शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसदको देश दौडाहा : बजेट छलफल नै रोकियो

सोमबार, १४ चैत २०७८, १२ : २०
सोमबार, १४ चैत २०७८

सांसदहरू उपस्थित नहुँदा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ । सोमबार बिहान १०:३० देखि बस्नेगरी समिति बैठक डाकिएको थियो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल तय भएको थियो ।

अर्थ समितिका २३ सांसद सदस्यमध्ये बैठकमा सहभागी हुन जम्मा २ सांसदमात्रै सिंहदरबारस्थित संघीय संसद सचिवालय, अर्थ समिति बैठक कक्षमा पुगेका थिए । नेकपा (एमाले) का सांसद घनश्याम भुसाल र नेकपा (समाजवादी) का सांसद मेटमणि चौधरीमात्रै बैठक कक्षमा पुगेका हुन्। समिति सभापति कृष्णप्रसाद दाहाल सांसदहरूलाई कुरेर बसिरहे ।

बजेट छलफलमा जुट्नुपर्ने सांसदहरू नै नआएपछि राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी बाहिरिए । उनले मन्त्रिपरिषद् बैठकमा जानुपर्ने भएकाले बाहिरिएको बताएपनि सांसद नै संसदीय समिति बैठकमा उपस्थित नहुनु मुख्य कारण थियो ।

सांसदहरु चुनावी अभियानमा केन्द्रीत भएकाले बैठकमा अनुपस्थित रहेको बताइएको छ ।  अर्थ समिति सचिव सुरेन्द्र भण्डारीले अब अर्थ समिति बैठक नै अनिश्चित भएको बताए । `माननीयज्यूहरु उपस्थित नहुँदा समिति बैठक नै अनिश्चित भएको छ, अब स्थानीय तह निर्वाचनपछि मात्रै बस्न सक्ने देखियो,´ उनले भने, `शुक्रबार र आइतबार पनि बैठकमा सबै माननीयज्यूहरू उपस्थित हुनुभएन, तर पनि पूर्वबजेट छलफल चलायौं । आज त पूर्ण बैठक नै डाकिएको हो, तर बैठक सञ्चालन निम्ति कोरम नै पुगेन ।´

योजना आयोग र अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि प्रकृया अघि बढाएसँगै अर्थ समितिले पूर्व बजेट छलफल थालेको हो । आज बस्ने भनिएको पूर्ण बैठकमार्फत समितिले अर्थ र आयोगलाई आगामी बजेटमा समावेश गर्नुपर्ने विषयबारे निर्देश गर्ने भनिएको थियो ।

तर, सांसद नै उपस्थित नभएपछि बैठक अनिश्चितकालका लागि स्थगित हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप