शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह

शनिबार, १२ चैत २०७८, १८ : ५१
शनिबार, १२ चैत २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न आग्रह गरेकी छन्। शनिवार १० औँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सिप र धनलाई रोजगारी, पुँजी र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन् ।

उनले नवीकरणीय ऊर्जा र हरित विकासलाई प्रवर्द्धन गर्ने गरी लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले गैर आवासीय नेपालीहरूको ज्ञान, सिप, पुँजी र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकासमा उपयोग गर्ने सरकारको नीति रहेको पनि उल्लेख गरिन् । उनले भनिन् – ‘गैर आवासीय नेपालीहरूको ज्ञान, सिप, पुँजी र सञ्जाललाई मुलुकको सामाजिक, आर्थिक विकासमा उपयोग गर्ने नीति नेपाल सरकारले अवलम्बन गरेको छ । लामो समयसम्म नेपालको विकासको गति जनअपेक्षा अनुरूप कायम हुन नसकेको हुँदा समयले हामीलाई उछिन्दै गएको छ । प्राकृतिक स्रोत र साधनले सम्पन्न हाम्रो मुलुकले अपेक्षित गतिमा आर्थिक प्रगति हासिल गर्ने क्रममा सामना गर्नु परिरहेका चुनौतीबारे तपाईंहरू जानकार नै हुनुहुन्छ । अध्ययन, व्यवसाय र रोजगारीका सन्दर्भमा विदेश गई तपाईंहरूले मेहनतपूर्वक आर्जन गर्नुभएको ज्ञान, सिप र धनलाई नेपालमा रोजगारी, पुँजी र उत्पादकत्व वृद्धि हुने क्षेत्र खोजेर लगानी गर्न मेरो आग्रह छ । आर्थिक विकास र लगानीको चर्चा गर्दा हामीले दिगो विकासको अवधारणालाई आत्मसात् गर्नुपर्दछ । जलवायु परिवर्तनका कारण सम्पूर्ण विश्व नै संकटउन्मुख भएकोले मानव सभ्यताको सामु ठुलो चुनौती खडा भएको छ । हामीले गर्ने पूर्वाधार विकासको कार्य प्रकृतिको सन्तुलन जोगाउँदै जीवन र जगतको सुरक्षा गर्न सक्षम हुनुपर्दछ । त्यसैले तपाईंहरूले रोज्ने लगानीको क्षेत्र नवीकरणीय ऊर्जा र हरित विकासलाई प्रवर्द्धन गर्नतर्फ समेत केन्द्रित हुन सक्नुपर्दछ ।’

राष्ट्रपति भण्डारीले संविधानले गैर आवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने परिकल्पना गरेको उल्लेख गर्दै आवश्यक कानुनको निर्माण पश्चात् सो व्यवस्था लागु हुनेमा विश्वास व्यक्त गरिन् । उनले नेपाली कला, संस्कृति, भाषा, भेसभुषा र परम्परालाई विदेशमा जन्मे हुर्केका भावी पुस्तामा पनि जीवित राख्नेमा आशा व्यक्त गर्नुभयो । उहाँले नेपालमा आपत्–विपत् पर्दा गैर आवासीय नेपालीहरूको ठुलो साथ र सहयोग रहेको भन्दै त्यसप्रति सम्मान व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप