शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सिद्धबाबा विरुद्धको मुद्दामा आज सुनुवाइ हुने सम्भावना कति ?

मङ्गलबार, १५ चैत २०७८, ०८ : ३७
मङ्गलबार, १५ चैत २०७८

सुनसरीको बराहक्षेत्रस्थित चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरमा आज पेशी तोकिएको छ । यद्यपि सुनुवाइ हुने सम्भावना कम छ । उच्च अदालत विराटनगरले मुद्दाको पेशी यसअघि फागुन २५ गतेको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इजलासमा परेको थियो । उक्त इजलासमा सुनुवाइपछि मुख्य न्यायाधीश श्रेष्ठले ‘म रहितको इजलाशमा पेश गर्नु’ भन्ने आशयको आदेश दिँदै आजका लागि पेशी तोकेका थिए । 

न्यायाधीश श्रेष्ठले यसअघि सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न दिएको आदेशलाई बदर गर्ने फैसला गरेका थिए । दोस्रो पटक सोही मुद्दा हेर्न नमिल्ने उनको आदेशमा उल्लेख रहेको उच्च अदालत विराटनगरका रजिष्टार ओमराज सुवेदीले जानकारी दिए । 

हाल उच्चमा भएका ९ जना न्यायाधीशमध्ये ४ जनाले सो मुद्दा हेर्न नमिल्ने भएको छ । सोही मुद्दामा न्यायाधीश प्रेमराज ढकाल र रेणुका साहले नेपाल सरकारले गरेको पुनरावेदनमा दुवै पक्षका झगडिया झिकाउने आदेश दिएका थिए । साह सरुवा भएपनि ढकाल उच्च अदालतमै रहेका छन् । यस्तै न्यायाधीश श्रेष्ठ पनि सर्वोच्च अदालत काठमाडौं सरुवा भइसकेका छन् ।

यस्तै न्यायाधीश राजन प्रसाद भट्टराईको प्रतिवादीका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता रमेश कोइरालाका नातेदार हुन् । उनले पनि सो मुद्दा हेर्न नमिल्ने भएको छ । यस्तै न्यायाधीश कृष्णकमल अधिकारी र जगतनारायण प्रधानले पनि सोही मुद्दामा झगडिया झिकाउने आदेश गरेका थिए । उक्त मुद्दा हेर्न मिल्ने न्यायाधीशहरु अब ५ जनामात्रै भएको कारण आज पनि सुनुवाइ हुने सम्भावना कम देखिएको उच्च अदालत स्रोत बताउँछ ।

सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले बलात्कार गरेको नभइ मिलेमतोमा करणी गरेको आशय उल्लेख छ । सिद्धबाबाकी भक्तजन पीडित २६ वर्षीय महिलाले आफूमाथि बलात्कार भएको भन्दै कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसलाको विरुद्धमा उच्चमा मुद्दा दर्ता गराएकी छिन् । 
गिरीले पनि जिल्ला अदालतको फैसलामा आफ्नो ब्रम्हचार्य तोडिएको फैसला आएको भन्दै त्यस्तो नभएको कारण सफाइको माग गर्दै अर्को मुद्दा दर्ता गराएका छन् । दुवै मुद्दालाई एकै ठाउँमा राखेर अदालतले सुनुवाइ गरिरहेको छ ।  

सोलुखुम्बु घर भई सुनसरीको बराहक्षेत्रस्थित पवित्र धार्मिक स्थलमा बस्ने गिरी आफूलाई बाल ब्रह्मचारी भएको दाबी गर्थे । उनै धर्मगुरुले आफूलाई बलात्कार गरेको भन्दै एक २६ वर्षीय अनुयायीले २०७७ मंसिर ११ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गरेकी थिइन् । कात्तिक ४ गते सिद्धबाबाले आश्रममा बोलाएर आफूलाई मोहित बनाएर बलात्कार गरेको ती महिलाको आरोप छ ।

त्यस घटनाको विरुद्धमा २०७६ पुस १० गते सिद्धबाबाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो भने २०७७ मङ्सिर २२ गते जिल्ला अदालत सुनसरीले फैसला दिएको थियो । सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले ०७७ साल मङ्सिर २२ गते गरेको फैसलामा सिद्धबाबाले राजीखुशीमै महिलासँग यौनसम्बन्ध राखेको उल्लेख छ । सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतरा हनुमान मन्दिरस्थित जगत गुरु आश्रममा बस्ने सिद्धबाबा धर्मगुरु हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप