बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तीन वर्ष शंकर पोखरेलको फोन आएन, जब आयो उठाइनँ : मन्त्री रमा घर्ती

आइतबार, १३ चैत २०७८, ०९ : ०७
आइतबार, १३ चैत २०७८

नेकपा एमालेका तर्फबाट पाल्पाबाट लुम्बिनी प्रदेश सांसद बनेकी रमा घर्ती त्यसअघि पार्टीको काम सँगसँगै गाईपालन गर्थिन् । उनको फर्ममा १६ वटा गाई थिए । अहिले चार वर्षपछि उनको गोठ रित्तिएको छ । र, आफूले दुई दशक बिताएको पार्टी नेकपा एमाले पनि उनका साथमा छैन ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने घर्ती लुम्बिनीकी एकमात्र प्रदेश सांसद हुन् । हाल उनी प्रदेश सरकारमा कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा कार्यरत छिन् । एमाले र समाजवादी पार्टी नफुट्दै रमा पार्टीबाट निराश भइसकेकी थिइन् । खासगरी तत्कालीन मुख्यमन्त्री एवं हालका एमाले महासचिव शंकर पोखरेलको व्यवहारबाट उनी निराश भएकी रहिछन् । 

सांसदको पदावधि सकिएपछि पुनः पाल्पा फर्केर गाई पाल्ने सोचेकी रमाले जब एकीकृत समाजवादीमा लाग्ने अठोट गरेको खबर बाहिर आयो, त्यसपछि शंकर पोखरेलको फोन आएको सुनाइन् । एमाले किन छाड्नुभयो भन्ने रातोपाटीको प्रश्नमा भावुक बनेकी रमाले आँखा मिच्दै भनिन्, अपमान सहेर बस्न नसकिँदोरहेछ ।

हाल एकीकृत समाजवादीमा लागेपछि पार्टीको केन्द्रीय सदस्य बनेको र अब अघि बढ्ने जाँगर पलाएको उनले सुनाइन् । प्रस्तुत छ, नेकपा एकीकृत समाजवादीका तर्फबाट  लुम्बिनी प्रदेशसभाकी एक्ली सांसद एवं मन्त्री रमासँग रातोपाटीले गरेको छोटो कुराकानी  :

तपाईं प्रदेशसभामा पाल्पाको प्रतिनिधित्व गरिरहनुभएको छ, यहाँको राजनीतिक पृष्ठभूमि खुलाइदिनुहोस् न ।

पाल्पामा मैले नेकपा एमालेमा ०५१ सालदेखि गाउँ कमिटीमा जोडिएर  काम सुरु गरेको हो । क्षेत्रीय कमिटीमा दुई कार्यकाल अनि जिल्ला कमिटी पाल्पाको तेस्रो कार्यकाल तात्कालिक एमालेको चल्दै थियो । त्यसपछि नेकपा भइयो अनि अहिले नेकपा एकीकृत समाजवादी भइयो । अहिले नेकपा एसको केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सरकारको कानुन महिला तथा ज्येष्ठ नागरिक मन्त्रीको भूमिकामा छु ।

लामो समय एमालेमा योगदान गर्नुभयो, पार्टी छाड्दा कस्तो लाग्यो ? 

जहाँ सम्मान हुन्छ, त्यहीँ बस्ने हो । एमालेमा बस्दा धेरै थिचोमिचो भयो । थिचोमिचोको विषयमा विस्तृत नजाऊँ, त्यसभित्र धेरै कथाहरू छन् । दुःखका साथ भन्नुपर्छ, मलाई यस्तो भयो भनेर केन्द्रीय नेता र प्रदेशका नेताहरूलाई सुनाएँ । जिल्लामा पनि तत् तत् साथीहरूले पनि मलाई यस्तो भएको छ, बसौँ कि नबसौँ भनेर भनेँ कसैले केही सल्लाह दिनुभएन । यता सांसद हुँदा कतिपय कुरा हुन्थे । कुनै साथीहरूले पनि सरोकारको विषय राख्नुभएन । अन्तिममा सांसद महिलासँग पनि मेरो विषयमा कुरा राखेँ, उहाँले पनि ठिकै छ हामी कुरा गर्दछौँ भन्नुभयो, प्रतिक्रिया केही आएन । म लामो समय कुरिरहेँ ।

मेरो सांसद समय अझै १५–१६ महिना बाँकी थियो । अनि मैले सोचेँ अब संसद्को बाँकी रहेको समयमा केही गर्नुपर्छ, त्यसपछि म राजनीति गर्दिनँ भनी आफ्नै व्यवसाय गर्ने योजना बनाएँ । त्यहीबीचमा पार्टी विभाजन भइहाल्यो ।

म कसैको पक्षमा पनि गइनँ । सुरुमा माधव नेपालको पक्षमा गइनँ, ओलीको पक्षमा पनि गइनँ । अन्तिममा धेरै थिचोमिचो भएको पार्टीमा बस्नु भन्दा यताका साथीहरूले अलि सपोर्ट गर्नुभएको थियो, त्यस कारण यतातिर लागेँ । 

भनेपछि, पार्टी फुट्नुभन्दा आगडि नै तपाईंंमा फ्रस्टेसन आएको थियो ?

हो । मलाई पार्टी फुट्नु भन्दा अगाडि नै फ्रस्टेसन आएको थियो । हामीले पनि पार्टीमा योगदान गरेर आएको हो । हामीले साथीहरूलाई माथि पुर्‍याउने काम गरियो । हामीले कहिल्यै अवसर खोजिएन । चुनाव आएका बेला होस् या अन्य बेला, सहयोग गरियो । तर, साथीहरू यो अप्ठ्यारो परिस्थितिमा यसो गरौँ भन्ने कोही भएन, त्यसपछि त्यतिकै मन नै मर्दोरहेछ । मनै भाँच्चिएपछि के गर्ने ?

अहिले नयाँ पार्टीको अवस्था कस्तो छ ?

हाम्रो पार्टी बल्ल पाँच महिना भयो, पार्टी संगठन विस्तारको काम अझै हुँदैछ । एमालेलाई यत्रो वर्ष हामीले योगदान गरेका थियौँ । हिजोको एमाले जस्तै ठुलो पार्टी खोज्न भएन । पार्टी फुटेर बन्ने भन्दा पनि संघर्ष गरेर बनेको पार्टी हो । देशभरिमा झन्डै तेस्रो स्थानमा पार्टी रहने स्थिति छ । पाल्पाको हिसाबमा पनि यस्तै अवस्थामा छौँ । 

एमालेमा यस्तो बढी प्रचार प्रचार छ । हुन्छ त्यो बेलामा हामीले पनि यस्तै गरेका थियौँ । अहिले  एमाले देशभरिमा ठुलो पार्टी भन्छ, त्यसमा धेरै साथीहरू यता पनि छन् । बोल्दैमा ठुलो पार्टी हुने भए हामीले पनि भन्ने थियौँ । 

अहिले एमालेका साथीहरूले तपाईंंलाई  पुरानै पार्टीमा फर्कनुहोस् भन्दैनन् ?  

अहिलेसम्म कसैले भनेका छैनन् । जब म सांसद भएँ, साढे तीन वर्षसम्म मुख्यमन्त्रीसँग कुनै कुराकानी भएन । कहिले गाउँका विकास निर्माणका समस्या, पार्टीका समस्या लिएर मुख्यमन्त्रीलाई भेट्न जाँदा साथीहरूले बाहिर निस्कनु भन्नुहुन्थ्यो । मुख्यमन्त्री नभएपछि त्यो रित्तो कोठा हेर्नका लागि के जाने भन्ने हुन्थ्यो अनि कहिल्यै गइएन । कुराकानी भएन  । अनि समाजवादीमा बेला मुख्यमन्त्रीले फोन गर्नुभएको थियो । म गाडीमा थिएँ । थाहा पाइनँ, बेलुका के रिप्लाई गर्ने भन्ने भयो । उता जान लागेको थाहा पाएर रोक्नका लागि होला भन्ने भयो । अहिलेसम्म नसम्झनेले यो उता लाग्न लागि भन्ने थाहा पाएर फोन गर्दा अर्कै फिलिङ्ग हुँदो रहेछ । अनि कलब्याक गरिनँ । 

तपाईं बीचमा निराश बन्नुभएको रहेछ । एकीकृत समाजवादीमा लागेपछि अब राजनीति नै अगाडि बढ्नुहुन्छ कि छाड्नुहुन्छ ?

लामो समय जिम्मेवारी लिएर बसियो । एमालेलाई यहाँसम्म पुर्‍याएको हो । अब पार्टीले सहयोग गर्‍यो भने अझै काम गरिन्छ ।

समाजवादीको केन्द्रीय कमिटी बैठकमा काठमाडौँ जानुभएको थियो । नयाँ चुनावी आँकलन के गर्नुभएको छ ?

देशभरिमा तेस्रो हुने आँकलन छ । पहिलो नेपाली काँग्रेस, दोस्रोमा एमाले, तेस्रोमा हामी हो । माओवादीसँग हाराहारी आउने हो । जसपाको तराईमा राम्रो भए पनि पहाडी मूलमा कमजोर छ ।

यो प्रदेशमा सत्ता गठबन्धनबीच तालमेल हुने सम्भावना कस्तो छ ?

हाम्रो पार्टी र माओवादीले एउटा निर्णय लिएको अवस्था हो । नेपाली काँग्रेसले चाहिँ १५ गतेको बैठकपछि एउटा निर्णय आउने जनाएको छ । नेपाली काँग्रेस सभापति पनि हामी एक्ला एक्लै जाँदैनौँ गठबन्धन गरेर जाने भन्नुभएको छ । त्यस कारण गठबन्धन कायम होला । माधव नेपालले भने जस्तै पहिले एमालेले जितेको ठाउँमा हाम्रो दाबी रहन्छ । कतिपय विषयहरू तल निर्णय गरेर हुँदैन । बुटवलका हकमा पनि यस्तो हुन्छ । 

हुन त तपाईंं मन्त्री बन्नु भयो । केही मान्छेहरूले चाहिँ प्रदेश सरकार बेकार बनाएको रहेछ भनी तर्क गर्छन् । तपाईंं प्रदेश सरकारलाई कसरी लिनुहुन्छ ?

जहाँको  विकास हुँदैन, त्यस ठाउँको विकासको लागि संघीयता चाहिन्छ भन्ने मलाई लाग्छ ।  जस्तै राजधानीका कुरा गर्न पनि बुटवल भनेको शहरीकरण भएको  ठाउँ हो ।  शिक्षा, स्वास्थ्य विकास भएको ठाउँ हो । दाङ हेरौँ, नेपालकै ठुलो उपत्यका भनिन्छ तर पानी छैन । बजारीकरण पनि त्यस्तै हो । त्यस कारण राजधानी बनाउनुपर्छ । संघीयताका हिसाबले बुझेर त्यहाँ राखिएको हो । हामी पाल्पाको मान्छे, बुटवल सजिलो हुने थियो । तर, संघीयता सम्बन्धित क्षेत्रको विकासका लागि आवश्यक छ भन्ने बुझेर त्यहाँ राजधानी गएको हो ।

कपितय विषयहरू स्थानीयले गर्न सक्दैनन्, केन्द्रले देख्दैनन् । केन्द्रले माथि र ठुलो देख्ने गर्दछ । स्थानीय साना साना काम गर्दछ । कति एउटा पालिकाबाट अर्को पालिका जाने सडक, पुल आदि मझौला कामको लागि प्रदेश सरकार चाहिन्छ ।  धेरै  योजनाहरू केन्द्रले डीपीआर गरेपछि पनि  रोकिएका छन् । ती काम प्रदेश सरकारले गर्दैछ । यो वर्ष मात्रै ६० पुल तयार हुँदै छन् । ती प्रदेशको योजनाले बन्ने हो । 

मलाई गाउँस्तरमा रहँदा दुई वर्षसम्म लक्षित वर्गको लागि बजेट जान्छ भन्ने पनि थाहा थिएन । सचिवले हस्ताक्षर  गराउँदै लक्षित वर्गको रकम अन्यत्र लगाउने गरेको थाहा पाएँ । त्यो बुझ्ने अवसर पाएँ । त्यो बेलाको अनुभव अहिले कानुन महिला  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काम लागेको छ ।

यहाँले त्यसो भने पनि बुटवलकै सडकको अवस्था हेर्दा यस्तो बिजोग छ, खोइ त हेरेको ?  

योचाहिँ केन्द्रीय योजना हो । यसलाई घच्घच्याउनका लागि बुटवलका उपमहानगरपालिकाले पनि अपनत्व लिएर चासो दिनुपर्ने हो । हामीले पनि प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई भनेका छौँ । मुख्यमन्त्रीलाई पनि भनेका छौँ । यो लाजमर्दो भयो । केन्द्र सरकारको भौतिक मन्त्रालयको सम्पर्कमा रहेको भनिरहनुभएको छ । स्थानीय पनि अलिकति जागेको भए सायद खाल्डाखुल्डी कम हुने थियो । 

तपाईंं पाल्पाको जनप्रतिनिधि त्यहाँ एकीकृत समाजवादीले कतिवटा सिट ल्याउँछ ?

पाल्पामा हाम्रो पार्टीको राम्रो बन्दै गएको छ । सकभर गठबन्धन हुन्छ यदि भएन भने पाल्पामा हाम्रो पार्टीले सिङ्गल चाहिँ ३ वटा पालिका जित्ने छ ।

यहाँले सम्हालेको मन्त्रालयको यो ६ महिनाको अवधिमा गरेका राम्रा काम के के हुन् ? 

योबीच धेरै काम भएका छन् । अरू मन्त्रालयको हिसाबले राम्रो भएको छ । कर्मचारीहरूको सहयोग पाएकी छु ।  हामी आउनु भन्दा पहिला बजेट आयो, बजेट र आएका कार्यक्रम कार्यान्वयन गर्ने पक्षमा छौँ । तत्कालका लागि हामीले दलित ऐन बनाउँदैछौँ । प्रदेशबाट मस्यौदा बनाउने काम भइरहेको छ । हामीले सबै जिल्लामा एक एकवटा भवन हिंसापीडित महिलाहरूका लागि बनाउने काम भइरहेको छ । पाल्पा  त बनिसकेको छ, अन्य ठाउँमा पनि हुँदैछ ।

रुपन्देहीको तिलोत्तमामा हिंसाबाट घरबारविहीन बनेका महिलाहरू राखेर मनोपरामर्श दिने र सिप सिकाएर आफ्नै खुट्टामा उभिन सक्ने बनाउनेछौँ । उनीहरूले उद्यम गर्न नसके पनि अब  खुट्टामा उभिन सक्ने भने गराउने छौँ । प्रदेशस्तरको बालग्राम बनाउनका लागि कपिलवस्तुमा प्रक्रिया अगाडि बढेको छ । ज्येष्ठ नागरिक ग्राम रुपन्देहीको सैनामैनामा बनाउनका लागि डीपीआरको काम भएको छ ।

तपाईंं गाई पालन गर्नुहुन्थ्यो, अहिले त्यसको अवस्था के छ ?

मेरो पहिला गाई फर्म थियो । गाई फर्म गर्दागर्दै राजनीतिमा लागियो । पाल्पामा माथागाढी गाउँपालिका माडीमा हो । आफू यतातिर लागेपछि काम गर्ने मान्छे पाइएन, त्यतिकै छ । त्योबेला २५ भन्दा धेरै गाई थिए ।  म राजनीतिमा लागे पनि केही गर्नुपर्छ भन्ने छ । मेरो कार्यकाल सकिएपछि पार्टीतिर लागे पनि आफ्नो व्यवसाय गर्न सक्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप