‘काठमाडौँ महानगरपालिकाको मेयरमा काँग्रेसबाट युवाले ‘चान्स’ पाउनुपर्छ’
आगामी स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै विभिन्न स्थानीय तहमा विभिन्न पदका दाबेदारहरू खडा हुन थालेका छन् । धेरैको चासोको विषय रहने काठमाडौँ महानगरपालिकामा पनि विभिन्न पार्टीबाट नगरप्रमुख पदका लागि दाबेदारी प्रस्तुत गर्न सुरु भएको छ । नेपाली काँग्रेसको तर्फबाट युवा नेता सुसन वैद्यले मेयरमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका समितिका सचिव समेत रहेका वैद्य पेसाले आर्किटेक इन्जिनियर हुन् । रानीपोखरी, कमलपोखरीलगायत काठमाडौँ महानगर भित्रका प्राचीन सम्पदालाई मौलिक ढंगले पुनर्निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेलेका उनी सामाजिक अभियन्ता पनि हुन् । नेपाल विद्यार्थी संघबाट राजनीति थालेका उनी २०५५ सालको स्ववियु निर्वाचनमा थापाथली क्याम्पसको स्ववियु उपसभापतिमा समेत निर्वाचित भएका थिए । प्रस्तुत छ, आगामी स्थानीय तहका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका वैद्यसँग स्थानीय तह निर्वाचनको सन्दर्भमा केन्द्रित रहेर रातोपाटीले गरेको कुराकानी :
आगामी स्थानीय तहको निर्वाचनमा तपाईंंले काठमाडौँ महानगरपालिकाको मेयरमा दाबेदारी प्रस्तुत गर्नुभएको रहेछ । पार्टीबाट टिकट पाउन के के गर्दै हुनुहुन्छ ?
स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौटका लागि हाम्रो पार्टीले आफ्नै विधि विधान बनाएको छ । पार्टीका तल्लो तहका ३ जनाले उम्मेदवार सिफारिस गर्ने र प्रदेशले राय दिने, त्यसमा केन्द्रीय समितिले राय दिएर केन्द्रीय समितिले टिकट दिने व्यवस्था छ । नयाँ युवा पुस्तालाई मौका दिनुपर्छ, अगाडि बढाउनुपर्छ भनेर पनि हामीले पार्टीमा छलफल अघि बढाइरहेका छौँ । पार्टीले पनि युवाहरूको सक्रिय राजनीतिक भूमिकालाई खोजिरहेको छ । युवालाई समेटर अघि बढ्ने पार्टीले नीति बनाएको छ । स्थानीय तहमा दैनिक गतिविधि सक्रियताका साथ सम्पन्न गर्न, जनताका समस्या समाधान गर्नका लागि युवा नेतृत्व चयन हुनु आवश्यक छ । काठमाडौँ महानगरपालिकामा मात्र नभई देशभर नै युवा नेतृत्वलाई अघि सार्ने हो भने त्यसले क्रियाशीलतालाई बढाउँछ । युवा जोश जाँगरलाई स्थान दिनुपर्छ भनेर हामीले पार्टीका नेताहरूसँग कुरा गरिरहेका छौँ ।
मेयरमा हालको उपप्रमुख हरिप्रभा खड्गीले पनि दाबी गर्नुभएको छ, अन्य दाबेदार कत्तिको छन् ?
काँग्रेस नेपालको सबैभन्दा ठुलो पार्टी हो, त्यसैले पनि चुनाव आएपछि दाबेदार धेरै हुनु स्वाभाविक हो । उम्मेदवार नै नपाउने पार्टीहरू भएको बेला उम्मेदवार हुनका लागि प्रतिस्पर्धा हुनु पनि राम्रो हो । अहिले हाम्रो पार्टीबाट महानगरपालिका प्रमुखका लागि एक दर्जन हाराहारी उम्मेदवारका दाबेदार छन् । जो एकसे एक छन् । पार्टीले जसलाई टिकट दिए पनि हामी काठमाडौँ महानगरपालिकामा चुनाव जित्छौँ । हिजो नेतृत्वमा बसेका हरिप्रभाजीहरुले पुनः उम्मेदवारको दाबी गर्नु पनि स्वाभाविक नै हो ।
महानगरको प्रमुखका लागि तपाईंले दावेदारी प्रस्तुत गरिरहँदा तपाईंका भिजन, योजना के के छन् ?
मेरो लक्ष्य काठमाडौँ महानगरपालिकाको प्रमुख बन्ने मात्र हैन, महानगरवासीका दुःखको अन्त्य गर्नु हो । महानगरका तमाम समस्याको समाधान गर्ने लक्ष्य हो । महानगरको समस्या समाधानका लागि साधनका रूपमा प्रमुखमा मेरो दावेदारी हो । काठमाडौँमा शनिवार यात्रा जति सहज हुन्छ, अरू दिन ट्राफिक जामले कठिन हुन्छ । म अहिले आफ्नै गाडीमा हिँड्ने गरे पनि सार्वजनिक गाडीमा हिँड्न झन् कठिन छ । मेरो पहिलो उद्देश्य यहाँको सार्वजनिक सवारी यातायातलाई व्यवस्थित बनाउनु हो ।
जबसम्म हामीले काठमाडौँ महानगरबाट निजी यातायात हटाउन सक्दैनौँ, तबसम्म जामको समस्या हल गर्न सकिँदैन । सडक बढाउने ठाउँ पनि छैन, थोरै सडक बढाएर पनि दीर्घकालीन समस्या समाधान हुँदैन । यो समस्या समाधानको एकमात्र उपाय भनेकै सार्वजनिक यातायातलाई सुविधाजनक, बलियो र विश्वसनीय बनाउने हो । यस्ता समस्या समाधान गर्दा यो महानगर हैन, महानघर जस्तै बन्छ । जसरी हामी आफ्नो घर बलियो तथा सफा बनाउछौंँ, म काठमाडौँलाई त्यस्तै बनाउन चाहन्छु ।
हालै गरिएको एक सर्वेक्षणमा वायु प्रदूषणमा काठमाडौँ शहर नवौँ नम्बरमा परेछ, संविधानले दिएको आधारभूत अधिकारको रूपमा रहेको स्वच्छ वातावरणमा जिउन पाउने अधिकारलाई कार्यान्वयन गर्ने, धुलो धुवाँमुक्त काठमाडौँ बनाउने मेरो भिजन छ ।
नर्वेले लामो समयदेखि अभ्यास गरेको ‘हाईब्रिड वर्क मोडेल’ लागू गर्नुपर्छ । जसरी हामीले लकडाउनका बेला घरबाटै हुन सक्ने काम घरबाटै गर्यौँ । त्यसरी काम गर्दा काम पनि रोकिएन । कुन कुन पेसामा, कुन कुन क्षेत्रमा घरबाटै काम गर्न सकिन्छ, त्यसलाई जोड दिएर पनि सडकमा सवारीको चाप घटाउन सकिन्छ । नजिकै कार्यालय छ भने हिँडेर जाने, यसले ट्राफिक जाम, प्रदूषण घटाउन पनि सकिन्छ ।
यस्तै खानेपानी, फोहोरमैला व्यवस्थापनमा पनि समस्या छ । अहिलेको अवस्था हेर्दा काठमाडौँ महानगरपालिकाले यी विषयलाई राम्रोसँग जिम्मेवारी बहन गर्न सकेको छैन । खानेपानीको व्यवस्था केयूकेएलले नगरी महानगरपालिकाले गर्नुपर्ने थियो तर केयुकेएलको बोर्डमा महानगरपालिका भए पनि पछिल्लो ५ वर्षमा कुनै प्रतिनिधि पठाइएन । त्यो भनेको काठमाडौँ महानगरपालिका आफ्ना नागरिकप्रति उत्तरदायी नभएको हो । महानगरको प्रतिनिधिले त केयूकेएलमा हरेक दिन कहाँ पानी वितरण भइरहेको छ, कहाँ भएन, त्यसको निगरानी गर्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन ।
अर्कोतिर फोहोर व्यवस्थापनमा काठमाडौँ महानगरपालिका संवेदनशील भइरहेको छैन । जबकि फोहोर व्यवस्थापनका लागि एउटा घरबाट मासिक ४ सयसम्म उठाइन्छ । फोहोर व्यवस्थापनका लागि वर्षैभरि चौबीसै घण्टा काम गरिरहने एउटा ‘सेल’ बनाउनुपर्छ । सिसडोलमा विरोध भएपछि मात्रै जाग्ने महानगरपालिका भयो भने फोहोर व्यवस्थापनमा सँधैं समस्या आइराख्छ ।
अर्को महानगरका सडकमा पहिलो प्राथमिकता पैदलयात्रीको हुनुपर्छ । पैदलयात्रीका लागि व्यवस्थित फुटपाथको व्यवस्थापन गर्ने मेरो भिजन छ । यस्तै काठमाडौँ महानगरपालिकामा अस्पताल, स्वास्थ्य सेवाको व्यवस्थापन, सहज रूपमा कसरी स्वास्थ्य सेवा लिन सकिन्छ, त्यसको व्यवस्थापनका लागि काम गर्ने मेरो योजना छ ।
तपाईंंले पार्टीमा काठमाडौँ महानगरपालिका प्रमुखका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीको प्रतिक्रिया कस्तो छ ?
निश्चय नै मैले आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको छु । अघि मैले भनेजस्तै नेपालको ठुलो पार्टीमा उम्मेदवारको दाबेदारी थोरै हुँदैन । विभिन्न उमेर समूह, वर्ग, लिङ्ग, क्षेत्र, भाषा लगायत फरक फरक क्षेत्रबाट उम्मेदवारको दाबेदारी रहेको छ । यी सबै पक्षहरूसँग छलफल भइरहेको छ । मेरो पनि दाबेदारी रहेकोले पार्टीले आवश्यक र उचित निर्णय हुने अपेक्षा गरेको छु ।
उमेरको हिसाबले तपाईंं युवा हुनुहुन्छ । युवा नेतृत्वको हैसियतले टिकट पाउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हाम्रो पार्टीको इतिहास हेर्नुभयो भने विभिन्न महत्त्वपूर्ण क्षणमा युवालाई स्थान दिइएको छ, नेतृत्व गर्न युवाहरूलाई अघि बढाइएको छ । काँग्रेस पार्टी स्थापना हुने बेलामा वीपीको उमेर कति थियो, त्यसबाट नै प्रष्ट हुन्छ । गणेशमान सिंह पनि युवावस्थामै मन्त्री बन्नुभयो । २८ वर्षको उमेरमा नै नवीन्द्रराज जोशी काठमाडौँको मेयर बन्नुभएको थियो । युवावस्थामा जजसले अवसर पाए, काँग्रेस पार्टी र देशलाई अघि बढ्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । अहिले त पार्टीको केन्द्रीय समिति पनि युवामय भएको छ । पार्टीको केन्द्रीय समितिले पनि स्थानीय तहमा उम्मेदवार चयन गर्दा युवालाई स्थान दिन परिपत्र नै सर्कुलर गरेको छ । खास गरी १८ देखि ३५ वर्ष भित्रकालाई स्थान दिनु भनेर उल्लेख नै गरेको छ । त्यसकारण पनि पार्टीले युवालाई उम्मेदवार हुन अवसर दिन्छ भन्ने कुरामा विश्वस्त छु ।
तपाईंंको राजनीतिक योगदानलाई पार्टीले कसरी लिएको छ, उम्मेदवारको दाबेदारी प्रस्तुत गर्न केन्द्रीय तहका नेताहरूसँग भेटघाटलाई कसरी अघि बढाइरहनुभएको छ ?
मेरो पारिवारिक पृष्ठभूमि नै नेपाली काँग्रेस हो । मेरो बुवा केशव वैद्य २०३६ सालमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका लागि हामीले सारा धनसम्पत्ति सक्नुपर्‍यो । त्यतिबेला अहिलेजस्तो राम्रो स्वास्थ्य सेवा पनि थिएन । मेरी आमाले हाम्रो भए जति सबै जायजेथा उपचारका लागि होमेर बुवालाई बचाउन सफल हुनुभयो । हामी राजनीतिक रूपमा पीडित पनि हौँ ।
म स्वयम् पनि लामो समयदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिमा आबद्ध छु । २०५५ सालको स्ववियु चुनावमा थापाथली क्याम्पसमा स्ववियु उपसभापतिमा निर्वाचित भएको थिएँ । त्यतिबेला सँगै राजनीति गरेका साथीहरू अहिले पार्टीको केन्द्रीय समितिमा पनि पुग्नुभएको छ । पार्टीका धेरै नेताहरूसँग मेरो राम्रो सम्बन्ध रहेको छ, उहाँहरूले मप्रति सकारात्मक सद्भाव राख्नुभएको छ । मैले धेरै नेतालाई भेटेको त छैन तर पार्टीले मलाई न्याय गर्छ भन्ने कुरामा विश्वस्त छु । अहिले समाजले कस्तो नेतृत्व खोजेको छ, त्यो कुरालाई हाम्रो पार्टीले बुझ्छ ।
अहिले तपाईंंको पार्टी गठबन्धन दलमा आबद्ध छ । आगामी निर्वाचनमा गठबन्धन बनाएर जानु उचित छ कि छैन ?
काँग्रेस पार्टी प्रजातान्त्रिक पार्टी हो, हाम्रो उद्देश्य भनेको जनतालाई रिझाएर जनताको मतबाट निर्वाचित हुने र जनताका लागि नै काम गर्ने हो । गठबन्धनतिर भन्दा पनि हाम्रो ध्यान जनतातिर हुनुपर्छ । अहिले कम्युनिष्ट पार्टीहरू बलियो छैनन् भनेर पनि हामी रमाउने हैन । हामीले आफू बलियो बन्ने र जनताका लागि राम्रो काम गरेर विश्वास आर्जन गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार