शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिवद्धताअनुसार लगानी नआउनुको कारण खोज्दै सरकार

आइतबार, १३ चैत २०७८, १४ : ४४
आइतबार, १३ चैत २०७८

अर्थमन्त्री जनार्दन शर्माले विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धतानुसार नेपालमा लगानी नआउनुको कारण खोज्नतर्फ सरकार लागेको बताएका छन् । उनले नेपाल लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी भित्र्याउन सहकार्य गर्ने सम्झौता गर्ने कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

‘गरिएको प्रतिबद्धताअनुसार लगानी आउन नसक्नुका पछाडी मिहिन ढंगले अध्ययन गरेर प्रतिबद्धताअनुरूपको अधिकतम लगानी भित्र्याउन सरकार लागि परेको छ,’ उनले भने । उनले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनका लागि वोर्ड र महासंघ बीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतिका दफाहरूलाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

यो सहमतिबाट सिंगो राष्ट्र नै लाभान्वित हुने उनको अपेक्षा छ । ‘सरकारले आन्तरिक एवं वाह्य सवै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको छ,’ उनले भने, ‘लगानी गर्न आउनेलाई हामीले प्रतिफलको पनि स्पष्ट खाका दिनु सक्नुपर्छ ।’

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले बोर्ड र महासंघ बीचको समझदारी ऐतिहासिक भएको बताए । लामो गृहकार्यपछि सम्पन्न समझदारीपत्र हस्ताक्षर कार्यक्रम एउटा ऐतिहासिक शुरुवात भएको भन्दै सहमतिलाई सफल पार्न बोर्डले कुनै कसर बाँकी नराख्ने भन्दै महासंघबाट पनि आफूले पूर्ण सहयोग पाउने विश्वास प्रकट गरे ।

महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनमा समझदारी कोशेढुंगा हुने विश्वास व्यक्त गरे । अध्यक्ष गोल्छाले समझदारीले लगानी बोर्डसँग लगानी प्रवद्र्धनमा सहकार्य गर्ने ढोका खुलेको बताए । महासंघको सचिवालयमा बोर्डको समेत संलग्नता र सहयोगमा खुल्ने सहायता कक्षले ठोस परिणाम दिने पनि उनले विश्वास प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप