बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अबको आठ–दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको छ : गगन थापा

आइतबार, १३ चैत २०७८, १८ : ०७
आइतबार, १३ चैत २०७८

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताएका छन् । आइतबार १० औँ गैरआवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ–दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताएका हुन् ।

उनले नेपालको कृषि बजारमुखी हुने र मानिसहरुलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पारे । आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताए । पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विकास हुनुपर्ने उनको भनाई थियो ।

महामन्त्री थापाले भने– ‘हाम्रो कृषि बजारमुखी हुने, हाम्रा मानिसहरुलाई एक्सपोर्ट गरेर बाहिर पठाउने, सामान इम्पोर्ट ल्याएर चलाउने । यो धन्दा मात्रै चलाइराखेर हामीले जति कुरा गरे पनि देशको अवस्था बदलिनेवाला छैन । यसलाई बदल्ने कुरा हो । यसलाई बदल्ने कुराको सन्दर्भमा एउटा डिर्पाचर हामीलाई चाहिएको छ । कृषिको क्षेत्र उद्योगमा नगएर सेवामा गएको छ । अब हामीलाई  पूर्वाधारमा  ८/१० वर्ष ठुलो लगानी चाहिएको छ । कनेक्टिभिटी हाम्रो लागि एकदमै ठुलो, महत्वपूर्ण च्यालेन्ज हो । हामीसँग भएको स्रोत, आन्तरिक स्रोत सम्पूर्ण रुपमा परिचालन गर्दाखेरी पनि बाहिरको स्रोत नल्याइकन, बाहिरबाट स्रोत परिचालन नगरीकन हुन्न ।  हामीसँग अहिले स्रोतको अभाव छ । त्यो हामीलाई चाहिएको छ ।’

महामन्त्री थापाले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताए । गैरआवासीय नेपालीहरुको लगानीसँग नेपालीहरु डराउनु नहुने उनले बताए । उनीहरुलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने उनको भनाई छ ।

उनले भने– ‘हामी नेपालभन्दा बाहिर बसेका पहिलो पुस्ताका नेपालीलाई जसरी नागरिकता दिन डरायौँ । पासपोर्ट दिन डराएका हुन्छौ । जसरी तपाईहरुलाई अधिकार दिन डराएका हुन्छौँ ।  कता–कता तपाईंहरुको लगानीसँग पनि होइन बाहिरबाट आएर कमाएर फिर्ता पो लिएर जान्छन् कि । यहाँ भएको हाम्रो जल, जमिन सबै चलाउँछन् पो हो कि भनेको जस्तो हामी भारतसँग वा चीनसँग, अमेरिकासँग, युरोपसँग मात्र होइन । आफ्नै दाजुभाइसँग, आफ्नै दिदी बहिनीहरूसँग कहीँ न कहीँ मनमा त्यो संकुचन राखेर बसेका छौँ । यो सवालमा केही नयाँ ढंगले हामीबीच साझेदारी गर्नैपर्ने हुन्छ ।’

महामन्त्री थापाले नेपालीले गैरआवासीय नेपालीहरुको लगानीलाई आशंकाको दृष्टिले हेर्नु नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप