सचिवमाथि तीन दर्जन फाइल गायब पारेको आरोप
मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट करिब तीन दर्जन विकास निर्माण कार्य योजनाको फाइल गायब पारेको एक सचिवमाथि आरोप लागेको छ । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान, मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सम्झौता भएर काम सम्पन्न भइसकेको योजनाका फाइल गायब पारेको आरोप उनीमाथि लागेको हो ।
मुख्यमन्त्री कार्यालयका ती पूर्व सचिवलाई निर्माण व्यवसायीहरूले मधेस भवनस्थित मुख्यसचिवको निवासमा ठेकेदारहरूले घेरेका छन् । दुई महिना अघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सरुवा भएर सचिव यमप्रसाद भुसाल गइसकेका थिए । तर काम विशेषले दुई महिनापछि जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालयमा आएको जानकारी आएपछि ठेकेदारहरूले घेराउ गर्न पुगेका थिए । उनलाई करिब ८ घण्टासम्म मुख्यसचिवको निवासमा घेरेका थिए ।
सचिव भुसाल आएको सुइँको पाएपछि बिहीबार बिहानै ९ बजेदेखि अपरान्ह ५ बजेसम्म मधेस भवन भित्रको पहिला उनी बस्ने क्वाटरमा व्यवसायीहरूले घेरेका थिए । उनीहरूले गायब गरिएको फाइल ल्याउनु पर्ने, भुक्तानी गराउनु पर्ने माग राखेका थिए । ठेकेदारले घेरा हालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनलाई सुरक्षा दिएर सकुशल मधेस भवनबाट बाहिर निकालेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
निवर्तमान सचिव भुसाल मुख्यमन्त्री कार्यालयमा छँदा त्यहाँ उनी बेटी पढाऊ बेटी बचाउ, र स्वच्छता अभियान कार्यक्रमका मुख्य हाकिम थिए । उनी कार्यालयमा हुँदा कमिसन वापत २० प्रतिशत रकम माग्ने गरेको र रकम नदिएपछि भुक्तानी नगरेको र सरुवा भएपछि योजनाका फाइलहरू नै लिएर भागेको एसके मल्टी सप्लायर्सका सञ्चालक दशरथ साहले बताए ।
उनले निवर्तमान सचिवमाथि आरोप लगाउँदै भने, ‘सचिव भुसाल सरुवा भएर जाँदा कार्यालयमा हामीले भुक्तानीको लागि बुझाएको फाइल नै नरहेको कर्मचारीहरूले बताउने गरेका छन् । हामी दुई महिनादेखि भौँतारिरहेका छौँ’ व्यवसायी साहले भने, ‘२० प्रतिशत पहिला नै कमिसन दिनुपर्ने अडान राखेका थिए । हामीले पहिला भुक्तानी गर्न भन्यौँ । आलटाल गर्दागर्दै पछि सरुवा भएपछि फाइल नै लिएर भागे ।’
यता एसके मल्टी सप्लायर्सले प्रदेश प्रमुख कार्यालयमा फर्निचर, मर्मत, शौचालय निर्माणसहितको २५ लाखको काम गरेको बताएको छ । साहले आफ्नै एसके कन्ट्रक्सनबाट प्रदेश प्रमुख कार्यालयको पर्खाल निर्माण र रंगरोगनको ५ लाखको काम गरेको उनले बताए । अर्को कम्पनी गौरी एण्ड उज्ज्वल कन्स्ट्रक्सन विभिन्न नारा लेखिएको मुख्यमन्त्रीको तस्बिर सहितको होर्डिङ बोर्डको ३३ लाख रुपैयाँ भुक्तानी रहेको सञ्चालक अरुण यादवले बताए । ठेक्कापट्टा गर्ने कम्पनीको ३२ वटा फाइल गायब गरेको र सो फाइलहरू नभेटिँदा व्यवसायीहरू पीडित भएको उनले बताए ।
यता सचिव भुसालले आफूले कमिसन नदिँदा भुक्तानी नगरेको भनी ठेकेदारहरूले लगाएको आरोप निराधार रहेको बताए । उनले आफूले कुनै पनि फाइल घरमा नलगेको बताए । उनले भने, ‘फाइलहरू घरमा लान मिल्दैन, केही सामग्रीहरू सरुवा भएर जाने बेलामा कार्यालय प्रमुख र जिन्सी शाखा प्रमुख नहुँदा दराजमै फाइलहरू बन्द रहेको र सोको साँचो आफूसँग रहेकाले बुझबुझारथ गर्न बाँकी छ ।’
यता मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव कृष्ण बहादुर राउतले फाइल गायब रहेको सम्बन्धमा अनभिज्ञता प्रकट गरे । उनले यस सम्बन्धमा आफूलाई केही थाहा नभएको बताए ।
निवर्तमान सचिव भुसाल मुख्यमन्त्री कार्यालयमा छँदा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ कार्यक्रम अन्तर्गत साइकल खरिद सम्बन्धी फाइल र मुख्यमन्त्री स्वच्छता सम्बन्धी केहि फाइल लगेको थियो । स्वच्छता अभियानको विषयमा पनि अख्तियारले पटक पटक फाइल पठाउन मुख्यमन्त्री कार्यालयलाई ताकेता गर्दै आएको छ । सचिव भुसाल अहिले संघीय सरकारको सामान्य प्रशासन मन्त्रालयमा जगेडामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन