बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

​बन्धकीमा राखिएको सपना

शनिबार, १२ चैत २०७८, ०९ : २०
शनिबार, १२ चैत २०७८

“सुख अनि दुःखमा जीवन बिताउन हामीले पति र पत्नीको नाता जोडेका थियौं । किन हजुरले हामी बीचको पवित्र नाता तोड्ने कुरा गर्नु हुन्छ ? अहँ ! म त कसै गरी हजुरसँग छुट्टिएर बस्न सक्दिन ।” सुनिता आफ्नो पतिसँग अनुय विनय गर्दै थिइन् । तर अपसोच गहुँगोरी अनि हिस्स परेकी सुनिताको कुराले कुनै असर गरिरहेको थिएन शिव कुमारलाई । 

“कुनै हालतमा म तिमीसँगै बस्न सक्दिन । मलाई खुरुक्क सम्वन्ध बिच्छेद देऊ” गमक्क परेर बसिरहेका शिव कुमारले अड्डी लिदै भने । 

“छोरा तँ किन बुहारीसँग छुट्टिएर बस्ने कुरा गर्दैछस् ? डेढ बर्ष भइसक्यो तँ घर नआएको । के तँलाई जन्म दिने हामी आमाबाबुको माया लाग्दैन ? यस्ती भर्भराउँदी स्वास्नी अनि आफूले जन्म दिएको छोराको माया लाग्दैन ?’ आमा सोमतीले आँखाबाट बर्ररर आँसु झार्दै भनिन् । गाला चाउरी परिसकेका उनका आँसु गालाका खाल्टोमा अडिरहेका थिएनन् । 

तर आमाको ममता अनि आँसुको बेवास्ता गर्दै शिव कुमारले नुनचुक छर्यो, “अँह ! मलाई घरको याद आउँदैन, न त सुनिताको माया लाग्छ ।” 

“के नभएको कुरा गर्छस् छोरा तैंले ? खुरुक्क घर हिँड । यसरी घर छाडेर बाहिर डेरा गरेर कति दिन बस्छस् ?” कपालको आधा रौं फुलिसकेका बाबा भुखलुले छोरालाई सम्झाउँदै भने । 

“जुन घरमा मेरो सम्मान अनि ईज्जत छैन, त्यो घरमा म किन जाऊँ ? तपाईंहरू नै बस्नुस् त्यो घरमा ।” शिव कुमारलाई लट्ठी टेक्ने अवस्थाको बाबाको मनले पनि छोएन । 

“पति पत्नीमा कहिलेकाही मनमुटाव हुन्छ । यति हतारमा सम्वन्ध बिच्छेद गर्नु राम्रो होइन । के कुरामा मन नमिलेको हो ? बरु हजुरहरू चारैजना छुट्टै बसेर कुराकानी गर्नुस्,” वकिलले शिव कुमारलाई सम्झाउँदै भने । 

“हैन सर, मलाई उहाँहरूसँग छुट्टै बसेर कुरा गर्नु छैन । मलाई केवल सुनितासँग सम्वन्ध बिच्छेद गर्नुछ, बस् ।” हतारिदै शिव कुमारले जवाफ दियो ।

०००

शिव कुमारले आफ्नी पत्नी सुनितासँग सम्वन्ध बिच्छेदको लागि अदालतमा मुद्दा दिएपछि उनीहरूबीच वकिलको कार्यालयमा छलफल भइरहेको थियो । आफूलाई जन्म दिने आमाबाबु एकापसमा छुट्टिएर बस्ने कुरा भईरहँदा ३ बर्षको नाबालक प्रिन्स कहिले आफ्नो आमाको काख त कहिले हजुरआमाको काखमा लुटपुटिदै थियो । बिचरा उसलाई के थाहा, आमाबाबुको सम्वन्ध बिच्छेद पछि उ कोसँग बस्ने निर्णय हुन्छ भनेर । अवोध बालक हाँसखेल गर्दै थियो आफ्नै वालसुलभपनमा । 

धेरै समय गरिएको कुराकानीले पनि शिव कुमारलाई न त पत्नीको कारुणिक अनुरोधले गलाउन सक्यो, न त बाआमाको ममता अनि आँसुले पगाल्न सक्यो । न त छोराको वालापनले नै आकर्षित गराउन सक्यो । बस् एउटै कुरा बारम्वार दोह्र्याई रहेको थियो शिव कुमारले, “मलाई सुनितासँग सम्वन्ध बिच्छेद गर्नु छ, बस् ।” उसको बोली र ब्यवहारले लाग्दथ्यो, मानौं उसको मन ढुङ्गा भइसकेको छ । भन्छन्, “माया अनि प्रेमले ढुङ्गामा पनि फुल फुलाउन सकिन्छ” तर अपसोच अर्थहीन भएको थियो यो भनाई । किनकी शिव कुमारले एक ईन्च पर सारेन आफ्नो अड्डीलाई । साँझ भइसकेकोले अर्को दिन फेरि बसेर कुराकानी गर्ने सहमततिसहित सवै जना वकिलको कार्यालयवाट बाहिरिए ।

०००

भर्खरै जुँगाको रेखी बस्दै थियो शिव कुमारको । आफ्नो जग्गाको उत्पादनले बर्ष दिन खान पुग्दैनथ्यो । त्यसैले अघिपछि ज्याला मजदुरी गरी घर परिवारको जेनतेन गुजारा चलाइरहेको थियो उ ।  मेहनती शिव कुमारको कम बोल्ने बानी थियो । यसै क्रममा उसको हिमचिम सुनितासँग भयो । १२ कक्षामा अध्ययन गरिरहेकी सुनिता पढाइ खर्च जुटाउन ज्याला मजदुरी गर्थिन् । सँगसँगै काम गर्ने क्रममा फरासिली स्वाभावकी सुनिता र कम बोल्ने शिव कुमारको प्रेमको बिरुवा बिस्तारै झ्याङ्गिदै गयो । 

भन्छन्, “पर्दा पछाडि जति नै चनाखो भएर प्रेमको खेल खेलेपनि एक न एक दिन बाहिर आउँछ । त्यस्तै भयो शिव कुमार र सुनिताको प्रेम सम्वन्ध पनि । दुवै जनाको घर परिवारले थाहा पाए उनीहरूको प्रेम सम्वन्धबारे । अनि धेरै अगाडि बढाउन दिएनन् ती परिवारले उनीहरूको प्रेम सम्वन्धलाई । ८ वर्ष अघि माघको तेश्रो साता शिव कुमार र सुनितालाई विवाहको लगनगाँठोमा बाँधिदिए, पति–पत्नीको सम्वन्ध कहिल्यै नछुटोस् भनी । दुवै जनाले अग्नि साक्षी राखी एक अर्काको सुख दुःखमा हमेसा साथ दिने भनी कसम खाए । 

सुनिता शिव कुमारको घरमा दुलही भएर भित्रिइन् । जन्म घर छोडेर आएकी उनी सासु, ससुरा, तीन वटी नन्द र आफ्नो पतिको साथमा रमाउन थालिन् कर्म घरमा । तिनै जना नन्द स्कुल पढ्दै थिए । घरको आर्थिक अवस्था कमजोर थियो । विहेपछि पनि शिव कुमारले घर बनाउने मिस्त्री र सुनिता ज्यामी भएर काम गर्न छाडेनन् । दुवै जना काममा सँगै जान्थे अनि सँगै घर फर्किन्थे । विवाह भएको ४ वर्षमा सुनिताले छोरो जन्माईन्, नाम राखियो प्रिन्स । 

छोरा जन्मेपछि सुनिता घरै बस्न थालिन् । शिव कुमार भने घर बनाउने मिस्त्रीको काम गरिरहे निरन्तर । काममा निखार आउँदै गएपछि शिव कुमार अव गाउँघरभन्दा टाढा शहर बजारमा घर बनाउने काम पाउन थाले । अनि बजारमा नै डेरा लिएर बस्न थाले । सुनिताले आफ्नो पुरानो पेशा परिवर्तन गरेर नयाँ पेशा शुरु गरिन् सिलाई कटाईको । 

छोरा प्रिन्स पनि बिस्तारै हुर्कदै थियो तर दुर्भाग्य सुनिता र शिव कुमारको मनमा एक अर्काको ब्यवहारप्रति शंका मौलाउन थालेको थियो । शिव कुमारले बजारमा डेरा लिएर बस्न थालेपछि कुनै केटीसँग प्रेम सम्वन्ध बनाएको छ कि भनेर शंका गर्न थालिन् सुनिताले आफ्नो पतिमाथि । 

सिलाई कटाईको कामबाट आउने क्रममा एकदिन सुनिताको साइकल बिग्रियो । मिस्त्रीकहाँ लगिन् तर उसले तत्काल साइकल मर्मत हुन नसक्ने बतायो । अँध्यारो हुन थालेकोले एक जना केटा साथीको मोटरसाइकलमा लिफ्ट मागेर घर आइन् । संयोगवश त्यो दिन शिव कुमार घर आएका थिए । “कसको मोटरसाइकलमा बसेर आइस्, को हो त्यो केटा ? के नाता पर्छ तेरो त्यस केटासँग ?” प्रश्नको मुठो नै तेर्स्याए शिवकुमारले पत्नीमाथि । 

सुनिताले जति सफाइ दिए पनि उनले कुनै कुरा सुन्न चाहेनन् । सायद छाती चिरेर देखाउन मिल्ने भए, आफूबाट कुनै गल्ती नभएको प्रमाण देखाउँथिन् सुनिताले । तर एकतर्फी सोचाइ बोकेका शिव कुमारका अगाडि उनी निरीह भइन् । अविश्वासले घर गरेपछि अब शिव कुमार घर आउने क्रम झन् झन् पातलियो । 

एक दिन घर आएको वेला जाँड खाएर झगडा गरेकाले गाउँका केटाहरूवाट कुटिए शिव कुमार । आफू कुटिएकोमा उनले आफ्नी पत्नी अनि बुबा आमालाई दोषीको करार दिए । अनि त आउनै छाडे घरमा । शिव कुमारलाई बजारको डेराबाट घर फर्काउन धेरै प्रयास गरे उनको परिवारले । तर फर्किनै मानेनन् शिव कुमार आफू जन्मेको घर । बरु उल्टै सुनितासँग सम्वन्ध बिच्छेदको लागि मुद्दा हाले अदालतमा । 

००० 

तेस्रो दिन बिहान शिव कुमारले वकिललाई फोन गरे, ‘सर, सुनिता पनि सम्वन्ध बिच्छेद गर्न राजी भइन् । जसरी भएपनि हाम्रो सम्वन्ध बिच्छेद गरि दिनु पर्यो ।’ 

फोनमा शिव कुमारको कुरा सुनेर वकिल अक्क न बक्क भए । कसरी सुनिता सम्वन्ध बिच्छेद गर्न राजी भइन् ? सुनिताले अस्ति कुनै हालतमा पनि सम्वन्ध बिच्छेद गर्दिन भनेर ब्यक्त गरेको कुरा कसरी एक्कासी फेरियो ? विश्वास गर्न गाह्रो भयो वकिललाई । तर पनि पेशागत धर्म सम्झी वकिलले भने, ‘त्यसो हो भने दुवैजना मेरो अफिसमा आउनुस्, त्यही बसेर कुरा गरौं ।’  

अफिसमा आईसकेपछि वकिलले सुनितालाई सोधे, “तपाईंले आज एक्कासी किन परिवर्तन गर्नु भयो आफ्नो निर्णय ? के साँच्ची तपाईंको पनि सहमति छ, सम्वन्ध बिच्छेद गर्न ?”

“हजुर सर सहमति नै छ । के गर्नु, मैले मात्र चाहेर भएन । उहाँको मन नै छैन मसँग बस्ने । अनि के गर्नु,” मलिन स्वरमा सुनिताले अगाडि भनिन्, ‘भाग्यमा नै छैन सायद मेरो उहाँसँग बस्न लेखेको ।’ यसरी सुनिताले पतिलाई हैन, भाग्यलाई झुठो दोष दिइन् ।   

‘वकिल साब, जसरी भएपनि हाम्रो सम्वन्ध बिच्छेद गरिदिनु पर्यो ।’ हतारिदै शिव कुमारले भने । 

‘त्यसो हो भने अंश लिएर सम्वन्ध बिच्छेद गर्ने कि अंश नलिएर ? कानूनमा पत्नीले पनि अंश पाउने ब्यवस्था छ । अंश लिएर सम्वन्ध बिच्छेद गर्नुस है ?’ वकिलले सुनितालाई सुझाव दिए ।   

‘हैन सर मलाई अंश चाहिदैन, जग्गा पनि थोरै छ । फेरि मैले पनि अंश लिए सासु ससुराको बिजोग हुन्छ । अर्को कुरा जब सम्वन्ध नै तोडिन लागेको छ भने किन सम्पत्ति लिनु । बरु म बसिरहेको घरमा सासु ससुरा सँगै बस्न पाउनु पर्छ । जुन घरमा उहाँले मलाई दुलहीको रुपमा भित्र्याउनु भयो, त्यस घरवाट निक्लिएर जाने ईच्छा छैन मलाई । अनि मेरो छोराको पालन पोषण शिक्षा दीक्षाको लागि खर्च प्रिन्सको बुबाले मासिक रुपमा दिनु पर्छ । बस्, यति भए पुग्छ मलाई ।’ सुनिताले मलिन स्वरमा भनिन् । सुनिताको कुरावाट प्रस्ट हुन्थ्यो कि आफ्नो भविष्य भन्दा छोराको भविष्यप्रति चिन्ता छ अनि सम्वन्ध बिच्छेद पछि घरवाट निक्लिनु पर्छ कि भन्ने डर छ उनलाई ।

‘तिमी जहिलेसम्म त्यस घरमा बस्न चाहन्छेऊ बस, मलाई केही आपत्ति छैन ।’ शिव कुमारले नम्र हुँदै भने । सायद उनलाई मात्र सम्वन्ध बिच्छेद गर्ने सरोकार छ । 

छलफल भएको कुराको आधारमा कागजपत्र तयार गर्दै थिए वकिल । ३ बर्षको प्रिन्स रमाउँदै खेल्दै थियो । उसले भन्यो, “मम्मी मलाई गाडी किनि दिनुस् न । भोक लाग्यो के ।” 

सुनिताले छोराको कपाल मुसार्दै भनिन्, “आज बाबालाई घरमा लिएर आउने हो भनेपछि बिहानैदेखि खुसी छ मेरो छोरा ।” 

वकिलले शिव कुमारलाई भने, “कमसेकम आजको दिनमा खेलौना ल्याएर छोरालाई दिनुस न है ? के थाहा, पछि छोरालाई खुसी पार्ने मौका पाइन्छ कि पाइँदैन ?” 

शिव कुमारले नजिकै रहेको खेलौना पसलमा गएर प्लाष्टिकको एउटा गाडी किनेर ल्याई छोराको हातमा थमाई दिए । मन परेको खेलौना पाएपछि प्रिन्स धुई....धुईई. धुई.....गाडीको जस्तो आवाज निकाल्दै खुसी हुदै  खेलौना गाडी भुइँमा गुडाउन थाल्यो । बिचरा प्रिन्सलाई के थाहा ? उसको लागि बाबाको यो अन्तिम उपहार पनि हुन सक्छ भनेर । किनकि बुबा आमा एक अर्कासँग सँधैंको लागि छुट्टिदै थिए । यस कुरावाट वेखवर प्रिन्स खेलौनासँगै रमाउँदै खेल्दै थियो ।   

उनीहरूको सहमति बमोजिम नै तयार गरेको सम्वन्ध बिच्छेदको ब्यहोरा सुनाए वकिलले, “सुनिताले अंशमा दावी नगर्ने तर बसिरहेको घरमा एक कोठामा बसिरहन पाउने, छोरा प्रिन्सको अंश भागको सम्पत्ति बाबुको जिम्मामा रहने । नावालक हुँदासम्म छोरा आमाको साथमा रहने बस्ने । र, उमेर पुगेपछि छोराको ईच्छाअनुसार बाबु वा आमासँग बस्ने अनि छोरा प्रिन्स नावालक हुँदासम्म बाबुले छोराको पालन पोषण शिक्षा दीक्षाको लागि मासिक ४ हजार रुपैंयाको दरले दिनुपर्ने ।”  

कागज तयार भएपछि अदालतमा न्यायाधीश समक्ष सम्वन्ध विच्छेदको कागजात पेश गरियो । सम्वन्ध विच्छेदको कागजमा दुवै जनाले दस्तखत गरेपछि औपचारिक रुपमा उनीहरू बीचको पति पत्नीको नाता सम्वन्ध तोडियो सदाको लागि । अनि तोडियो अग्नी साक्षी राखी सुख दुःखमा साथ निभाउने भनेर खाएको वाचा कसम पनि । 

अदालतवाट बाहिरिएपछि वकिलले दुवै जनाको हातमा सम्वन्ध बिच्छेदको कागज थमाई दिदै भने, “आशा गर्छु हजुरहरूको अबको बाँकी जिन्दगी उज्ज्वल अनि सुखद हुनेछ ।” सम्वन्ध बिच्छेदको कागज पाएपछि शिव कुमारको अनुहार खुसीले चम्किरहेको थियो । मानौँ उनले खोजेको खजाना आज प्राप्त भएको छ । तर सुनिता उदास अनि मलिन मुहारमा छोरा प्रिन्सलाई काखी च्यापिरहेकी थिइन् । उनको उदास अनुहारले बताइरहेको थियो कि आज उनले धेरै थोक गुमाएकी छन् । 

सुनिताको उदास अनि मलिन मुहार देखेर सम्झाउने शैलीमा वकिलले भन्दै थिए, “जे हुनु थियो भयो । ठान्नुस् कि शिव कुमारसँगको तपाईंको वैवाहिक सम्वन्ध केवल एउटा सपना मात्र थियो, जुन तपाईं ब्यूँझिएपछि हराएर गयो । हिम्मत गरेर अगाडि बढ्नुस्, जीवनमा दुःखी नहुनुस्, खुसी हुने कोशिस गर्नुस है ?” 

आँखा रसिलो पार्दै सुनिताले भनिन्, ‘सर म आज दुःखी पनि छु, खुसी पनि छु । दुःख यस अर्थमा लागेको छ कि मैले “सँगै जिउने सँगै मर्ने अनि सुख, दुःखमा पनि साथ दिनेछु भनेर बचन दिएको जीवनसाथी आजदेखि भावनात्मक रुपमा मदेखि धेरै टाढा हुँदैछ । आमा बुबाजस्तो सासु ससुरा, बैनी जस्तो नन्दहरूसँगको नाता चँुडिएको छ । छोरा प्रिन्सलाई राजकुमार जस्तै बनाउने सपना भताभुङ्ग भएको छ ।’

केही बेरको मौनतापछि सुनिताले भनिन्, ‘खुसी यस अर्थमा छु कि मैले आफ्ना सबै ईच्छा र आकांक्षा अनि जिन्दगीलाई सुखमय बनाउने सपना बन्धकी राखेर भएपनि अग्नि साक्षी राखेर सुख अनि दुःखमा पनि पतिलाई साथ दिनेछु भनेर खाएको बाचा कसम निभाएकी छु । मैले उहाँलाई खुसी दिएँ कि दिइनँ थाहा छैन । तर आज मैले सम्वन्ध बिच्छेदको कागजमा सहीछाप गरिदिएर अवश्य खुसी दिएकी छु । प्रिन्सको वुवाको सम्वन्ध बिच्छेद गर्ने रहर पुरा गरिदिएको छु । देख्नु भएन, सम्वन्ध बिच्छेदको कागजात पाएपछि उहाँको अनुहार कस्तो धपक्क बलेको थियो । आफ्नो सारा सपना बन्धकी राखेर मुटुमा ढुंगा राखी लोग्ने भनाउँदोको खुशीमा साथ दिएकी छु ।”

०००

कथाकार अधिवक्ता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप