शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कतै तपाईं पनि छोराछोरीको गल्ती लुकाउनुहुन्छ वा हरेक माग पुरा गर्नुहुन्छ ? सतर्क हुनुहोस्

सोमबार, १४ चैत २०७८, १३ : २१
सोमबार, १४ चैत २०७८

‘नराम्रो नमान्नुहोला, बच्चै छ’ यस्तो भनेर के तपाईंले पनि कहिले आफ्नो बच्चाको गल्तीमाथि पर्दा हाल्नुभएको छ ? यदि कोही तपाईंको घरमा आएर तपाईंको बच्चाबारे असन्तोष पोख्दा तपाईंले उल्टै बच्चाको तारिफ गर्नुभएको छ ? के तपाईं पनि आफ्नो बच्चाको हरेक जिद्दीपन पूरा गर्ने कोसिस गर्नुहुन्छ ? यो सबै प्रश्न यसकारण किनभने आजकाल धेरैजसो अभिभावक यस्तै गर्छन् तर उनीहरुलाई यो थाहा छैन कि यस्तो गरेर उनका बच्चा थप जिद्दी र अनुशासनहीन भइरहेका छन् ।

भारतकी चाइल्ड साइकोलोजिस्ट बिन्दा सिंह पनि यस्तै भन्छिन्  । आजकाल धेरैजसो आमाबुवा आफ्नो बच्चालाई साथी बनाउने चक्करमा अनुशासनसँग सम्झौता गरिरहेका छन् । उनका अनुसार थुप्रै आमा–बुवा आफ्नो बच्चाको दुर्व्यवहार र अशिष्टताका कारण चिन्तित भएर उनीसँग काउन्सिलिङका लागि आउँछन् । तर चिन्ताको कुरा के हो भने आजकाल बच्चालाई काउन्सिलिङको आवश्यकता किन पर्न थाल्यो । यसको पछाडि बिन्दाले थुप्रै कारण बताएकी छिन् ।

के तपाईंको हुर्काई गलत दिशामा जाँदैछ ?

यदि तपाईंलाई कूल प्यारेन्ट्स बन्ने चक्करमा बच्चाको हुर्काई नै गलत दिशामा जाँदै छ भन्ने महसुस हुन थालेको छ भने तपाईं सजग हुनुपर्छ । यदि तपाईं आफ्नो बच्चाको साथी बन्नुभयो भने उनले साथीसँग जस्तो व्यवहार गर्छन्, घरमा पनि त्यस्तै व्यवहार देखाउँछन् । यसकारण उनीहरुले ठूलासँग आदरका साथ कुरा गर्न सिक्न पाउँदैनन् । यसले बच्चालाई गलत प्रभाव पार्न सक्छ । यसैकारण सुरुदेखि नै बच्चालाई कोसँग कसरी कुरा गर्ने, कस्तो व्यवहार गर्ने भन्नेकुरा सिकाउनुपर्छ । यदि उसले कहिले गल्ती गर्छ र तपाईंले उसलाई आँखामा हेर्नुभयो भने उसले गल्ती गरेको छ भनेर बुझ्नुपर्छ ।

आमा–बुवाले नै सही गलतबीचको फरक सिकाउनुपर्छः

एउटा समय यस्तो पनि थियो । घरमा बुवा अफिसबाट आएको सुइँको लाग्ने बित्तिकै बच्चाहरु किताब–कापी लिएर बस्ने गर्दथे । यसलाई आजको समयमा डरको नाम दिइन्छ । तर त्यतिबेला यसलाई आदर गरेको भनिन्थ्यो । बच्चाको मनमा तपाईंका लागि प्रेम हुनुपर्छ, डर होइन ता कि उसले आफ्नो हरेक कुरा तपाईंलाई भन्न सकोस् । तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने तपाईंले बच्चालाई प्रेमबाट नै सही–गलतबीचको फरक सिकाउनुहोस् । यदि तपाईंले आफ्नो बच्चालाई साथी बनाउनुहुन्छ भने उनीहरुलाई यो फरक बुझाउन तपाईंलाई असाध्यै मुश्किल हुनेछ ।

बच्चालाई मोबाइलभन्दा बढी तपाईंको समयको आवश्यकताः

आजकालका आमा–बुवा आफ्नो काममा यति व्यस्त हुन्छन् कि यति उनीहरुको बच्चा साना छन् र उनीहरु रोइरहेका छन् भने अभिभावकले मोबाइलको गीत बजाइदिएर वा कुनै कार्टुन लगाइदिएर फोन छोडिदिन्छन् र आफू भने काम पूरा गर्नतिर लाग्छन् । यहाँसम्म कि बच्चा थोरै हुर्किएपछि आफ्नो बच्चाले निकै सानो उमेरदेखि नै कति राम्रोसँग मोबाइल चलाउन जानेको भनेर गर्व गर्दै बच्चाको तारिफ गर्न पनि पछि हट्दैनन् । तर त्यहि बच्चा यदि ठूलो भएर कुनै गलत साइटमा जान्छन् वा मोबाइलमार्फत् केही गलत काम गर्छन् भने आफ्नो बच्चा गलत बाटोमा कसरी गयो भन्ने प्रश्नको जवाफ आमाबुवासँग हुँदैन । त्यसैले आमा–बुवाले के बुझ्नुपर्छ भने बच्चालाई मोबाइलभन्दा उनीहरुको समयको आवश्यकता छ । बच्चासँग सकेसम्म खेल्ने, कुरा गर्ने गर्नुपर्छ । अभिभावक आफैंले पनि बच्चाको अगाडि मोबाइलको कमै प्रयोग गर्नुपर्छ ।

बच्चालाई सम्मान गर्न सिकाउनुहोस्ः

बच्चाको हुकाईमा घरको माहौलको निकै ठूलो योगदान हुन्छ । यदि तपाईं पनि आफ्नो बच्चालाई ठूलाको सम्मान गर्न सिकाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला आफ्नो घरको माहौलमा ध्यान दिनुहोस् । यदि तपाईंको बच्चाले कोहीसँग दुर्व्यवहार गरिरहेको छ भने उसलाई तुरुन्त रोक्नुहोस् र आवश्यक परे गाली पनि गर्नुहोस्, ताकि उसले पुनः त्यहि गल्ती नदोहोराओस् ।

बच्चाको अगाडि यस्ता गल्ती नगर्नुहोस्ः

हामीले बच्चालाई केही कुरा गलत हो भनेर सिकाइरहेका हुन्छौँ तर कहिलेकाँही हामी आफैंले त्यहि कुरा गरिरहेका हुन्छौँ । जस्तै कि हामीले बच्चाहरुलाई झुटो बोल्नु हुँदैन भनेर सिकाइरहेका हुन्छौँ तर हामी आफैंले उनीहरुलाई झुटो बोल्न सिकाइरहेका हुन्छौँ जस्तै कि – ​मामु घरमा छैन  भनेर आन्टिलाई भनिदेउ त । हामीले बच्चालाई फोन कम चलाउन, टिभी कम हेर्न सिकाउँछौँ तर आफैँ घण्टौँसम्म टिभी हेर्छौँ, मोबाइल चलाउँछौँ । यसका साथै यदि तपाईं चुरोट पिउनुहुन्छ भने बच्चाको अगाडि नपिउनुहोस् । प्यासिभ स्मोकिङले यसै पनि तपाईंको बच्चाको स्वास्थ्यमा हानी पुगिरहेको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप