सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुष्प मेलाको तेस्रो दिन, ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार

शनिबार, १२ चैत २०७८, २० : २१
शनिबार, १२ चैत २०७८

जावलाखेलको खेल मैदानमा जारी २३ औँ पुष्प मेलामा ३६ हजार ८०० जनाले अवलोकन गरेका छन् भने ८४ लाख ३० हजार रुपियाँको कारोबार भएको छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो भने चैत ११ गते अर्थात् दोस्रो दिन ११ हजार जनाले अवलोकन गरेका थिए भने २७ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । आज तेस्रो दिन १७ हजार ८०० जनाले अवलोकन गरेका छन् भने ३५ लाख ८० हजार रुपियाँको कारोबार भएको एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी गराए ।

शनिवार भएको कारणले अरू दिनको तुलनामा अवलोकनकर्ताको चाप थियो र त्यही अनुसार कारोबार भएको उहाँले बताउनुभयो । एसोसिएसनले ४५ हजार जनाले अवलोकन गर्ने र ७५ लाख रुपियाँ बराबरको कारोबार हुने लक्ष्य थियो । तर कारोबार लक्ष्यभन्दा बढी आजै नै भइसकेको छ । भोलिसम्म चल्ने सो मेलामा लक्ष्यभन्दा बढी अवलोकनकर्ता हुने अनुमान आफूहरूले गरेको उनले बताए । कोभिडपछि यो पहिलो मेला भएको कारण मेला अवलोकनकर्ताको सङ्ख्या बढेको उनले बताए ।  

मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद गरिरहेको महासचिव पोखरेलले बताए । त्यस्तै इन हाउस ग्रीन प्लान्टको पनि बिक्री राम्रै देखिएको उनले बताए । मेलाको अवलोकनका लागि विभिन्न अनुसन्धानकर्ता, कलेज तथा स्कुलका बालबालिकाहरू आएका थिए ।

मेलामा ५१ वटा विभिन्न स्टलहरू रहेका छन् । पुष्प मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्षहरू रहेका छन् । मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरू तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको उनले जानकारी गराए ।

‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको मेलामा पुष्प विकास केन्द्र, बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागको पनि सहयोग रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप