आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

धर्मश्री विजेताले १० लाख प्राप्त गर्ने

आइतबार, १३ चैत २०७८, १६ : २६
आइतबार, १३ चैत २०७८

खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल व्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन् । राजधानीस्थित यलो पकोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन् । खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधा तर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस अघिको संस्करणमा पुरस्कार राशि ५ लाख रहेको थियो ।

२०१० मा स्थापित व्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ साल देखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । पहिलो र दोश्रो संस्करणमा तौल समूहको आधारमा प्रतियोगिता गर्दै आईरहेकोमो तेश्रो सँस्करणबाट प्रत्येक तौल समूहका विजयी खेलाडीहरुको अन्तिम प्रतिस्पर्धामा बिजयीलाई धर्मश्री बिजेताको रुपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो ।
शारिरिक सुगठनको ईतिहासमानै अतिनै प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६ औं संस्करणमा नयाँ बिधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स विधालाई थप गरिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

बैशाख २३ र २४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजीतौल समूहमा ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्येक बिधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुको बिचमा अन्तिम प्रतिस्पर्धा गराई विजयी हुनेलाई धर्मश्रीको उपाधी सहित सम्मान गरिने छ । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँचलाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हाजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप