मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

वैद्य माओवादी परित्याग गर्दै संयुक्त समाजवादी मोर्चाको घोषणा

सोमबार, १४ चैत २०७८, २१ : ३५
सोमबार, १४ चैत २०७८

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार गर्ने भएपछि पार्टीबाट विद्रोह गर्दै युवा, विद्यार्थीहरुले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् ।  क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै पार्टीका युवा तथा विद्यार्थी नेताहरुले सो पार्टी परित्याग गरेका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा संयुक्त समाजवादी मोर्चाको घोषणा गरिएको हो । पार्टीले निर्वाचनलाई बहिष्कार, उपयोग र फेरी बहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले पार्टी परित्याग गर्नुपरेको संयुक्त समाजवादी मोर्चाका अध्यक्ष भण्डारीले बताए ।

उनले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले तत्कालिन माओवादी पार्टीबाट विभाजन हुनुको औचित्य पुष्टि गर्न नसकेको उल्लेख गरे । उनले मोहन वैद्यको नेतृत्वमा समाजवादी क्रान्ति पुरा गर्न सम्भव नभएकाले युवाहरुले विद्रोह गरेको पनि बताए ।  उनले नवगठित मोर्चा आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भाग लिने बताए । तत्काल आफूहरुको मोर्चा निर्वाचन आयोगमा दर्ता हुन नसक्ने भएकाले अन्य पार्टीको निर्वाचन चिन्हमार्फत निर्वाचनमा जाने अध्यक्ष भण्डारीले बताए । मोर्चाले शान्तिपूर्ण रुपमा समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडी बढाउने उनले बताए । मोर्चाले १५ दिन भित्रमा राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप