आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथरमा चिज उत्पादन केन्द्र स्थापना

आइतबार, १३ चैत २०७८, १६ : ०६
आइतबार, १३ चैत २०७८

पाँचथरको याङवरक गाउँपालिका–५ ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना भएको छ । 

दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण आयोजनाअन्तर्गत सो केन्द्र स्थापना भएको हो । याङवरक गाउँपालिकाको आठ लाखको लागतमा उक्त केन्द्र स्थापना भएको हो । 

शनिबार आयोजित कार्यक्रममा याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले सो केन्द्रको उद्घाटन गरे । प्रशस्तै दूध उत्पादन हुने यस स्थानमा चिज उत्पादन गरी स्थानीयवासीको दीर्घकालीन आम्दानीको स्रोत बनाउने, पशुपालन तथा दूध उत्पादनमा बढावा दिई रोजगारी सिर्जना गर्ने र गुणस्तरीय चिज विदेशसम्म निर्यात गर्ने उद्देश्यसहित चिज उत्पादन केन्द्र स्थापना भएको हो । चिज उत्पादन केन्द्रको स्थापनाले पशुपालक स्थानीयवासीलाई ठूलो राहत मिल्नुका साथै पशुपालन र दूध उत्पादनमा हौसला मिल्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष घिमिरेले बताए ।

चिजका अतिरिक्त शुद्ध दूधबाट दुग्धजन्य सामग्री उत्पादन गरी याङवरक गाउँपालिकाको पहिचान बनाउन समेत सो केन्द्र सफल हुने अध्यक्ष घिमिरेले विश्वास व्यक्त गरे । कार्यक्रममा याङवरक–५ का वडाध्यक्ष टेकनाथ न्यौपानेले चिज उत्पादन केन्द्रको स्थापनाले स्थानीय दूध उत्पादक किसानलाई व्यावसायिक बनाउन तथा गुणस्तरीय दुग्ध सामग्री उत्पादन गर्न मद्दत गर्ने बताए । केन्द्रको नियमित सञ्चालनका लागि सबै पक्षबाट निरन्तर सहयोग हुनुपर्नेमा उनले जोड दिए । 

उत्पादन केन्द्रका लागि गतवर्ष नै दुई तले भवन निर्माण भइसकेको थियो । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष घिमिरेले केन्द्रका लागि पक्की र व्यवस्थित भवन निर्माण आवश्यक रहेको भन्दै त्यसका लागि पहल गर्ने बताए । चिज उत्पादन केन्द्रमा अहिले दैनिक २०० लिटरसम्म दूध सङ्कलन हुने गरेको केन्द्रका अध्यक्ष कालिन्द्र तावाले जानकारी दिए । कार्यक्रममा याङवरक गाउँपालिकाका सदस्य, गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारी, स्थानीय राजनीतिक दल तथा सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीयवासी लगायतकोसमेत सहभागिता थियो ।

 सो अवसरमा केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, खानेपानीको मुहान उपलब्ध गराउने तथा खानेपानीको प्रबन्ध गर्न सहयोग गर्ने दाताहरूलाई सम्मान समेत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप