ठाटीकाँधका पाँच वर्ष : मात्रै बिस्मात, छैन हर्ष
दैलेखको पश्चिम क्षेत्रमा पर्ने ठाटीकाँध गाउँपालिकाले विगत चार आर्थिक बर्षमा झण्डै २ अर्बको हाराहारीमा बजेट पायो । तर अहिलेसम्म विकास र समृद्धिका नाममा कच्ची सडक निर्माणको काम बाहेक अन्य कुनै खास काम गर्न सकेन । अहिलेसम्म गाउँपालिकाले आफ्नै कार्यालय बनाउन सकेको छैन, बरु गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई पालिकाको बजेट दुरुपयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ । गाउँपालिकामा भ्रष्टाचार र वेथिती गरेको भन्दै ०७६ पुसमा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेकपाका कार्यकर्ताले घरबाटै अपहरण गरेर उनलाई कालीकोट पुर्याएका थिए ।
अध्यक्ष शाहीले ‘व्यावसायिक शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार ठाटीकाँधको समृद्धिको आधार’ भन्ने मुल नारा बनाएका थिए । तर, उनले बनाएको नारा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै भएको छ । उनको रवैयाले वडाध्यक्ष, उपाध्यक्षसमेत आजित छन् । आफूले बजेट परिचालन गर्न नपाउने भएपछि वडालाई दिनुपर्ने बजेट समेत आफूसँगै राखेर वडाध्यक्षको अधिकारमा पनि हस्तक्षेप गरिरहेका छन् ।
कहाँ हरायो चुनावी प्रतिबद्धता ?
नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्ष जितेका शाहीले जनतासँग भोट माग्दै गर्दा २५ वटा प्रतिबद्धता जनाएका थिए । उनको अपीलको १२ नम्बर बुँदामा मटेला, विशाला, बाहाकोट, माझखर्च, ठाटीकाँध, आग्र, अधिकारीचौर, गैरागाउँमा केबलकार जोड्ने प्रतिबद्धता थियो । अध्यक्ष शाहीसँग पराजित नेपाली काँग्रेसका नेता रक्षबहादुर शाही भन्छन्,‘न यो योजना पालिकाबाट सम्भव थियो, न केबलकार बनाउन सक्ने हैसियत थियो । यी लगायत कैंयौ प्रतिबद्धता केवल भ्रम छर्न गरिएको थियो ।’
अध्यक्ष शाहीको अपीलमा ‘एक घर, एक रोजगार’ अर्को महत्वपूर्ण प्रतिबद्धता थियो । तर यस गाउँपालिकाका ९० प्रतिशत युवा अझैपनि रोजगारीको लागि कालापहाड जान बाध्य छन् । ठाटीकाँध बजारलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने उल्लेख गरेपनि बजार अहिलेसम्म व्यवस्थित हुन सकिरहेको छैन । सडक विस्तारमा केही काम भएपनि रिङरोड निर्माण गर्ने, बिजारलाई हवाई मैदानको रुपमा विकास गर्ने आश्वासन झूटा सावित भएको छ ।
प्रतिबद्धताप्रति उपाध्यक्ष नै असहमत
०७४ को चुनावमा एमालेबाट नै उपाध्यक्षमा जितेकी हुन् सुस्मिता सिंहले । एमाले विभाजनपछि भने उनी एकीकृत समाजवादीमा लागिन् । सिंहले ०७४ मा एमालेबाट लड्दै गर्दा गरेका चुनावी प्रतिबद्धतालाई अस्वीकार गरेकी छिन् । ‘त्यो घोषणापत्रमा थेग्नै नसकिने, सम्भव नै नहुने प्रतिबद्धता उल्लेख थिए । म जनप्रतिनिधि भएपनि यो पालिका गलत तरिकाले चलेको थियो भन्न मलाई कुनै संकोच छैन,’ रातोपाटीसँग कुरा गर्दै उनले भनिन्, त्यो बेलाको घोषणापत्र त जनतालाई भ्रम छर्ने खेतीको रुपमा मैले बुझ्छु । किनकी केबुलकार, स्मार्ट सिटी त हामीले गर्न सक्ने सम्भव नै थिएन । मलाई राखेर घोषणापत्र बनाउँदा अर्कै थियो । तर पछि प्रकाशन गर्दा त हुनै नसक्ने हावादारी कुरा उल्लेख गरिए । पछि बाध्य भएर सहमति जनाउनै पर्ने स्थिति आयो ।’
साथै उपाध्यक्ष सिंहले गाउँपालिका अध्यक्ष शाहीबाट आफूहरु अपहेलित भएको पनि संकेत गरिन् । उनी भन्छिन्,‘अध्यक्षले अरु कसैको कुरा सुन्दैनन् । महिलाका सवालमा बजेट माग्दा पनि नदिने । मुख्य कार्यक्रमहरुमा मलाई नै सहभागी नगराउने जस्ता काम गरे ।’
०७४ को निर्वाचनलाई फर्केर हेर्दा
०७४ को स्थानीय तहको निर्वाचनमा यहाँ नेकपा एमाले, नेपाली काँग्रेस र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । गाउँपालिकामा विगतदेखि नै एमाले बलियो शक्तिका रुपमा स्थापित छ । अध्यक्ष र उपाध्यक्षसहित पाँच वटा वडामा एमालेले जित हासिल गरेको थियो भने नेपाली काँग्रेस एउटा वडामा मात्र सीमित थियो ।
अध्यक्षमा एमालेबाट धीरबहादुर शाहीले एक हजार ९२४ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी काँग्रेसका रक्षबहादुर शाहीले एक हजार ५६३ मत, यस्तै माओवादी केन्द्रका योगेन्द्र विक्रमराज थापाले एक हजार ३०६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा भने एमालेबाट (हाल एकीकृत समाजवादी) सुस्मिता सिंहले नेपाली काँग्रेसकी भद्रा कुमारी शाहीलाई पराजित गरेकी थिइन् । भद्राले एक हजार ५३२ मत ल्याउँदा सिंहले एक हजार ९७८ मत प्राप्त गरेर विजयी भएकी थिइन् ।
हाल कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, पूर्व मन्त्री समेत रहेका एमाले प्रदेश कमिटी अध्यक्ष विनोद कुमार शाह ठाटीकाँध गाउँपालिकाकै रैथाने हुन् । तर नेताहरुको सोच विकास र समृद्धिको पक्षमा नभई सत्ता र आफू बन्नेमा केन्द्रीत भएकाले यो पालिका पछि परेको स्थानीय बुद्धिजीविहरुको भनाई छ ।
अब को बन्ला गाउँपालिका अध्यक्ष ?
०७४ मा एमालेले वर्चस्व जमाएको ठाटीकाँधमा अब गाउँपालिकाको नेतृत्व कसले गर्ला भन्ने लेखाजोखा सुरु भइसकेको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोकिएसँगै दलहरुले गाउँघरमा चुनावी अभियान चलाइसकेका छन् । आउने चुनावमा पनि काँग्रेस, माओवादी र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । तर एमाले विभाजन भई एकीकृत समाजवादी पनि अग्नी परीक्षामा छ ।
नेपाली काँग्रेसबाट०७४ मा अध्यक्षमा पराजित रक्षबहादुर शाही नै अध्यक्षको दाबेदार छन् । उनी रामचन्द्र पौडेल गुटका हुन् भने सोही गुटबाट नै देवेन्द्र शाहीले पनि आकाँक्षा जनाएका छन् । शाही आफू उम्मेदवार हुनेमा ढुक्क छन् । यस्तै एमालेबाट भने अध्यक्षका आकाँक्षीहरु धेरै छन् । वर्तमान अध्यक्ष धीरबहादुर शाहीले पुनः अध्यक्षमा चाहना देखाएका छन् । यस्तै अध्यक्षमा युवा नेता कुमार विक्रम शाही, लक्ष्मीदेवी शाह, योगेन्द्र विक्रमराज थापा, बखत भण्डारी, कर्णबहादुर शाही लगायतका नेताहरुले एमालेबाट आकाँक्षा देखाएका छन् ।
हाल एमालेमा रहेका योगेन्द्र विक्रमराज थापा र बखत भण्डारी पूर्व माओवादी हुन् । थापा ०७४ को निर्वाचनमा माओवादीबाट उम्मेदवार थिए । यस्तै कर्णबहादुर शाही हाल वडा नं ३ को वडाध्यक्ष हुन् । यस्तै आंकक्षी लक्ष्मीदेवी शाह एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहकी श्रीमती हुन् । साथै उनी जिल्ला समन्वय समिति दैलेखकी उप–प्रमुख समेत हुन् । उनी ०७४ को चुनावमा वडा सदस्यमात्र थिइन् । यीमध्ये युवा नेता कुमार विक्रम शाहीको अध्यक्षमा प्रमुख दाबेदारी छ ।
यस्तै नेकपा माओवादी केन्द्रबाट उपेन्द्र कुमार रावत (सुशील), निर्मल रावत, टेकबहादुर थापा अध्यक्षका दाबेदार छन् । यदि एमालेबाट पूर्व माओवादी नेता थापा र भण्डारी लडेको खण्डमा नेपाली काँग्रेसलाई चुनाव जित्न सहज हुनेछ भने युवा नेता शाही उम्मेदवार भएमा काँग्रेसलाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ । यस्तै एकीकृत समाजवादीबाट वर्तमान उपाध्यक्ष सुस्मिता सिंहले पनि अध्यक्ष लड्ने आकाँक्षा जाहेर गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...