लिभिङ टुगेदरः नेपाली समाजमा एक नैतिक बहस
कुनै पुरुष वा महिला वैधानिक विवाहको अलावा निश्चित समयको लागि एउटै छानोमुनि जीवनयापन गर्नु नै ‘लिभिङ टुगेदर’ भनिन्छ । विशेषतः कमजोर आर्थिक स्थिति, यौन सन्तुष्टि, प्रेमका कारण युवा युवती लिभिङ टुगेदरमा बस्ने गर्दछन् । ठ्याक्कै समय यकिन नभए पनि, सन् १९७५ को दशक यता पश्चिमा राष्ट्रमा लिभिङ टुगेदरको पद्धति अवलम्बन हुँदै आएको छ ।
हाल आधुनिकताको परिभाषा दिदै आफ्नो मूल्य मान्यता विपरित नेपाल लगायत पूर्वी एशियाको विभिन्न देशमा लिभिङ टुगेदरमा बस्ने प्रवृत्ति फैलिदै गएको छ । नेपालको परिपेक्षमा लिभिङ टुगेदरमा बस्नेको संख्या यकिन नभएता पनि विशेषतः सहर केन्द्रीत युवा युवतीहरूको प्रमुख छनौट भने पक्कै बन्दै गएको छ । वैवाहिक जीवनको जिम्मेवारी र प्रतिबद्धतालाई बेवास्ता गरी यौन जीवनको आनन्द लिनु लिभिङ टुगेदर बस्नुको प्रमुख कारण हो ।
विश्व परिवेश हेर्दा अस्ट्रेलियामा लिभिङ टुगेदरमा बस्ने क्रम बढ्दो छ । सन् १९७५ मा १६% जनसंख्या विवाह पूर्व लिभिङ टुगेदरमा बस्ने गरेकोमा सन् २००८ मा आइपुग्दा ७८% जनसंख्या यस्तो सम्बन्धमा बाँधिएको पाइन्छ । सुरुवाती प्रेम, कालान्तरमा व्यक्तिगत स्वतन्त्रतामा बन्देज (लवाई, खवाई, सामाजिक सम्बन्धमा निगरानी आदि) र आफूबमोजिम नचले सम्बन्ध त्याग्ने अधिकांश पुरुष प्रवृत्तिले महिलाहरु वास्तविक पीडित बनेका छन् ।
हालको परिपेक्षमा नेपालका ठूला सहरमा युवा युवतीहरू परिवारको सल्लाह बिना लिभिङ टुगेदर बस्ने गरेको पाइन्छ । यस्तो सम्बन्धमा महिलाले विवाह अगावै गर्भ बोके भने सामाजिक, कानुनी र पारिवारिक अस्वीकार्यता र पुरुष पार्टनरको दवावको कारण महिला वर्ग पटक पटक गर्भपतन गर्न बाध्य भएका छन् । यसले उनीहरुको स्वास्थ्यमा पनि गम्भीर असर पर्ने गरेको छ ।
साथै, लिभिङ टुगेदर सम्बन्धबाट पैदा भएका बालबच्चा र आमा दुबैलाई समाजले बहिष्कार गर्ने र बच्चाको भविष्यमाथि गम्भीर समस्या आउने देखिन्छ । कानुनी रुपमा पनि अविवाहित महिला आफ्नो सन्तानलाई नागरिकता दिलाउन नसक्ने झन्झट छ । मुलुकी देवानी संहिता–२०७४ को दफा ७४ ले शारीरिक सम्पर्क भई शिशु जन्मिएमा स्वतः विवाह भएको मानिने भएता पनि बहुविवाह ठहरिने अवस्थामा भने उक्त कानुन लागू नहुने प्रावधान रहेको छ ।
लिभिङ टुगेदर बस्दै गरेको जोडीमा गर्भ बस्न गएमा पुरुषले जिम्मेवारी नलिई फरार हुने भएकाले अधिकांश महिला र नाबालक बिचल्लित भएका छन् । सामाजिक र पारिवारिक अपहेलना अनि अभाव झेल्न नसक्दा अधिकांश महिला मानसिक समस्यामा गई आत्महत्या समेत गर्दछन् । यस्तो अवस्थाको लागि भने कानुनले झन् अस्पष्टता सिर्जना गरेको छ ।
म ब्यक्तिगत हिसाबले लिभिङ टुगेदरको विरोधी भने हैन । तर समाज र कानुनबाट अस्वीकृत यस्तो सम्बन्ध टुटेको खण्डमा अविवाहित आमाको संरक्षणको दायित्व कसको ? नाबालिगको जन्मदर्ता र नागरिकताको ब्यवस्था के ? कुण्ठित पितृसत्तात्मक नेपाली समाजले तिनलाई कुन स्थान प्रदान गर्छ ? भन्ने मुल प्रश्न हो ।
अर्काेतिर, लिभिङ टुगेदर सम्बन्ध कहिले स्थापित हुन्छ र कहिले अन्त्य हुन्छ भन्ने भेउ नभएकाले यस्तो सम्बन्धले समाजलाई मात्र नभई कानुनी संस्था र न्यायलयलाई समेत चुनौती दिएको छ । सम्बन्धको प्रवृत्ति नै गलत ठह्र्याउन भने पक्कै सकिन्न । तर हाडनाताको सम्बन्ध भएका जोडी र समलिङ्गीहरुका लागि विद्यमान विवाह पद्धति र उनीहरुमाथि लगाइएको बन्देजको विकल्प भने जरुर हो लिभिङ टुगेदर ।
‘ग्लोबल प्रेस जर्नल’को प्रकाशित तथ्याङ्कअनुसार महिला आयोगमा सन् २०१२–२०१३ सम्म दर्ता गरिएको घरेलु दुर्व्यवहारमा लगभग २५ प्रतिशत लिभिङ टुगेदरमा रहेको महिलाहरु पर्दछन् । विवाह पूर्वको यौन सम्पर्कलाई नेपाली समाजले अस्वीकार गर्ने हुँदा अधिकांश पीडित महिलाहरु यस्तो समस्या बाहिर ल्याउन असक्षम छन् । ईज्जतको डरले जस्तोसुकै कठिन अवस्था झेले पनि समस्या सार्वजनिक गर्न चाँहदैनन् ।
राष्ट्रिय महिला आयोगले लिभिङ टुगेदरसम्बन्धि सन् २०११ मा गरेको सर्वेक्षणअनुसार केवल २० प्रतिशत पुरुषमात्र आफ्नो पार्टनरसँग विवाह गर्ने मनसायले प्रतिशत बस्ने गरेको पाइन्छ । तसर्थ यस्तो सम्बन्धमा बस्नु अघि महिलाले पनि उचित निर्णय लिनु आवश्यक देखिन्छ ।
उचित कानुनी व्यवस्थाको अभावमा लिभिङ टुगेदर बसाइँको प्रचलनले समाजलाई नकारात्मक दिशातर्फ डोर्याएको महसुस गर्न सकिन्छ । कानुनी खुलापनको उपज कतिपय विवाहित पुरुषले अविवाहित महिलालाई विवाहको प्रलोभनमा पारी शारीरिक शोषण गरी अलपत्र पारेको जवलन्त उदाहरण छन् । विभिन्न विश्लेषकले लिभ ईन रिलेशनसिपमा बस्दा एकअर्कालाई विवाह अगावै पहिचान गर्ने मौकाको रुपमा व्याख्या गरेको पाइन्छ । सोही विश्लेषणको आधारमा लिभिङ टुगेदरलाई ‘टेस्ट राउण्ड’को रुपमा विश्लेषण गरिएको छ भन्न सकिन्छ । मन परे ‘गो अहेड’ नपरे ‘गेट लस्ट’ ।
लिभिङ टुगेदरको पूर्ण रुप विवाह नै रहेको हुँदा र यसको असरबाट मुक्ति मिल्ने हुँदा तत्कालीन नेपाली समाजमा हावी भएको विवाह पद्धति नै उचित हुने देखिन्छ । समस्याबाट बञ्चित, भौतिक सम्पतिमा पहुँच, कानुनी, पारिवारिक र सामाजिक सुरक्षा हुने हुँदा लिभिङ टुगेदरसम्बन्धि उचित कानुनको परिबन्ध नभएसम्म विवाह बन्धन नै अंगाल्नु उचित देखिन्छ ।
लिभिङ टुगेदरको हकमा सामाजिक मानसिकताको परिवर्तनका साथै प्रभावकारी र उपयुक्त कानुनी संरक्षणको आवस्यकता देखिन्छ । यसको निम्ति उमेर हद कायम गर्ने, महिला तथा बालबच्चाहरुको संरक्षणको निम्ति नीति निर्माण गर्नुका साथै व्यवस्थित कानुनी कारवाहीको व्याख्या हुन अति आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री