बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मतपत्रको रङ र उम्मेदवार मनोनयनको समय सच्याउन एमालेको माग

आइतबार, १३ चैत २०७८, २० : १४
आइतबार, १३ चैत २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ । नेकपा (एमाले)को आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकले सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी सो निर्णय गरेको निष्कर्ष निकाल्दै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको हो । 

त्यसै गरी बैठकले मतदातालाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा, बढुवालगायतका काम सरकारले गरिरहेकोमा पनि बैठकले आपत्ति जनाएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले महाकाली नदीको धार नै परिवर्तन गर्ने गरी भारतीय पक्षले संरचना निर्माणको काम अघि बढाउँदा पनि सरकार मौन रहेको भन्दै तत्काल भारतसँग वार्ता गरी सो संरचना निर्माणका काम रोक्न लगाई आफ्नो भूमि र सीमाको सुरक्षा गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । बैठकले आम उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि हुँदा पनि त्यसलाई नियन्त्रण गर्न सरकार पूर्णतः असफल भएको आरोप समेत लगाएको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख सुब्बाले बैठकले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्र र प्रतिबद्धता पत्र निर्माणका लागि आवश्यक सुझाव दिन पनि सार्वजनिक अपिल गर्ने निर्णय गरेको बताए । 

उनले भने, ‘राजनीतिक दलहरूसँग कुनै परामर्श नगरी र विना कुनै औचित्य निर्वाचन आयोगले मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि २ दिनको समय दिने निर्णय गरेको छ । यो निर्णय सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी गरिएको छ भन्ने स्पष्ट छ । तसर्थ, निर्वाचन आयोगको यो निर्णय अनुचित छ । यसलाई तत्काल सच्याउन हाम्रो पार्टी माग गर्दछ । निर्वाचनको मिति घोषणा भइसकेपछि पनि सरकारले कर्मचारी प्रशासनमा अन्धाधुन्ध सरुवा, बढुवा गर्नेजस्ता मतदाता प्रभावित गर्ने विभिन्न कामहरू गरिरहेको छ । निर्वाचनलाई प्रभावित पार्ने यस्ता खालका कामहरूप्रति हाम्रो पार्टी गम्भीर आपत्ति व्यक्त गर्दछ । महाकाली नदीको धार नै परिवर्तन गर्ने गरी दार्चुलामा भारतीय पक्षबाट एकतर्फी ढङ्गले गरिरहेको भौतिक संरचना निर्माणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको राष्ट्रिय हित र भूमिसँग जोडिएको यस्ता अति संवेदनशील विषयमा सरकारको मौनता खेदजनक छ । हामी, हाम्रो पार्टी यस विषयमा तत्काल भारतसँग वार्ता गर्न र एकतर्फी संरचना निर्माण गर्ने काम रोक्न र सीमा रक्षाका लागि गम्भीर बन्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । आम उपभोक्ताको ढाँड सेकिने गरी भइरहेको महँगीलाई नियन्त्रण गर्न सरकार पूर्णतः असफल भएको छ । स्थानीय तहको चुनावी घोषणा पत्र र प्रतिबद्धता पत्रका लागि सुझाव दिन हाम्रो पार्टीले सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ । एमालेले आगामी वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर सो निर्वाचनका लागि चुनावी घोषणा पत्र र प्रतिबद्धता पत्र एकसाथ सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप