सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

लेटाङमा महिला प्रहरी हत्या प्रकरण : एक महिलासहित २० जना पक्राउ

सोमबार, १४ चैत २०७८, १६ : ३२
सोमबार, १४ चैत २०७८

मोरङको लेटाङमा महिला प्रहरीको हत्या गरेको अभियोगमा एक जना महिलासहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ–५ का ४८ वर्षीय चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, २३ वर्षीय प्रदीप राई, १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी र १९ वर्षीय संजय मगर रहेका छन् । यस्तै लेटाङ–६ का १८ वर्षीय पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ पनि प्रहरीले सोही घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरेको छ । 

प्रहरीले मिक्लाजुङ–२ घर भइ लेटाङ ५ बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ कै संजीव प्रधान, प्रनिस कट्टेल, जस्मिन पाख्रीन, सुनिल लिम्बू, प्रह्लाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले मोरङ अदालतमा पहिलो चरणमा पक्राउ परेका ९ जना र पछिल्लो चरणमा पक्राउ परेका ११ जनालाई नै ‘कर्तव्य ज्यान मुद्दामा’ म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।  चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्न २० जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ । ‘हिंसात्मक झडपको घटनाको अनुसन्धानको लागि संयुक्त रूपमा अनुसन्धान सुरू भएको छ,’ उनले भने, ‘अनुसन्धान गर्दै पक्राउ गरिने र सोधपुछ हुने क्रममा जारी नै रहेको छ ।’ 

घटना घटाएपछि आरोपी फरार भएका छन् । उनीहरू जंगलमा रहेको हुनसक्ने भएकोले प्रहरीले लेटाङ, केराबारी र मिक्लाजुङसँगै उत्तरी क्षेत्र सर्च अभियान पनि सुरू गरेको छ । घटनाको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानविन समिति गठन गरेर छानविन पनि सुरु गरेको छ । समितिमा एस एसपीसहित एकजना डिएसपी, एक जना इन्स्पेक्टर र दुई जना असई रहेका छन् । छानविन समितिले अनुसन्धान पूरा गरेपछि प्रदेश प्रहरी कार्यलाई प्रतिवेदन बुझाउँछ ।

के भएको थियो घटना ?
एक हप्ता अगाडि लेटाङस्थित शिक्षा विकास माविका शिक्षक मनोज प्रसाद पौडेलले छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि लेटाङ बजार तनावग्रस्त भएको थियो । शिक्षकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै अभिभावक र विद्यार्थीले गत आइतबार (९ दिन अगाडि) प्रदर्शन चर्काएका थिए । विद्यालयको कोठामै थुनिएका शिक्षक पौडेलसहितको टोलीलाई प्रहरीले उद्धार गर्ने प्रयास गर्दा केही युवाले प्रहरी माथि नै आक्रमण सुरु गरेका थिए ।
सो आक्रमणमा  परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

यस्तै सोही घटनामा परी २५ जना प्रहरी र ७ जना सर्वसाधारण घाइते भएका थिए । प्रहरी जवान श्रेष्ठको भीडको आक्रमणमा परी मृत्यु भएको हो । मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिइन् । सो घटनापछि प्रहरीले तीनदिनसम्म लेटाङ बजारमा कर्फ्यु लगाएको थियो । सोमबारदेखि लगाएको कर्फ्यु गत बिहीबार हटाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप