगरमा महिला मतदाता कम, अन्य महानगरमा महिला बढी
२०७८ सालमा भएको जनगणनामा देशैभरका जनसङ्ख्याको स्थिति हेर्दा पुरुषभन्दा महिला करिब ७ लाखले बढी छन् । महिलाकै सङ्ख्या बढी भएको कारण तर मतदाता सूचीमा हेर्ने हो भने महिलाभन्दा पुरुषको सङ्ख्या बढी देखिन्छ ।
निर्वाचन आयोगले जारी गरेको मतदाता सूचीलाई हेर्ने हो भने स्थानीय तह निर्वाचन २०७९ मा ८९ लाख ९२ हजार १० हजार पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । यसरी हेर्दा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या झण्डै ३ लाखले कमी देखिन्छ ।
मुख्य मुख्य सहरी क्षेत्रको मतदाता हेर्ने हो भने मधेस प्रदेशका दुई महानगरमा पुरुष मतदाता र महिला मतदाताको सङ्ख्यामा व्यापक भिन्नता देखिएको छ ।
देशका ६ वटा महानगरपालिकामध्ये काठमाडौँ उपत्यका, भरतपुर र पोखराको महानगरमा महिला मतदाताको सङ्ख्या बढी देखिन्छ भने मधेसका दुई महानगरमा भने महिला मतदाताको सङ्ख्या ज्यादै कम देखिन्छ ।
निर्वाचन आयोगले जारी गरेको मतदाता नामावली र विवरण अनुसार काठमाडौँ महानगरपालिकामा कुल ३ लाख २४२ जना मतदाता रहेका छन् । ३ लाख २४२ मतदातामध्ये काठमाडौँ महानगरमा महिला मतदाताको सङ्ख्या पुरुष मतदाताको भन्दा करिब ११ हजारले बढी छ । काठमाडौँ महानगरपालिकामा पुरुष मतदाताको सङ्ख्या १ लाख ४४ हजार ३६३ जना छन् भने महिला मतदाताको सङ्ख्या १ लाख ५५ हजार ८७८ जना रहेका छन् । आयोगको तथ्याङ्कमा काठमाडौँ महानगरपालिकामा एक जन्य तेस्रोलिंगी मतदाता रहेको देखिन्छ । कुल ३ लाख २४२ मतदाताका लागि काठमाडौँ महानगरपालिकाभित्र १५६ मतदान स्थल र ३६३ मतदान केन्द्र तोकिएको छ ।
उपत्यकामै रहेको ललितपुर महानगरपालिकामा पनि पुरुष भन्दा महिला मतदाता बढी देखिएको छ । कुल १ लाख २२ हजार ८९० जना मतदाता रहेको ललितपुर महानगरपालिकामा ६३ हजार ४३७ जना महिला मतदाता रहेका छन् । ललितपुर महानगरमा पुरुष मतदाताको सङ्ख्या ५९ हजार ४५३ जना रहेको छ । ललितपुरमा पुरुषभन्दा करिब ४ हजार जना महिला मतदाता बढी छन् ।
ललितपुर महानगरमा कुल १ लाख २२ हजार ८९० जना मतदाताका लागि ५२ वटा मतदान स्थल र १३७ वटा मतदान केन्द्र स्थापना गरिएको छ ।
काठमाडौँपछि धेरै मतदाता रहेको पोखरा महानगरपालिकामा पनि पुरुष भन्दा महिला मतदाताको सङ्ख्या बढी देखिन्छ । पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७१२ जना मतदाता रहेकामा महिला मतदाताको सङ्ख्या १ लाख १० हजार ६४१ जना रहेका छन् । उक्त महानगरमा पुरुष मतदाताको सङ्ख्या ९७ हजार ७० जना रहेका छन् । पोखरा महानगरपालिकामा १ जना तेस्रो लिङ्गी रहेका छन् ।
२ लाख ७ हजार ७१२ जना मतदाता रहेको पोखरा महानगरपालिकामा ९८ वटा मतदान स्थल र २४२ वटा मतदान स्थल तोकिएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा पनि पुरुषभन्दा महिला मतदाताकै सङ्ख्या बढी देखिएको छ । कूल १ लाख ८७ हजार ७५२ जना मतदाता रहेको भरतपुरमा पुरुष मतदाताको सङ्ख्या ८८ हजार ८८४ जना रहेको छ । सो महानगरमा महिला मतदाताको सङ्ख्या ९६ हजार ८६७ जना रहेको छ । निर्वाचन आयोगले जारी गरेको तथ्यांक अनुसार भरतपुर महानगरमा पुरुषभन्दा करिब ८ हजार जना महिला मतदाता बढी छन् । भरतपुरमा एकजना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
१ लाख ८५ हजार ७५२ मतदाताका लागि भरतपुरमा ६५ वटा मतदान स्थल र २०२ वटा मतदान केन्द्र राखिएको छ ।
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ६ वटा महानगरपालिकामध्ये तराई क्षेत्रका दुईवटा महानगरमा भने महिला मतदाताको सङ्ख्या पुरुषको भन्दा कम देखिएको छ ।
प्रदेश नम्बर १ को मोरङमा पर्ने विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ जना मतदाता रहेका छन् । जसमध्ये पुरुष मतदाताको सङ्ख्या ७० हजार ५२४ जना रहेको छ भने महिला मतदाताको सङ्ख्या मात्रै ६२ हजार ६१८ जना रहेको छ । विराटनगरमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या करिब ८ हजारले कम छ । १ लाख ३३ हजार १४२ जना मतदाताका लागि विराटनगर महानगरमा २९ मतदान स्थल र १४० मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
राष्ट्रिय जनगणना २०७८ लाई हेर्ने हो भनेचाहिँ विराटनगरमा महिला र पुरुषको सङ्ख्या बराबरी नै देखिन्छ । उक्त जनगणना अनुसार विराटनगरमा महिला र पुरुषको जनसङ्ख्यामा महिलाको सङ्ख्या करिब ८ सयले मात्रै फरक छ । उक्त महानगरपालिकामा पुरुषको सङ्ख्या १ लाख २२ हजार ७६९ र महिलाको सङ्ख्या १ लाख २१ हजार ९८१ जना छ ।
मधेस प्रदेशमा पर्ने पर्साको वीरगन्ज महानगरपालिका पनि पुरुषभन्दा महिला मतदाताको सङ्ख्यामा व्यापक कमी देखिएको छ । १ लाख २४ हजार ६४७ कुल मतदाता रहेको वीरगन्ज महानगरमा ७० हजार ८१० जना पुरुष मतदाता छन् । तर सो महानगरपालिकामा महिला मतदाताको सङ्ख्या भने जम्मा ५३ हजार ८३३ जना रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । वीरगन्जमा ४ जना तेस्रो लिङ्गी मतदाता समेत रहेको देखिएको छ ।
वीरगन्ज महानगरपालिकामा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या करिब १३ हजारले कम छ, जबकि देशैभरको तथ्यांक हेर्ने हो भने पुरुषभन्दा महिला करिब ७ लाखले बढी छन् । वीरगन्जमा १ लाख २४ हजार ६४७ मतदाताका लागि ५५ मतदान स्थल र १४३ मतदान केन्द्र तोकिएको छ ।
मधेस मामिलाका जानकार भन्छन्, मतदाता शिक्षामै कमी छ
तराई–मधेसका स्थानीय तहमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या कम हुनुमा निर्वाचन आयोग र केन्द्र सरकार नै जिम्मेवार रहेका मधेस मामिलाका जानकार चन्द्र किशोरको आरोप छ । तराई र मधेसका महानगरमा किन महिलाको सङ्ख्या कमी देखिएको होला भन्ने रातोपाटीको प्रश्नमा चन्द्र किशोर भने, ‘महिलाको सङ्ख्या कम होइन, मतदाता नामावलीमा मात्रै कम देखिएको हो । तराई र मधेसमा मताधिकारमा महिलाको भूमिका, सहभागिता आदिमा कमी र केन्द्रीय सरकारको नागरिकता सम्बन्धी नीतिका कारण महिला मतदाता कम देखिएको हो ।’
चन्द्रकिशोरका अनुसार तराई र मधेसमा नागरिकतासम्बन्धी समस्या र सबै काममा पुरुष नै हाबी हुने प्रवृत्तिका कारण महिला मतदाता छुटेको हो । उनले भने, ‘एउटा समस्या भनेको यी क्षेत्रमा सबै कुरा र काममा पुरुष नै हाबी छन्, उन्छन् । त्यसकारण आफूले नामावलीमा टिपाए भैगयो नि भन्ने सोच पनि होला । दोस्रो, तराई र मधेसमा छिमेकी देशबाट पनि विवाह गरेर आउने गर्छन् । भारतबाट विवाह गरेर आएकी महिलाले नागरिकता पाउन पनि धेरै कठिन छ । यही कारणले महिला मतदाताको सङ्ख्यामा कमी देखिएको हो, यी क्षेत्रमा महिलाकै सङ्ख्या कम भन्नेचाहिँ होइन ।’
दोहोरो बसाईले पनि समस्या पारेको छ : धर्मेन्द्र झा
मधेस मामिलाका जानकार पत्रकार धर्मेन्द्र झा पनि चन्द्रकिशोरकै विचारलाई समर्थन गर्छन् । तराई र मधेसका स्थानीय तहमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या कम देखिनुको कारण मतदाता शिक्षामा कमी, नागरिकताको अभाव र दोहोरो बसाइसराइ नै प्रमुख कारण हुन् । झाका अनुसार वीरगन्ज र विराटनगर सहर भएको कारण त्यस वरपरका ग्रामीण क्षेत्रबाट मानिसहरू बसाइसराइ गरेर आउँछन् । तर त्यहाँ आउने पुरुषहरूले विभिन्न कामका लागि सोही क्षेत्रको ठेगाना उल्लेख गर्ने, बसाइसराइ बनाउने तर महिलाहरूको नामावली गाउँकै स्थानीय तहमा देखिने समेत गरेको झा को भनाई छ ।
त्यसबाहेक निर्वाचन आयोगको तथ्याङ्कमा पनि बेलाबेलामा समस्या पर्ने गरेको झाले बताए । उनले भने, ‘कहिलेकाहीँ निर्वाचन आयोगको तथ्याङ्कमा पनि समस्या पर्ने गरेको छ । एक स्थानमा मतदातामा नामावली छ भनेर मतदान गर्न जाँदा त्यहाँ सूची नै नभएको पनि पाइएको छ । मतदातामा नामावलीको प्रकाशित सूचीमा नाम हुने तर आयोगकै भोटर लिस्टमा नाम नहुने समस्या पनि छ । यी विविध कारणले तराई र मधेसका स्थानीय तहमा महिला मतदाताको सङ्ख्या कम देखिएको हो । यद्यपि महिलाकै सङ्ख्या कमचाहिँ होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई
-
भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा
-
खुमलटारमा शंकास्पद वस्तु फेला
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता