शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक सयमा पढाउने विद्यालय भवनको शिलान्यास

सोमबार, १४ चैत २०७८, १५ : ३६
सोमबार, १४ चैत २०७८

ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । 

७० लाखको लागतमा निर्माण सम्पन्न हुन गइरहेको उक्त विद्यालय भवन आगामी एक वर्षभित्रमा तयार गरिने भएको छ । विद्यालय भवन निर्माणका लागि हास्य कलाकार किरण केसीले व्यक्तिगत एक लाख पाँच हजार पाँच सय र सांस्कृतिक कार्यक्रममार्फत २० लाख उपलब्ध गराउने कार्यक्रममार्फत घोषणा गरेका छन् । 

विद्यालय भवन निर्माणका लागि विराजविक्रम सिलवालले २० वर्षका लागि चार रोपनी जग्गा उपलब्ध गराएपछि विद्यालय भवन बन्ने पक्का भएको हो । यसअघि उक्त विद्यालय ललितपुर महानगरपालिका–१७ मा सञ्चालनमा थियो । पन्ध्र वर्षका लागि उपलब्ध गराइएको जमिनको सम्झौता सकिएपछि विद्यालय अर्को वडामा स्थानान्तरण गर्नुपरेको समता शिक्षा निकेतन गुठीका निर्देशक दीपक सञ्जेलले जानकारी दिए ।

नयाँ निर्माण हुने विद्यालय भवनको आज महालक्ष्मीका  नगरप्रमुख रामेश्वर श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वसभापति जीवा लामिछाने, वरिष्ठ कलाकार हरिवंश आचार्य र नेपाल सरकारका पूर्वमुख्य सचिव तीर्थमान शाक्यले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । 

समता शिक्षा निकेतन गुठीले विगत २१ वर्षदेखि देशका सबै जिल्लामा मासिक १०० मा अङ्ग्रेजी माध्यममा विद्यार्थीलाई पढाउँदै आएको छ । हाल ७७ जिल्लाका ८० स्थानमा समता शिक्षा निकेतन स्कुल सञ्चालनमा छन् । हाल ४० हजार ३२१ विद्यार्थी समताको विद्यालयमा पढ्छन् । समताको स्याङ्जा र गोर्खामा आफ्नै निजी भवन छ । अन्य जिल्लामा दाताले उपलब्ध गराएको जमिनमा कच्चा टहरा बनाइ समताले विद्यालय सञ्चालन गर्दै आएको छ । 

हाल सार्क मुलुकअन्तर्गत भारतको बिहार, श्रीलङ्काको अनुराधापुर, बङ्गलादेशको ढाका र बर्मामा समता गुठीले विद्यालय स्थापना गरी पठनपाठनको कार्यअघि बढाउँदै आएको छ । नेपालमा झण्डै १६ हजार शिक्षक समताले सञ्चालन गरेको विद्यालयमा पढाउने गर्छन् । समताले १०० मा जोरपाटीमा अस्पतालसमेत सञ्चालनमा ल्याएको छ । समता शिक्षा निकेतन गुठीका संस्थापकमा उत्तम सञ्जेल छन् भने संरक्षकका वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्य छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप