ad
x

कश्यपको कथा : बुद्धिबलको करामत

person explore access_timeचैत १३, २०७८ chat_bubble_outline0

बल र बुद्धि कुन ठूलो भन्नेबारे लामै बहस चल्दै आएको छ । बल ठूलो भन्नेहरू पनि छन्, बुद्धि ठूलो भन्नेहरू पनि छन् । सरसर्ती हेर्दा दुवै ठीकै लाग्छन् पनि तर यी लागेका मात्र हुन् । वास्तविकता होइनन् । यथार्थमा यही हो कि बलभन्दा बुद्धिकै महत्व बढी हुन्छ । कठिन परिस्थितिमा बुद्धिले जति काम गर्छ त्यति बलले गर्न सक्दैन । यहाँ यसैबारे एउटा कथा प्रस्तुत छ ।  


कथा निकै पुरानो हो । एकादेशमा सद्बुद्धि नामका राजा थिए । उनको राज्य भौगोलिक दृष्टिले जति सानो थियो, आर्थिक दृष्टिले त्यति नै कमजोर । उनकै छिमेकमा कुबुद्धि नामका राजा थिए । उनको राज्य भने ठूलो पनि थियो र सम्पन्न पनि थियो, जसले गर्दा कुबुद्धि हमेशा छिमेकीसित किचकिच गरिरहन्थे । उनलाई किचकिच गर्न निहुँ नै चाहिँदैनथ्यो । सानै कुरामा पनि तीललाई पहाड बनाएर बखेडा खडा गर्थे । मूलतः उनको उद्देश्य छिमेकी राज्य हडप्नु नै थियो । अरूका डरले त्यो हदसम्म जाने आँट नगरेका भए पनि बाँकी सबै गर्दै आएका थिए । 



समय बित्दै गयो । कुबुद्धिको अत्याचार पनि जारी नै रह्यो । यसो त सुबुद्धिले एकाधपटक प्रतिवाद गर्ने प्रयास नगरेका होइनन् तर अन्ततः यसवापत् बढी घाटा उनैले व्योहोर्नुपर्‍यो । त्यसैले पनि हुनुपर्छ सुबुद्धिले सशनशीलताको नीति लिँदै आएका थिए । यो बाहेक उनको विकल्प थिएन । जहाँ पनि कुरा सुनिने बलिया बाङ्गाकै हो । कमजोरलाई कसले वास्ता गर्छ । मित्र र आफन्त हौँ भन्नेहरूसमेत परेको बेला सके मुन्टो बटार्लान् नभए पनि कुनै वाहना बनाएर तर्क पुग्लान् । विचरा सुबुद्धिलाई पनि यस्तै भएको थियो । 



सुबुद्धिले सहनशीलताको नीति लिएपछि कुबुद्धिले जिस्क्याउने आशयले उनीसमक्ष तीनवटा खेलौना पठाउँदै भने–



‘मित्र सुबुद्धिलाई उपहार स्वरूप तीनवटा खेलौना पठाएको छु । देख्नमा सबै उस्तै छन् तर तिनमा एकएक भिन्नता पनि छन् । सात दिनभित्र त्यसलाई पत्ता लगाई अर्थसमेत बताउन आग्रह गर्छु । सातौँ दिनमा मेरा प्रतिनिधि जानकारी लिन आउनेछन् । यदि सही जानकारी दिन सक्नुभयो भने मेरो राज्य तपाईँको हुनेछ । सक्नुभएन भने तपाईँको राज्य मेरो । आशा छ नाइनास्ति गर्नुहुने छैन । अन्यथा नतीजा निकै भयानक हुनेछ ।’



छिमेकीको चुनौती प्राप्त हुनासाथ सुबुद्धिले आपत कालीन बैठक बोलाए । सभामा चुनौतीबारे व्यापक छलफल भयो । सभाबाट चुनौती स्वीकार्नुको विकल्प नरहेको राय आएपछि राजाले पाँच दिनको समय दिएर गुरुपुरोहित, भाइभारदार तथा बुद्धिजीवीलाई त्यसको रहश्य पत्ता लगाउन आदेश थिए । हेर्दाहेर्दै पाँच दिन बित्यो तर कसैले पनि अर्थको त कुरै छाडौँ भिन्नतालाई नै खुट्याउन सकेनन् । बिस्तारै यसको जानकारी चतुरे (चतुर्भुज शर्मा) को कानसम्म पनि पुग्यो । त्यसैले उनी छैटौँ दिन बिहान राजा सुबुद्धि समक्ष गएर भने–



‘महाराज ! निकै चिन्तित देखिनु भएको छ नि हो ?’

‘हो शर्माजी ! ठीकै अनुमान लगाउनुभयो, ठूलै चिन्तामा छु ।’

‘कारण ?’

‘के भन्ने खोइ, छिमेकी राजा कुबद्धिको बानी तपाईँलाई थाहै छ ।’

‘त्यो त हो तर हाल के गरे त्यस्तो, जसले यति बढी चिन्तित गरायो ।’

‘के गरेनन् भन्नुस् न तर ..?’

‘के तर महाराज !’

‘यही कि भन्नुको अर्थ छैन ।’

‘भन्नुस् न महाराज ! कुनै उपाय निकाल्न सक्छु कि ।’

त्यसपछि राजाले सम्पूर्ण वृतान्त बताउँदै उनलाई समस्या हल गर्न दुई दिनको समय दिए । चतुरेले घरमा गएर खेलौनाको भिन्नता पत्ता लगाउने प्रयास गरे तर पूरा दिन प्रयास गर्दा केही लागेन । उनको त्यो रात यस्तै उकुसमुकुसमा बित्यो । भोलिपल्ट साँझपख भिन्नता र अर्थ दुवै पत्ता लगाउन सफल भए र आरामसँग सुते ।

भोलिपल्ट बिहानै दरवारतिर लागे । सातौँ दिन भएकाले छिमेकी राजा कुबुद्धिको प्रतिनिधि पहिले नै आइसकेका थिए । निश्चित समयमा राजसभा बस्यो । सभालाई सम्बोधन गर्दै छेमेकी राजप्रतिनिधिले जानकारी मागे । राजाज्ञ पाएपछि चतुरेले आसनबाट उठ्दै भने–

‘यी तीनवटै खेलौना देख्नमा उस्तै छन् तर यिनमा केही भिन्नता पनि छन् ।’

‘लौ यो के कुरा भयो र ।’ राजप्रतिनिधिले खिस्याउँदै भने–

‘त्यो त हामी नै भनिरहेका छौँ । तपाईँलाई थाहा छैन जस्तो लाग्यो । हामीले चाहेका भिन्नता छ भन्ने होइन केकस्तो भिन्नता छ भन्ने हो ।’

‘हो महाशय ! बुझेको छु ।’ चतुरेले मुसुक्क हाँस्दै भने–

‘यीमध्ये एकको एउटा कान र मुखमा, दोसोको दुवै कानमा र तेस्रोको एउटा कानमा मात्र सानो छिद्र छ, होकि होइन ?’

‘त्यो त हो ।’ राजप्रतिनिधिले झस्केजस्तो गर्दै भने–

‘अनि अर्थ ?’

‘त्यसको पनि जानकारी पाउनुहुनेछ ।’ चतुरेले आखिभुईँ कक्र्याउँदै भने–

‘एउटा कान र मुखमा भएको छिद्रले यही सङ्केत गर्छ कि यस्ता मानिसलाई कुनै पनि गोप्य कुरा बताउनु हुँदैन । किनकि उसले कानबाट जे सुनेको हुन्छ मुखबाट फुत्किहाल्छ । दुवै कानमा भएको छिद्रले यही बताउँछ कि त्यस्ता मानिसको कुनै अर्थ छैन । किनकि उसले जे सुनेको हुन्छ एक कानले सुन्छ र अर्को कानले उडाइदिन्छ । एउटा कानमा मात्र भएको छिद्रले यही बताउँछ कि त्यही मानिस नै कामको हुन्छ । किनकि उसले सुनेको कुरा आफैँभित्र राख्छ ।’

चतुरेको कुरा सुनेर राजप्रतिनिधिले टाउको झुकाए । उनीहरूको अवस्था देखेपछि चतुरेले थप सम्झाउँदै भने–

‘महाशय ! यसको अर्को पनि रहश्य छ, जुन तपाईँहरूलाई थाहै छैन । जसको एउटा कान र मुखमा छिद्र छ उसले यही बताउँछ यस्ता मानिसले आफूले जानेको ज्ञान अरूलार्ई पनि बताउँछ, सिकाउँछ । दुवै कानमा भएको छिद्रले यही बताउँछ कि यस्ता मानिस ज्ञानगुनका कुरा सुन्दैन, सुन्नै चाहन्न । एउटा कानमा मात्र भएको छिद्रले यही बताउँछ कि आफूले जानेको कुरा अरूलाई बताउँदैन ।

चतुरेको विद्वता देखेर राजप्रनिधि निरुत्तरित भएर फर्के । राजा सुबुद्धिले चतुरेको प्रशंसा गर्दै उचित पुरस्कार र सम्मानसहित विदा गरे ।

राजा कुबुद्धिको जमिनको टिप्न खोज्दा पोल्टाको पोखियो । अनावश्यक निहु खोज्दा राज्य र श्रीसम्पत्ती मात्र गुमाउनुपरेन पुर्पुरोमा हात लगाएर बस्नुपर्ने अवस्थासमेत आयो । सुबुद्धिको बुद्धिबलको अगाडि उनको धनबलले केही गर्न सकेन । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।