मकवानपुर : गठबन्धन हुँदैमा निर्वाचन नजित्ने निष्कर्षमा सत्तापक्ष
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मकवानपुरका ३ वटा स्थानीय तहमा नेकपा एमालेविरुद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन थियो । एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपलिकासहित १० वटा स्थानीय तह रहेको मकवानपुरको ३ वटा पालिकामा काँग्रेस र माओवादी केन्द्र चुनावी गठबन्धनमा रहेर निर्वाचनमा होमिएका थिए ।
मकवानपुरमा बलियो अवस्थामा रहेको एमालेविरुद्ध काँग्रेस र माओवादी केन्द्रले २ नगर क्षेत्र र एक गाउँपालिकामा गठबन्धन गरेका थिए । बागमती प्रदेशको राजधानीसमेत रहेको प्रदेशकै एक मात्र उपमहानगरपालिका हेटौंडा, थाहा नगरपालिका र भीमफदी गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रले नेतृत्व तहको लागि मात्र एमाले विरुद्ध गठबन्धन गरेका थिए ।
२०७४ को निर्वाचनमा काँग्रेसले हेटौंडाको मेयर, थाहाको उपमेयर र भीमफेदीको उपाध्यक्ष लिएको थियो भने माओवादी केन्द्रले थाहाको मेयर, हेटौंडाको उपमेयर र भीमफेदीको अध्यक्ष लिएको थियो । तर एमालेविरुद्ध गठबन्धन गरेर निर्वाचन लडेको काँग्रेस र माओवादी केन्द्र केवल थाहा नगरपालिकामा मात्र चुनाव जित्न सके ।
२०७४ को स्थानीय तहमा एमालेले हेटौंडा उपमहानगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको थियो । उपमहानगरपालिका प्रमुखमा एमालेका हरिबहादुर महतले २३ हजार १२४ मत ल्याउँदै जित हात पारे । उनले गठबन्धनका उम्मेदवार काँग्रेसका आनन्दराम पराजुलीलाई पराजित गरेका थिए । पराजुलीले २२ हजार ५०९ मत पाएका थिए ।
हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा एमालेकी मीनाकुमार लामाले गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई हराएकी थिइन् । लामाले २३ हजार ४३७ मत ल्याउँदा, बलले १७ हजार ११ मत ल्याए ।
उता २०७४ मा भीमफेदी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रञ्जित कुमार रानालाई हराउँदै एमालेका हिदम लामा विजयी भएका थिए । लामाले ३ हजार ८४२ मतका साथ पालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए भने रानाले ३ हजार ६९८ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा गठबन्धनका काँग्रेसकी मोम लामा दोङलाई हराउँदै एमालेकी पार्वती रानाले जितेकी थिइन् । रानाले ३ हजार ८०२ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार दोङ ३ हजार ४३५ मतमा सीमित भएका थिए ।
यता मकवानपुरको थाहा नगरपालिकामा भने गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका लवशेर विष्टले ९ हजार ९१ मत प्राप्त गर्दै निर्वाचनमा विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका विष्णु प्रसाद ढकालले ६ हजार ५४९ मत पाएका थिए । त्यस्तै पालिका उपप्रमुखमा गठबन्धनका उम्मेदवार काँग्रेसका खड्ग गोपालीले ७ हजार ३०७ मतसहित चुनाव जितेका थिए । प्रतिद्वन्द्वी एमालेकी कल्पना बलामीले ६ हजार ७४५ मत पाएकी थिइन् ।
गठबन्धन हुँदैमा निर्वाचन नजित्ने निष्कर्ष
२०७४ को निर्वाचनमा एमालेविरुद्ध गठबन्धन गरेका दलका उम्मेदवारहरू गठबन्धनले मात्र आगामी ३० बैशाखमा हुने निर्वाचन नजितिने निष्कर्षमा पुगेका छन् । स्थानीय तहको विगतको निर्वाचनले चुनाव जित्न पार्टी संगठन र जनता प्रतिको इमानदारिता महत्वपूर्ण हुन्छ भन्ने कुरा सिकाएको छ । स्थानीय तहको निर्वाचनमा मुख्यतः जनतामाझ को कति पुगेको छ भन्ने कुराले प्रष्ट देखाउने उनीहरु बताउँछन् । गठबन्धनमा कार्यकर्ताहरूको इमान्दारीता पनि कम नरहने उनीहरुको अनुभव छ ।
माओवादी केन्द्र एक्लै चुनावमा जानुपर्छः राना
विगतको निर्वाचनमा गठबन्धनबाट भीमफेदी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहेका माओवादी केन्द्रका रञ्जित कुमार राना माओवादी केन्द्र आफ्नै शक्तिको भरमा निर्वाचन लड्नुपर्ने बताउँछन् । पछिल्लो समय भीमफेदीमा माओवादी केन्द्रको अवस्थामा उल्लेख्य सुधार भएकाले माओवादी एकल निर्वाचन लड्नुपर्ने उनको जिकिर छ ।
रातोपाटीसँगको कुराकानीमा रानाले भने, ‘गठबन्धनले कार्यकर्ताहरु अल्छी बनाउने र जनताको माझमा आफ्नो विचार सिद्धान्त स्थापित गर्न पनि नसक्ने अवस्था हुन्छ । त्यसैले, आगामी निर्वाचनमा माओवादी केन्द्र एकल रुपमा लड्नुपर्छ ।’ एकल रुपमा निर्वाचनमा लडे भीमफेदीको अध्यक्ष, उपाध्यक्ष लगायत ७ वटा वडामा माओवादीले जित्ने अवस्था रहेको उनको जिकिर छ । उनले हालसम्म काँंग्रेससँग गठबन्धन गरेर निर्वाचनमा जाने तयारी नरहेको पछि पार्टीको केन्द्रीय, प्रदेश र जिल्लाले गठबन्धन गर भन्ने निर्देशन दियो भने त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको जनाए ।
गठबन्धनमा जाँगर छैनः गोपाली
यस अघिको निर्वाचनमा माओवादी–काँग्रेस गठबन्धन गरेर मकवानपुरको थाहा नगरपालिकाको उपमेयर पदमा निर्वाचित भएका नेपाली काँग्रेसका खड्ग गोपाली पार्टीले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने बताउँछन् । उनले काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन नगरी एकल रुपमा निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरे ।
‘अघिल्लो गठबन्धनमा मेयर भनेर सुरुमा भोट माँगेर हिँडियो । गठबन्धन हुँदा उपमेयरमा परियो । म उपमेयरमा पुनः उठ्न चाहन्न । अब काँग्रेसबाट मेयरमा उठ्ने हो । त्यसकै तयारीमा छु,’ गोपालीले भने । थाहा नगरपालिकामा पछिल्लो समय काँग्रेस निकै बलियो शक्तिको रुपमा प्रस्तुत भइरहेकाले यहाँ गठबन्धन गर्न आवश्यक नरहेको उनी बताउँछन् । ‘सिङ्गल–सिङ्गल चुनाव लड्दा थाहा नगरपालिकाको ६ वटा वडामा काँग्रेसले जित्ने निश्चित छ । स्थानीय चुनावमा जनताले पार्टीभन्दा पनि व्यक्तित्व हेर्छ । गठबन्धन गर्दा माओवादीले रुखमा र काँग्रेसले हँसिया हथौडामा भोट हाल्न गाह्रो मान्ने गरेको विगतको अनुभव पनि हामीसँग छ ।’ उनले भने ।
गठबन्धनले मात्र चुनाव जितिन्नः मेयर विष्ट
माओवादी केन्द्र र काँग्रेसको गठबन्धनबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा थाहा नगरपालिकाको मेयर पदमा निर्वाचित भएका लवशेश विष्ट गठबन्धले मात्र चुनाव नजितिने बताउँछन् । उनी माओवादी केन्द्रका हुन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवार स्वयम् पनि लोकप्रिय हुनुपर्ने र पार्टीको संगठन तथा विचार एजेण्डा जनतामाझ पुर्याउन सके चुनावमा सफल हुने उनी बताउँछन् । त्यसैले पनि उनी आगामी निर्वाचनमा एकल रुपमा निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गर्छन् ।
गठबन्धन निर्वाचन जित्नका लागि भन्दा पनि जितको सहजताको लागि मात्र भएको उनको बुझाई छ । आगामी निर्वाचनमा थाहा नगरपालिकाको हकमा माओवादी केन्द्र एकल रुपमा निर्वाचनमा जान तयारी अवस्थामा रहेको उनी बताउँछन् । ‘थाहाको हकमा हामी एक्लै पनि चुनाव लड्न समक्ष छौं । यसअघिको चुनावमा हामीलाई सामान्य सहयोग पुगेको थियो । तर अहिले हामीले पालिकाको निर्णय भन्दा पनि केन्द्रीय स्तरबाट आएको निर्देशन मान्छौँ,’ उनले भने ।
गठबन्धनमा माओवादी इमान्दार देखिएनः दोङ
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नमिठो हार व्यहोरेका गठबन्धनका तर्फबाट भीमफेदी गाउँपालिकाको उपाध्यक्ष पदमा काँग्रेसबाट उम्मेदवार रहेका मोमलाल दोङ विगतमा माओवादी केन्द्रका कार्यकर्ताहरु गठबन्धनमा इमान्दार नदेखिएको तिक्तता पोख्छन् । ‘केही कार्यकर्ता इमान्दार नहुँदा मैले जति मत प्राप्त गर्नुपर्दथ्यो, त्यो पाउन सकिन । अनि अघिल्लो निर्वाचनमा मतदाता शिक्षा पनि कम थियो । त्यसकारण मत पनि धेरै बदर भयो र उपाध्यक्षमा पराजय बेहोरेँ ।’ उनले भने ।
अघिल्लो निर्वाचनको भन्दा अहिले भीमफेदीका सबै वडाहरूमा काँग्रेसको अवस्थामा सुधार आएकाले आगामी निर्वाचनमा भीमफेदी गाउँपालिकाका हकमा काँग्रेसले अन्य पार्टीसँग गठबन्धन गर्न जरुरी नरहेको उनी बताउँछन् । काँग्रेस एकल रुपमा आफ्ना लोकप्रिय उम्मेदवार र नीति तथा एजेण्डा बोकेर जनताको माझमा जानुपर्ने उनको जिकिर छ । तर, केन्द्रीय नेतृत्वको निर्णय भने आफू मानेर जान तयार रहेको बताउँछन् । स्मरण रहोस्, भीमफेदीमा २०७४ सालको निर्वाचनमा २ वटा वडामा मात्र काँग्रेस विजयी भएको थियो ।
गठबन्धनमा इमान नदेखिँदा पराजितः पराजुली
२०७४ सालको निर्वाचनमा गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार काँग्रेसका आनन्दराम पराजुली गठबन्धनमा आवद्ध दलका कार्यकर्ताहरु इमान्दार नहुने गरेको बताउँछन् । उनले विगतमा सोही कारणबाट पनि आफूले पराजय भोग्नु परेको बताए । पछिल्लो समय हेटौंडा उपमहानगरपालिकाको हकमा काँग्रेसको अवस्था निकै बलियो रहेकाले आगामी निर्वाचनमा गठबन्धन गर्न आवश्यक नरहेको उनको पनि ठहर छ । गठबन्धन गर्दा मतदाता शिक्षाको पनि औचित्य नहुने र गठबन्धनको विषय जनतालाई बुझाउन समस्या हुने गरेकाले काँग्रेसले पराजय भोग्नु परेको उनले बताए ।
‘विगतमा गठबन्धनमा दलका कार्यकर्ताहरुको इमान्दारिता देखिएन । जसले गर्दा हामी पराजित भयौँ । पछिल्लो समय काँग्रेस हेटौंडाका बलियो शक्ति बनेको छ । यहाँ कार्यकर्ताको माग पनि गठबन्धन नगरी निर्वाचनमा जाऔं भन्ने छ ।’ उनले भने । काँग्रेसले गठबन्धन गर्नु नै परेमा मेयर उपमेयर मात्र नभई तल्लो तहको सदस्य सम्ममा गर्नुपर्ने उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?