सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

राजर्षि जनक कप उपाधिका लागि पिप्ले र मच्छिन्द्र भिड्दै

आइतबार, १३ चैत २०७८, १२ : ०६
आइतबार, १३ चैत २०७८

छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलमा पिप्ले युवा क्लब हेटौडा र मच्छिन्द्र फुटबल क्लब काठमाडौं मैदानमा उत्रिँदै छन् । सर्लाहीको बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने  फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन पिप्ले र ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र भिड्न लागेका हुन् ।

आइतबार दुवै टोली उपाधि आफ्नो पोल्टामा पार्ने दाउमा छन् । प्रतियोगिता पहिला आयोजकको तर्फबाट आयोजित प्रि–म्याच कन्फ्रेन्समार्फत दुवै टाेलीले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । फाइनल खेलमा जित निकाल्दै डिफेन्डिङ च्याम्पियन पिप्ले उपाधि दोहोर्‍याउने दाउमा छ भने पिप्लेलाई पराजित गर्दै राजर्षि जनक कपमा नयाँ इतिहास रच्ने मच्छिन्द्रको तयारी छ ।

फाइनल भेटका लागि पिप्लेले क्वाटरफाइनलमा हिमालयन शेर्पा र सेमिफाइनलमा आयोजक बागमती युवा क्लबलाई पराजित गरेको थियो । मच्छिन्द्रले क्वाटरफाइनलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन र सेमिफाइनलमा सुदूरपश्चिम–११, धनगढीलाई पाखा लगायो । दुवै टोलीले प्रि(क्वाटरफाइनलको एक खेल वाई पाएका थिए । 

‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रसँग सेटका खेलाडी रहेकाले केही बढी सशक्त रहने अनुमान छ । मच्छिन्द्रलाई विमल घर्ती मगर, सुजल श्रेष्ठ, गोलरक्षक विशाल श्रेष्ठलगायत राष्ट्रिय टोलीमा सहभागी भइसकेका खेलाडीको समेत साथ रहने छ । प्रशिक्षक प्रवेश कटुवाले पिप्ले युवा क्लबलाई मोफसलको उत्कृष्ठ टिमका रूपमा लिएको बताए । ‘खेलमा भएका समस्यासमेत समाधान गरेका छौँ । यसकारण पनि कुनै गल्ती नदोहोर्‍याई खेल जित्ने र उपाधि उचाल्ने हाम्रो लक्ष्य हुनेछ,’ उनले भने ।

प्रशिक्षक कटुवालले राजर्षि जनक कप जस्तो व्यवस्थित प्रतियोगितामा सहभागिताको अवसर पाएको भन्दै आयोजकको समेत खुलेर प्रशंसा गरे ।  पिप्ले युवा क्लबले पनि उपाधि दोहोर्‍याउने दाबी गरेको छ । टिमका खेलाडीलाई कुनै पनि अवस्थमा चुक्न नदिने योजना रहेको प्रशिक्षक सुविन घिमिरेले बताए ।

‘मोफसलको टिम भएकाले खेलाडीको सेट केही कमजोर छ,’ उनले भने, ‘तर पनि उनीहरू सेट भइसकेका छन् ।’ बागमती युवा क्लबले आयोजनामा गरेको प्रि(म्याच कन्फ्रेन्समा बोल्दै टिमका प्रशिक्षक सुविन घिमिरेले आफूहरू उत्साहित रहेको बताए । 

‘ए’ डिभिजनको च्याम्पियन क्लबसँग फाइनल खेल्दै छौँ । केही उत्साह पनि छ, केही चुनौती पनि छन् । तर, पनि हामी पूरै तयार छौँ,’ उनले भने । राजर्षि जनक कपका विजेताले रनिङ सिल्डसहित १० लाख एक हजार, मेडल, प्रमाणपत्र र उपविजेताले पाँच लाख पाँच सय सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए । गत २१ चैतबाट सुरु भएको प्रतियोगितामा विभागीय, ‘ए’ डिभिजन, विदेशी पाहुना र आयोजक टोलीसमेत गरी १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको हो । 

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई जनही २५२५ हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिकाभित्रका एक खेलाडीलाई बागमती राइजिङ अफ दि इयर प्लेयर्स घोषणा गर्दै एक थान मोटरसाइकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप