बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन सम्पन्न, निष्कर्ष सरकार र दललाई बुझाइने

सोमबार, १४ चैत २०७८, १० : १८
सोमबार, १४ चैत २०७८

राष्ट्रिय आर्थिक सरोकार समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ सम्पन्न भएको छ । सम्मेलन चैत ११ र १२ गते काठमाडौंमा चलेको थियो । अर्थतन्त्रमा विद्यमान समस्याबारे गहन छलफल गरी समाधानका उपाय खोज्ने र स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण निम्ति आधारशिला तयार पार्ने उद्देश्य सम्मेलन आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । 

सम्मेलन उद्घाटन समारोहमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता डा. प्रकाश शरण महत, एमाले नेता घनश्याम भुषाल, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयाँल, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. शिवराज अधिकारी लगायत उपस्थित थिए। कार्यक्रममा स्वागत मन्तव्य प्रा.डा. जीवनाथ धितालले राखेका थिए । 

समारोहको पहिलो दिन अर्थशास्त्री डा. जीवन अंगाईले नेपाली अर्थतन्त्रको परिदृश्य र समसामयिक मुद्दाहरू विषयक र डा. सुनीलकुमार पोखरेलले दीगो विकास निम्ति प्राकृतिक स्रोतसाधनको उपयोगिता विषयक पेपर प्रस्तुत गरेका थिए । डा. पोखरेलको कार्यपत्रमाथि डा. चन्द्रमणि अधिकारी र डा. निर्मल कुमार रावतले टिप्पणी गरेका थिए ।

सम्मेलनको दोश्रो दिन विभिन्न ७ वटा विषयहरूमा प्रस्तुतीकरण र गोलमेच छलफल भएको थियो । यी शत्रहरूमा प्रा. डा. सुरेन्द्र लाभ कर्ण, दीपेन्द्रबहादुर क्षेत्री, डा दिलबहादुर गुरुङ, प्रा. डा. सूर्य थापा, लीलामणि पौडेल, डा. रघुवीर विष्ट र प्रा. डा. विश्वम्भर प्याकुरेलले अध्यक्षता गरेका थिए । पहिलो कार्यपत्र हरि रोकाले ‘कसरी निर्माण गर्न सकिन्छ नेपाली समाज?’ विषयक प्रस्तुति दिएका थिए । सो प्रस्तुतिमाथि डा. सुरेन्द्र उप्रेती र डा. उत्तम खनालले टिप्पणी गरेका थिए ।

डा. मीनबहादुर श्रेष्ठले ‘नेपालमा योजनाको कार्यान्वयन र अवस्था’, डा. गणेशराज जोशीले ‘नेपालमा कृषिको रूपान्तरणका अवसर र चुनौति’, डा. उत्तम खनालले ‘समाजवाद उन्मुख अर्थतन्त्रमा निजीक्षेत्रको भूमिका’, डा. ज्ञानेन्द्रप्रसाद पौडेलले ‘सहकारीको ६५ वर्षे इतिहास र भावी दिशा’, डा. भरतराम ढुंगाना र सिद्धराज भट्टले ‘नेपालमा वित्तीय पहुँच र उत्पादनशील लगानी’ र बैकुण्ठ पाण्डेले ‘नवउदारवादी नीतिको प्रभाव’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । यी कार्यपत्रहरूमा प्रा. डा. गोविन्द नेपाल, प्रा. डा. सुरेन्द्र लाभ कर्ण, डा. यम बहादुर थापा, डा. सुशील पाण्डे, बाबुल खनाल, गणेश घिमिरे, डा. चन्द्रकान्त पौडेल,  परितोष पौड्याल, गोपी मैनाली, नर बहादुर थापा, अनन्तराज दाहाल, अनन्त कुमार मैनाली, डा. डिल्लीराज खनाल र टीएन आचार्यले टिप्पणी गरेका थिए ।

कार्यक्रममा गोलमेच छलफल पनि भएको आयोजकले जानकारी दिएको छ । गोलमेच छलफलको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्य डा. फुयाँलले गरेका थिए । छलफलले कार्यपत्रबाट आएका सुझावहरूबाट निष्कर्षसमेत निकालेको छ । सम्मेलनका कार्यपत्र र विज्ञहरूका सुझाव नेपाल सरकार र प्रमुख राजनीतिक दलहरूलाई बुझाइने संस्थाका उपाध्यक्ष डा. अंगाईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप