बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘निर्दलीय उम्मेदवारलाई धनगढीको मेयर जिताए विकास धरापमा पर्छ’

सोमबार, १४ चैत २०७८, १० : ०५
सोमबार, १४ चैत २०७८

सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरू आन्तरिक हिसाब किताबमा व्यस्त छन् । प्रदेशका ८८ वटा स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । सुदूरपश्चिममा मुख्यतः काँग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी पार्टी आन्तरिक रणनीति निर्माण गरिरहेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधि पुनः उम्मेदवार बन्ने दौडमा छन् । उनीहरूको दैनिकी नै अचेल पार्टीको नेतृत्व र मतदाता रिझाउनेमा केन्द्रित छ ।

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीका मेयर नृपबहादुर वडको दैनिकी पनि माथि उल्लेखित भन्दा फरक छैन । गत बुधबार रातोपाटी टोलीले सम्पर्क गर्न खोज्दा मेयर वड मतदातामाझ व्यस्त थिए । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका उनी पार्टी नेतृत्वले फेरि पनि आफूलाई धनगढी उपमहानगरपालिकाको उम्मेदवार बनाउनेमा उनी ढुक्कजस्तै छन् । उनले अनौपचारिक रूपमा चुनावी अभियान नै थालेको अवस्था छ । यसअघिको चुनावमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले उनलाई आच्छु आच्छु पारेका थिए । तर हमाललाई उनले प्रतिस्पर्धी ठान्दैनन् । स्वतन्त्र उम्मेदवारले विकास गर्न नसक्ने उनको जिकिर छ । रातोपाटीले मेयर वडसँग पाँच वर्षको कामकारबाही र चुनावी प्रतिस्पर्धाबारे कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

धनगढी उपमहानगरपालिकाको मेयर भएर पाँच वर्ष काम गर्नुभयो । आफ्नो कामप्रति सन्तुष्ट हुनुहुन्छ ?

पहिलो वर्ष हामीले जुन रफतारमा काम गरेका थियौँ, पछि त्यो रफ्तारमा अनेक परिस्थितिका कारण जान सकेनौँ । ६ महिना हावाहुरीको चपेटामा हाम्रो नगरपालिका पर्‍यो । कर्मचारीका सन्दर्भमा पनि हामीले अप्ठ्यारो भोग्नुपर्‍यो । आजसम्म १३ वटा प्रमुख प्रशासकीय अधिकृत फेरिएको अवस्था हो । यसका साथै अढाई वर्ष हामी कोभिड–१९ को चपेटामा पर्‍यौँ  । यसका बाबजुद पनि धनगढी उपमहानगरपालिकामा भएको कामप्रति म सन्तुष्ट छु ।

तपाईंले पाँच वर्षमा त्यस्तो उल्लेखनीय के काम गर्नुभयो ?

हामी कुनै पनि क्षेत्रमा पछाडि परेका छैनौँ । नयाँ काम गरेर उत्कृष्ट हुने प्रक्रियामा धनगढी उपमहानगरपालिका पछाडि परेन । कोभिड हुँदा हुँदै पनि शिक्षाका क्षेत्रमा ३६ वटा भवन निर्माण भए । धेरै विद्यालयमा पर्खाल निर्माण गरियो । पुस्तकालय नभएको विद्यालयमा त्यसको व्यवस्था गरियो । कोभिडमा अनलाइन कक्षा सुरु गरियो । टेन प्लस टू नभएको ठाउँमा त्यसको पनि व्यवस्था गरियो ।

हामीले प्राविधिक क्षेत्रलाई बढी भन्दा बढी महत्त्व दिएका छौँ । धनगढी उपमहानगरपालिकामा हाम्रो आफ्नै प्राविधिक विद्यालय छ, कृषि कलेज छ । ओभरसियर र इन्जिनियर उत्पादन गर्ने कलेज छ । फार्मेसीको डिप्लोमा पढाइ हुने कलेज छ । एसपिए कलेज लगायतमा कानुन विषयको पढाइ सुरु गरेका छौँ । 

यस्तै खानेपानीको क्षेत्रमा हामी आउँदा करिब ८ सय सदस्य थिए । अहिले साढे नौ हजार घरधुरी खानेपानीसँग जोडिएको छ । त्यो बेला दुई मात्र खानेपानीको ट्याङ्की थियो भने अहिले १६ वटा वडामा खानेपानी ट्याङ्की निर्माण र बोरिङ गरिसकेका छौँ । स्वास्थ्यमा हामीले काम गरेको कुरा उहाँहरूलाई थाहा नै छ ।

हामीले संघ, प्रदेश र स्वास्थ्य सम्बन्धी काम गर्ने संस्था गरी तीन वटा पुरस्कार पाएको अवस्था छ । १७ वटा वडामा हाम्रो आफ्नै स्वास्थ्य कार्यालय छ । पहिले तीन वटा वडा बाहेक कुनैमा पनि वडा कार्यालय थिएन, अहिले १७ वटा वडामा हाम्रो आफ्नै वडा कार्यालय छ । दुई वटामा भने जमिनका समस्याले भवन बनाउन सकिएको छैन । 

यस्तै नगर क्षेत्रमा व्यापक मात्रामा सडक कालोपत्रे गरेका छौँ । आवतजावतको समस्या भएका क्षेत्रमा ट्रस्ट र झुलङ्गे पुल निर्माण गरेका छौँ । वडा नम्बर २, ३, ४ र १३ को डुबानलाई व्यवस्थित गर्न तीन करोडको प्रोजेक्ट सुरु गरेका छौँ । नेतुवा तालमा पार्कसहित त्यो क्षेत्रको डुबानलाई व्यवस्थित गर्न ड्याम बनाउने प्रक्रिया अगाडि बढेको छ । मसानघाट निर्माण पनि अन्तिम चरणमा छ ।

३० भन्दा बढी दातृ निकायले धनगढी उपमहानगरपालिकासँगको समन्वयमा काम गरिराखेको अवस्था छ । लामो समय संघीय र प्रदेश सरकार हाम्रो फेबरमा नहुँदा पनि हामीले व्यवस्थित ढंगले काम गरेका छौँ ।

तपाईंले २०७४ को निर्वाचनमा आफूले तयार पारेको घोषणापत्रको कति प्रतिशत काम सम्पन्न गर्नुभयो ? 

घोषणापत्रअनुसार नै अगाडि बढेका छौँ । घोषणापत्रमा वाचा गरेअनुसार हामी ८० प्रतिशत काम गर्न सफल भएका छौँ । गत निर्वाचनमा काँग्रेस संघीय र प्रदेशमा हारिसकेपछि सबै कुरा थाँती रहे । तर अहिले हाम्रो सरकार आएपछि फाप्ला ग्राउण्डको निर्णय भयो । त्यसपछि फोहोर मैला व्यवस्थापनका लागि चार वर्ष प्रक्रियामा लाग्नुपर्‍यो । अहिले हामी सरकारमा आएपछि बल्ल निर्णय गराउन सफल भयौँ । यस्तै बसपार्कको प्रक्रिया पनि चार वर्षसम्म अगाडि बढेन, अहिले त्यो पनि अन्तिम चरणमा छ ।

जबसम्म वडादेखि केन्द्रसम्मको सरकारमा हाम्रो वर्चश्व हुँदैन, तबसम्म विकास हुँदैन भन्ने मेरो निष्कर्ष हो । साढे तीन वर्षमा संघीय सरकारले धनगढी उपमहानगरपालिकालाई एक रुपैयाँ पनि बढी दिएन । जस्तै हामीले पाउनुपर्ने एक अर्ब हो भने त्यसमा एक रुपैयाँ पनि थपेर दिएन । तर आफ्नो पार्टीको मेयर रहेको पालिकालाई उपमहानगरपालिका भन्दा बढी बजेट राखियो ।

यति फेहरिस्त सुनाउनु भयो । तर धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रको सडक र फोहोर व्यवस्थापन किन हुन सकेन ?

साढे तीन वर्षसम्म संघीय र प्रदेश सरकारबाट निर्णय गराउन सकिएन । त्यसैले पुराना प्रोजेक्ट रोकिए । नयाँ प्रोजेक्ट कुनै पनि आएन । जस्तै एडिबीको प्रोजेक्ट लिखित रूपमा सुरु भएको साढे ६ वर्ष भयो । तर लागू भएको एक वर्ष भयो भने काम सुरु भएको ६ महिना मात्र भयो ।

उहाँहरूले काम हुन नसक्नुको कारण बुझेर पनि धनगढी उपमहानगरपालिकाभित्रको मुख्य सहरलाई केही साथीहरूले सुनियोजित रूपमा काम के भयो भने प्रश्न गरिराख्नु भएको छ । एडिबीले बजारमा ४३ किलोमिटर डीपीआर गरेको छ । तर हाल त्यसको सबै कुराको व्यवस्थापन गर्दा अब २२ किलोमिटर मात्र गर्ने सक्ने भयौँ । ११ किलोमिटर काम भइराखेको छ । हामीले बजारको प्रोजेक्टलाई एडिबीको प्रोजेक्टमा लैजानुपर्छ भन्ने निर्णय गरेका थियौँ । त्यो निर्णयले गर्दा त्यहाँ अरू प्रोजेक्ट लैजानु भएन ।

कैलाली पुल, चौराहा, मालपोत, शहीदगेट, क्याम्पस चोकलगायत स्थानमा सडक बनिराखेको छ । बाटो हुने खालको नदीमा दुबैतिर बाटो र साइकल लेन बनाउन अगाडि बढाउने मेरो योजना छ ।

विगतमा कर्मचारीले गर्ने काम र तपाईंले पाँच वर्षमा गरेको काममा कुनै भिन्नता भएन भन्ने आरोप छ । नयाँ योजना र भिजनका साथ गर्न किन सक्नुभएन ?

म माथि सुनियोजित रूपमा आरोप लगाई राखिएको छ । अहिले मैदानमा एउटै खेलाडी छ । अर्को खेलाडी मैदानमा आयो भने बाँकी कुरा थाहा हुन्छ । अहिले म उम्मेदवार होइन, अहिले म वर्तमान मेयर हो । विपक्षीले आरोप लगाउनु उसको धर्म हो । तर जनता सन्तुष्ट छन् कि छैनन् मसँग भन्ने मुख्य कुरा यही हो ।

म मैदानमा आउँदा चुनाव जित्न सकिँदैन भन्ने डरले आरोप लगाइएको छ । धनगढी उपमहानगरपालिकामा म बाहेक अरू मेयर भएको भए ड्यामेज कार्यकाल हुन्थ्यो । चुनाव लड्ने तयारीमा रहेकाहरूले धनगढी उपमहानगरपालिका भूगोल राम्री हेर्नुभएको छ कि छैन ? क्याम्पस चोकदेखि ट्राफिक चौराहासम्म मात्र धनगढी उपमहानगरपालिका होइन । अहिले दल बदलूँ बाहेक मैदानमा कोही उम्मेदवार छैन । मैदानमा आउँदा हामीले गरेका कामको फेहरिस्त लिएर आउँछौँ । आरोप लगाउनेहरूसँग बसेर मैले काम गरेकोबारे बहस गर्न हरदम तयार छु ।

धनगढी उपमहानगरपालिकामा पुनः मेयर बन्ने तपाईंको चाहना देखिन्छ । काँग्रेसले तपाईंलाई नै उम्मेदवार किन बनाउने ? अरू कोही छैन र ?

पार्टीले मलाई उम्मेदवार बनाउनुपर्छ भनेको होइन, मैले अनुरोध मात्र गरेको हुँ । किनभने यो पाँच वर्षको कार्यकालमा मैले रफ्तारमा काम गर्न सकिनँ । संरचना निर्माण र कोभिडका कारण सोचे जस्तो काम हुन सकेन । मैले मेरो क्षमता प्रदर्शन गर्न पाइनँ । मेरो योजनालाई ठीक तरिकाले अगाडि बढाउन फेरि पनि म मेयर बन्नुपर्छ भन्ने हो । 

धनगढी उपमहानगरपालिकाका लागि मेयरमा धेरैले आकांक्षा देखाएका छन् । पार्टीभित्र समान अवसरको कुरा पनि हुन्छ । काँग्रेसले तपाईं बाहेकलाई उम्मेदवार अगाडि सार्दा मान्न तयार हुनुहुन्छ ?

आकांक्षा देखाउनु स्वाभाविक हो । धनगढी उपमहानगरपालिकाको हरेक क्रियाशील सदस्यले वडा सदस्य, अध्यक्ष र मेयरको दाबी गर्न पाउनुहुन्छ । म यहाँ पुग्न ३५ वर्ष लाग्यो । ०७४ मा उम्मेदवारी स्वाभाविक थियो । अहिले मैले काम गर्न नपाएकाले फेरि दाबी गरेको हुँ । 

उपमहानगरपालिकाको उम्मेदवार केन्द्रले तय गर्ने हो । पार्टी नेतृत्वले फेरि पनि पत्याउँछ भन्ने लाग्छ ?

मैले दुई–तीन पटक कुरा गर्दा उहाँहरू सकारात्मक हुनुहुन्छ ।

आन्तरिक विवादका बीच फागुन दोस्रो साता काँग्रेसले कैलालीमा जिल्ला अधिवेशन गरेको थियो । अधिवेशनको अस्वस्थ प्रतिस्पर्धीले कार्यकर्तामा मन फाटेको देखिन्छ । स्थानीय तहको निर्वाचनमा चुनौती कत्तिको छ ?

चुनौती छ, त्यो सबै साथीहरूले राम्री बुझ्नु भएको छ । पार्टीमा हाम्रा आफ्ना आन्तरिक लडाइ होलान् । तर काँग्रेस एकजुट भएर निर्वाचनमा जान्छ । 

धनगढी उपमहानगरपालिकामा गत निर्वाचनमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल मुख्य प्रतिस्पर्धी थिए । आसन्न निर्वाचनमा काँग्रेसको मुख्य प्रतिस्पर्धी को हो ? 

प्रतिस्पर्धा राजनीतिक दलसँग हुन्छ । निर्दलीय उम्मेदवारसँग के को प्रतिस्पर्धा हुनु ? जनताको प्रतिनिधित्व गर्ने भनेको राजनीतिक दलले हो, व्यक्तिले होइन ।

गोपाल हमालले फेरि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यसो भए हमाल यसपटक काँग्रेसका लागि चुनौती होइनन् ? 

होइनन् । निर्दलीयहरुले काँग्रेसलाई चुनौती दिने सम्भावना नै छैन । यो कुरा नागरिकले बुझ्नुहुन्छ । काँग्रेससामु दुई तिहाइको सरकारले छोडेर माग्नुपर्‍यो भने निर्दलीय मान्छेले के गर्छ ? नेतृत्व गर्न पनि जान्नपर्छ । नेतृत्व गर्ने शैली र संस्कार पनि हुनुपर्छ । 

स्वतन्त्र रूपमा जितेर आउनेले धनगढी उपमहानगरपालिका नेतृत्व गर्नै नसक्ने भन्ने पनि हुन्छ र ?

हुन्छ । यहाँ १ सय सदस्यीय बोर्ड । त्यहाँ ९९ जना अन्य पार्टीको हुन्छन् । अनि के हुन्छ त्यहाँ ? धनगढी उपमहानगरपालिकाको बोर्डलाई निर्णयविहीन बोर्ड बनाएर विकास धरापमा राख्ने ? त्यसैले त्यो निर्दलीयहरूका फेसबुके कुरा मात्र हो ।

धनगढी उपमहानगरपालिकामा चुनावी गठबन्धनका लागि तपाईंले छलफल गरिराख्नु भएको छ कि छैन ?

केन्द्रीय समितिको बैठकबाट आउने निर्णयअनुसार हामी अगाडि बढ्छौँ । अहिलेसम्म खासै छलफल भएको छैन । यहाँ काँग्रेस बलियो अवस्थामा छ । त्यसैले चुनाव जित्न नसक्ने भन्ने होइन । तर पार्टीले गठबन्धन गरेर जाने अवस्थामा साथ नचाहिने भन्ने पनि होइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप