यस्तो छ सांसद गंगा चौधरी रोएको भाइरल भिडियो पछाडिको अन्तरकथा
फेसबुक, टिकटक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा यतिबेला प्रतिनिधि सभाकी एमाले सांसद गंगा चौधरीको १६ सेकेन्डको एउटा भिडियो क्लिप भाइरल भइरहेको छ । सो भिडियोमा सांसद चौधरीको पृष्ठभूमिमा दुई महिला सावेलले गिटी बालुवा खनिरहेको देखिन्छ ।
सांसद चौधरीले भिडियोमा एक वाक्य बोलेकी छिन्– ‘दिदीबहिनीहरुको यस्तो अवस्था देख्दा खेरी धेरै भावुक बनाउँछ ।’ भनेर उनी आँसु पुस्छिन् । उनले आँसु पुछेको दृश्य सुरु भएपछि कसैले भिडियो सम्पादन गरेर हाँसो वा मजाकको ‘इफेक्ट’ हालेको छ, जुन भिडियो उनले चुनावका लागि रोएर नाटक गरेको भन्दै भाइरल बनाइएको छ ।
सामाजिक सञ्जालहरुमा कतिपयले उनलाई चुनाव आउन लागेकोले नाटक गरेको भनेर हँस्सीमजाक गरेका छन् । कतिपयले अभिनय कलामा अब्बल रहेको समेत टिप्पणी गरेका छन् । तर सांसद चौधरीको पछाडिको दृश्यमा देखिएका दुई महिलासँग उनको जीवनका धेरै सुख दुःख र अनेक पीडाहरु गाँसिएका छन् ।
खासमा उनीहरु अरु कोही अपरिचित महिला नभई एउटै गर्भबाट जन्मिएका दिदी बहिनी हुन् । पार्टीको कामको सिलसिलमा हालै धनगढी पुगेका बेला उनले आफ्नै माइली दिदी र कान्छी बहिनीलाई निर्माण मजदुरको रुपमा काम गर्दै गरेको अवस्थामा भेटिन । दिदी बहिनीलाई कार्यक्रम स्थलमा बोलाएर कुरा गर्न नपाएपछि उनी आफै उनीहरुले गरिरहेको स्थलमा पुगेकी थिइन् । दिदी बहिनीले विगतदेखि हालसम्म जीवनमा पाएका दुःखहरु सम्झेर उनी भावुक भएकी थिइन् ।
उनीहरुसँग छुट्टिने बेला सेल्फी फोटो खिच्दा भिडियो खिचिएको र असावधानीका कारण टिकटकमा अपलोड हुँदा त्यसलाई बिगारेर आफ्नो मजाक उडाइएको भन्दै उनले गुनासो गरिन् । रातोपाटीसँग कुरा गर्ने क्रममा पनि पटक–पटक रोएकी सांसद चौधरीले आफ्ना दिदीबहिनीका दुःखका कुराहरु सुनाइन् ।
यस्तो छ सांसद चौधरीको भनाई जस्ताको तस्तै :
उनीहरु मेरा आफ्नै दिदी बहिनी हुन् । मेरी जेठी दिदीपनि गाउँमै हुनुहुन्छ ।
। भिडियोमा देखिएकी एकजना मेरी माइली दिदी फूलकुमारी चौधरी हुन अर्की कान्छी बहिनी हिरादेवी चौधरी हुन् । म साइँली हुँ ।
उनीहरुका आफ्ना धेरै पीडाहरु छन् । म पार्टीको महिला संगठनको कार्यक्रमका लागि धनगढी पुगेपछि बहिनीलाई फोन गरेँ । बहिनीले हामी काम गरिरहेका छौँ दिदी भनिन् । उनीहरुलाई काम छोडेर आउ भन्दा उनीहरुको कामको ज्याला कट्टी हुन्छ । त्यसैले काम गरेकै ठाउँमा उनीहरुलाई भेट्न गएँ ।
धनगढीमा सहकारीको भवन बनाउने ठाउँमा उनीहरु खाल्टो खनिरहेका थिए । मैले छुट्टिने बेलामा सेल्फी लिन लागेको थिएँ । भिडियो बनेछ । त्यो बेला मेरा दिदी बहिनीले दुःख सम्झिँदा आफूलाई थाम्न सकिन । मेरी माइली दिदीलाई उनका श्रीमानले छोडेर अलपत्र पारेर गए । उनको आफ्नै पीडा छ । अर्को कान्छी बहिनीको पनि श्रीमानले सौता हालेको छ । केही सम्पत्ति नभएकी बहिनीलाई अंश मुद्धा पनि हालेको छ । ज्याला मजदुरी गरेर तीनजना छोराछोरी पालिरहेकी छिन् । यस्तो अवस्था देख्दा हरेक आमाको, हरेक दिदी बहिनीको आँखामा आँशु आउँछ ।
मिडियाले त के–के बनाउँदो रहेछ के–के । मिडिया भनेको कति फटाहा हुँदोरहेछ भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ । कान्छी बहिनी यति धेरै पीडामा छिन् कि हामी भेटेको बेला सँगै रोयौँ । श्रीमान र सौताले उसलाई दिनुसम्म दुःख दिएका छन् तर उनले अदालतबाट पनि न्याय नपाएको अवस्था छ । बहिनीको श्रीमानले अर्कैको २ बच्चा भएको महिला बिहे गरेर आफ्नै बच्चा भएको भन्दै बच्चालाई सम्पत्ति दावी गर्दै मेरी बहिनीलाई मुद्धा हाले । पछि कतार गएर पनि मेरी बहिनीलाई गाली गलौज गरेर सुखले बस्न दिएनन् ।
उसकी कान्छी श्रीमतीले मेरी बहिनीसँग अंश माग्दै वर्षौसम्म झगडा गरेर हैरान गरेकी छिन् । बहिनी १४ धुर ऐलानी जग्गामा बसेकी थिइन् । जग्गा मिलाउन मिल्छ कि भनेर उनले मसँग २० हजार कहिले १० हजार माग्थिन् । उनको श्रीमानले कतारबाट खाली तनाव मात्रै दिइरह्यो । पछि मैले बहिनीलाई जिल्ला अदालतमा मुद्दा हाल्न लगाए । मुद्दा हालेपछि उनको श्रीमान विदेशबाट आयो । बहिनीले दुई वर्षसम्म अदालतमा मुद्दा लडिन् । एक त उनीसँग खान लाउनको ठूलो समस्या रहेको थियो । अर्कोतिर साना बच्चाहरुको लालन–पालनको दुःख,अर्कोतिर सौताले तनाव दिइरहने अवस्था ।
पछि उसको श्रीमानले धेरै ऋण लिएर ट्रक चलाउन थालेको थियो, प्रेसरले हानेर उ बिरामी पर्यो । त्यतिबेला म संविधानसभा सदस्य थिएँ । बहिनीलाई पैसा पठाएर बिरामीलाई उपचारका लागि प्लेनमा ल्याउन लगाएँ । वीर अस्पतालमा भर्ना गरेर उपचार गराएँ । राम्रो गराएर अहिले मान्छे हिड्न सक्ने भएको छ । अहिले फेरि मेरी बहिनीलाई मारपिट गर्न थालेको छ ।
कान्छी बहिनी र माइली दिदी नजिकै बस्छन् । मेरी माइली दिदीलाई उसले आजभन्दा ठीक एक वर्षअघि लकडाउनको समयमा चिर्पटले टाउकोमा हानेर बेहोस बनायो । पुलिसले कोरोनाको समय भनेर उजुरी समेत लिएन । मान्छे मर्ने अवस्थामा पारेको बेला मैले पुलिसलाई फोन गर्दा समेत पुलिसले निवेदन दर्ता गरेन ।
ती दिदी बहिनी सुख–दुःख गरेर बसेका छन् । मलाई देखेपछि उनीहरु पनि रुन्छन् । तिनीहरुले पाएको पीडाहरु सम्झेर म पनि रुन्छु । उनीहरुलाई सम्झँदा अहिले पनि मेरो आँखाबाट आँशु खसिरहेको छ । धनगढीमा पार्टीको महिला संगठनको कार्यक्रम थियो । ११ बजे कार्यक्रम थियो म १० बजे उनीहरुलाई भेट्न गएको थिए । सुख–दुःखको कुरा गर्न थालियो । उनीहरुले अब त मरेर गएपनि के भयो र झन् सुख पाइन्छ भने ।
उनीहरुलाई यति धेरै पीडा छ कि अदालतमा मुद्दा चलिरहेको छ । जहिले पनि पैसा छैन् के गर्ने भन्छन् । मैले कहाँबाट पैसा ल्याएर उनीहरुलाई दिउँ ? उनीहरुले दिनभरी मजदुरी गर्दा ५ सय रुपैयाँ पाउँछन् । त्यो पैसाले ३ जना बच्चालाई कसरी पाल्ने, के खुवाउने, कसरी पढाउने, आफू खाने कि बच्चालाई खुवाउने ? पीडा छैन र ?
मेरो बाबाले पढ्–पढ् भन्नुहुन्थ्यो, मेरो दिदी बहिनीले पढेनन् । मैले चाहिँ पढें अहिले यो ठाउँमा पुगेँ, आज मेरा दिदी बहिनीको यस्तो पीडा छ, तैपनि मैले सहयोग गर्न सकिरहेको छैन । म ठूलो पीडादायी अवस्थाबाट गुज्रिरहेको छु ।
अहिलेको परमादेशी सरकारका कार्यकर्ताले पीडामा रुन पनि नदिने रहेछन् । उनीहरुसँग छुट्टिने बेला सेल्फी खिचेको थिएँ । मलाई राम्रोसँग टिकटक चलाउन आउँदैन । त्यो टिकटकमा गएछ तर मैले हटाउन जानिन । अहिले त्यसलाई बिगारेर मलाई गाली गर्दा रहेछन् ।
बहिनीको छोराहरुलाई मैले पढाएर सहयोग गरिरहेको छु । उनीहरु मजदुरी गरेर दुःखले गुजारा गरिरहेका छन् । अहिले तपाईंसँग कुरा गर्दा उनीहरुको दुःख सम्झेर मेरो आँखा रसाइरहेको छ । म बाहिर हेर्दा जति कठोर देखिएपनि कसैको पनि पीडा देख्न सक्दिन ।
म चुनाव लड्छु लड्दिन मलाई थाहा छैन, मलाई कुनै नाटक गर्नुपनि छैन् । म मेरो दिदी बहिनीको दुःख देखेर रोएको हुँ । मैले मेरा दिदी बहिनीको दुःखमा रुन पनि नपाउनु ? आफ्नो मान्छेको पीडामा रुन पनि नपाउने, आफ्नो मान्छेको खुसीमा हाँस्न पनि नपाउने यो कस्तो हाम्रो संस्कार ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती